काठमाडौं । ब्रोकर नम्बर ४४ का रुपमा सेयर कारोबार सेवा दिँदै आएको डाइनामिक ब्रोकरले नयाँ प्रविधियुक्त ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा आफ्नो सेवा स्तरोन्नति गरेको छ । अत्याधुनिक प्रणालीको विकास तथा सञ्चालन गरिरहेको डीजीहबको (एयर ट्रेड) मार्फत डाइनामिक ब्रोकरले आईतबारदेखि आफ्ना ग्राहकहरुलाई सेवा दिन थालेको हो ।
डाइनामिक ब्रोकरले यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत वाईको प्रणालीमार्फत टीएमएस सेवा दिँदै आएको थियो । अब वाईकोसँगको सहकार्य अन्त्य गरी डीजीहबको अत्याधुनिक प्रणालीलाई अपनाउँदै लगानीकर्तालाई नयाँ सुविधा प्रदान गर्न थालिएको कम्पनीले जानकारी दिएको छ ।
करीब ४ लाख लगानीकर्ताले टीएमएस खाता खोली सेयर कारोबार गरिरहेको डाइनामिक ब्रोकरले अब वेब, डेस्कटप र मोबाइल एपजस्ता विभिन्न माध्यमबाट कारोबार गर्न सकिने व्यवस्था मिलाएको छ । यस नयाँ टीएमएसमा लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डेटा, अर्डर बास्केट, अलर्ट सेटिङ, रियल टाइम खरिद(बिक्रीको सूचना, तथा मल्टी एक्सचेन्ज जस्ता विशेष फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
साथै, अब लगानीकर्ताले सेयर बिक्री गरेपछि ब्रोकरलाई जानकारी नदिई सोही रकमबाट अन्य सेयर खरिद गर्न सक्नेछन् । लेजर ब्यालेन्सअनुसार रियल टाइममा कोल्याटरल प्राप्त हुने, एउटै लगिनबाट एकभन्दा बढी प्रयोगकर्ताको कारोबार गर्न सकिने, सजिलो र छिटो अर्डर राख्न सकिने तथा जति चाहिएको भए पनि सेयरको मार्केट डेप्थ हेर्न सकिने सुविधा पनि प्रणालीमा समावेश गरिएको छ ।
टीएमएसको सुरक्षामा विशेष ध्यान दिइएको बताइएको छ । पारदर्शिता, तथ्यांक गोपनीयता र सिस्टम सुरक्षा कम्पनीको प्राथमिकतामा रहेको डीजीहबले जनाएको छ । नयाँ प्रणाली अन्तर्गत सेयर खरिद बिक्री पछिको हिसाबकिताब तथा रिपोर्ट हेर्नका लागि क्लाइन्ट लगिनको सुविधा समेत उपलब्ध गरिएको छ ।