Logo

कानूनविपरित प्रिमियम उठाएको हिमालयन रिको हकप्रद पनि कानूनविपरित सूचना प्रकाशित, मुकदर्शक बीमा प्राधिकरण

कानूनविपरित प्रिमियम उठाएको हिमालयन रिको हकप्रद पनि कानूनविपरित सूचना प्रकाशित, मुकदर्शक बीमा प्राधिकरण



काठमाडौं । सर्वसाधारणलाई सेयर जारी गर्दा गैरकानूनी रुपमा प्रिमियम संकलन गरेर विवादमा आएको हिमालयन रि इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनमा पनि कानून विपरित नै अघि बढेको छ । नियमतः बीमा प्राधिकरणको अनुमतिपछि मात्रै हकप्रद सेयर जारीको सुचना प्रकाशित गर्नुपर्ने भएपनि हिमालयन रिले नियामकको वेवास्ता गर्दै आफुखुशी हकप्रद सेयर जारीको सूचना प्रकाशित गरेको हो ।

laxmi

बीमा प्राधिकरणले गत हप्ता रि इन्स्योरेन्सहरुको चुक्ता पुँजी वृद्धिको निर्णय गर्दै पुनर्बीमा कम्पनीलाई सोही अनुरुप योजना पेश गर्न १५ दिनको समयसीमा दिएको थियो । तर, हिमालयन रिले भने प्राधिकरणको उक्त निर्देशन लत्याउँदै सेयर बजारलाई प्रभावित पार्नेगरी हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

‘नियमतः बोर्डले १५ दिनभित्र पुँजी वृद्धिको कार्ययोजना पेश गर्न निर्देशन दिएसँगै हिमालयन रिले उक्त कार्ययोजना आफ्नो संचालन समितिबाट पास गराएर प्राधिकरणसमक्ष पेश गर्नुपर्ने हुन्छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘तर हिमालयन रिले सो सम्बन्धमा प्राधिकरणलाई कुनै जानकारी नगराई आफुखुशी संचालक समितिबाट पारित गराएर जसरी हकप्रदको सुचना बाहिर निकाल्यो त्यसले नियामकको वेवास्ता गर्नुका साथै सेयर बजारमा प्राईस सेन्सेटिभ इन्भफरमेशनमा समेत गैरकानूनी तरिकाले खेल्ने काम गर्यो ।’

हिमालयन रिले प्राधिकरणबाट अनुमति नलिई हकप्रद सेयर निष्काशनको घोषणा गर्न नमिल्ने नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘हामीले दुईवटै रि इन्स्योरेन्सलाई १५ दिनभित्र पुँजी वृद्धिको कार्ययोजना पेश गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘हिमालयले रिले प्राधिकरणलाई नै जानकारी नगराई जसरी हकप्रदको सुचना जारी गर्यो त्यो कानून विपरित छ ।’

यसैगरी नेपाल धितोपत्र बोर्डले पनि नियामक निकायमा जानकारी नगराई हिमायन रिले हकप्रद सेयरको सुचना जारी गर्न नमिल्ने बताएको छ । ‘हिमालयन रिले संचालक समितिबाट हकप्रद जारी सम्बन्धी निर्णय गराएर नियामक निकायलाई जानकारी दिएपछि मात्रै सुचना जारी गर्नुपर्छ,’ बोर्ड स्रोतले भन्यो, ‘तर अहिलेसम्म हिमालयन रिले हकप्रद सेयर निष्काशन सम्बन्धमा कुनै जानकारी गराएको छैन ।’ जसरी हिमालयले रिले आफुखुशी हकप्रद निष्काशनको सुचना जारी गर्यो त्यो सरासर कानून विपरित भएको बोर्डको भनाई छ । उसले हकप्रद निष्काशनको विषयमा बोर्डले गरेको जानकारी अहिलेसम्म पनि नेपाल स्टक एक्सचेञ्जमा दिएको छैन ।

यसअघि हिमालय रिले कानून विपरित प्रिमियम मूल्यमा सेयर बिक्री गरेरपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ भने संसदको सार्वजनिक लेखा समितिले समेत उक्त प्रिमियम सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ । बीमा ऐन र कम्पनी ऐन अनुरुप हिमालयन रिले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्न नमिल्ने भएपनि उक्त कानून उल्ङ्घन गर्दै सर्वसाधारणलाई प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी सेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL