Logo

दशैंको अग्रिम टिकटमा समेत कृत्रिम अभाव, काउन्टरबाट रित्तो हात फर्किँदै यात्रु

दशैंको अग्रिम टिकटमा समेत कृत्रिम अभाव, काउन्टरबाट रित्तो हात फर्किँदै यात्रु



काठमाडौं । दशैं तिहारलगायतका ठुला चाडबाडकै बेलामा व्यवसायीहरुले बर्षभरीको फाईदा उठाउने गर्दछन् । लत्ताकपडाका व्यापारी हुन् या भाँडाकुँडा विक्रेता । सबैले दशैंकै मौका पारेर बार्गेनिङ मूल्यको पनि उच्चतम मूल्यमा वस्तु विक्री गर्न पाउँछन् ।

यस्तै बेला सार्वजनिक यातायात व्यवसायीहरुले भने मौकाको फाईदा उठाउँदै दशैँको अग्रिम टिकटमै कृत्रिम अभाव सुरु गरेका छन् । गत असोज १ गतेदेखि सुरु भएको अग्रिम टिकट बुकिङको एक हप्ता पुगेको छ । टिकट बुकिङ खुलेको १ हप्ता नवित्दै व्यवसायीहरुले भने टिकट नभएको भन्दै यात्रुलाई काउन्टरबाटै रित्तो हात फर्काउने गरेका छन् । करिव ३ दिनअघि नयाँ बसपार्कमा टिकट लिन गएका कालिकोटका नविन धमालाले सुर्खेतसम्मको टिकट पाएनन् । उनलाई काउन्टरवालाले टिकट सकिएको बताए । तर, काउन्टर बाहिर रहेका एक जनाले भने उनीलगायत ७ जनाको नाम टिपेर १४ गते बसपार्क आउनु त्यहीँ गाडी मिल्छ भन्ने सन्देश दिए ।

यता धरान जान लागेकी रिया राई पनि त्यस्तै समस्यामा छिन् । उनी फूलपातीको अघिल्लो दिनको टिकट लिन बसपार्कमा गईन् । तर, उनले काउन्टरवालाबाट टिकट सकिएको खवर पाईन र रित्तो हात डेरा फर्किन् ।

पछिल्लो ३ दिनदेखि बसपार्कमा टिकट काट्नलाई गएका यात्रुहरु रित्तो हात फर्किने गरेको एक यात्रुले नै बताए ।

तर, सेडुअल अनुसार जाने गाडीहरुको टिकट सकिएपनि अन्य गाडीको व्यवस्था हुने भएकाले टिकटका चिन्ता नहुने यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल बताउँछन् । उनका अनुसार अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष टिकटमा केहि असहजता भने हुनेछ । ‘यसपल्ट तेलको मूल्य र गाडीको संचालन खर्च नै अत्याधिक बढेको छ व्यवसायीहरुले एकतर्फी मात्रै यात्रु पाउने भएपछि अप्ठ्यारो भने भएको छ,’ उनले भने, ‘टिकट पाउनमा केहि असहजता गत बर्षहरुको तुलनामा बढी भएपनि टिकटै नपाएर घर जान नपाउने समस्या भने हुँदैन ।’

हालसम्म बसपार्कबाट मात्रै १६ देखि १७ लाख यात्रुले गन्तव्यमा जानका लागि अग्रिम टिकट बुकिङ लिईसकेको उनको अनुमान छ । त्यसमध्ये विकट र लामो दूरीको मानिने धनगढी, बझाङ, डोटी, कैलाली, दाङ, सुर्खेतलगायतका क्षेत्रमा जाने गाडीको संख्या भने कम छ । जसका कारण काउन्टरबाटै टिकट पाउन सकिने अवस्था पनि कमै छ । तर, उक्त रुटका लागि व्यवसायीहरुले काठमाडौ उपत्यकामा चल्ने गाडीहरुको पनि व्यवस्था गर्ने तयारी गरिरहेको उनको भनाई छ । यसका लागि सरकारले नै यात्रा सहजीकरणमा काठमाडौंमा चल्ने स्थानीय गाडीलाई आवश्यक रुट पर्मिट, यात्रु सहजीकरणलगायतका समस्या समाधान गरिदिनुपर्ने व्यवसायीहरुको माग छ ।

यसपल्ट व्यवसायीहरुले अघिल्ला बर्षमा जस्तो नयाँ गाडी पनि थपेनन् । त्यसमाथि ८ बर्षसम्म मात्रै रात्रिकालिन चलाउन पाईने ३५ सयदेखि ४ हजार गाडीहरु दिवासेवामा ट्रान्सफर भएका छन् । जसका कारण यो बर्षको दशैँमा आवश्यक पर्नेजति गाडी भने छैनन् । जसका कारण पनि यो बर्षको दशैँमा आघिल्ला बर्षको जस्तो सजिलै टिकट पाउने अवस्था छैन ।

हाल काठमाडौंबाट विभिन्न स्थानमा जानका लागि गोंगबु, सुन्धारा, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट अग्रिम टिकट बुकिङको कार्य भईरहेको छ । यात्रुहरुले लामो लाईन लागेर अग्रिम टिकट बुकिङ खुलेको पहिलो दिनदेखि नै टिकट लिन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL