Logo

चैत्र १८ देखि तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ हुँदै, विद्युतको बजार विस्तारमा जोड

चैत्र १८ देखि तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ हुँदै, विद्युतको बजार विस्तारमा जोड



काठमाडौं । आगामी चैत्र १८ देखि २० गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको आयोजनामा तेस्रो संस्करणको उक्त एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
बुधवार आयोजीत एक पत्रकार सम्मेलनमार्फत इपानले उक्त एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडीयन हाइ कमिशन कन्ट्री पार्टनर रहने जानकारी दिएको छ ।

आयोजकका अनुसार ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ सय भन्दा बढी स्टल रहने र यि स्टलमध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल रहनेछन् । उक्त एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस, सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन ।

स्वच्छ उर्जाको प्रवद्र्घनमा सहयोग पुर्याउन, नेपालमा विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिवृद्घि गर्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिने भएको छ । जसकोे प्रतिकस्वरुप एक्स्पो आयोजना स्थल भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत आयोजना स्थल फर्पिङसम्म विद्युतीय गाडीको र्याली गरिने भएको छ । उक्त र्यालीले विद्युतीय सवारी साधनको बजारीकरणका साथै जलविद्युतको आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए । यसका साथै फर्पिङमै विद्युतीय चार्जीङ स्टेशनको समेत उद्घाटन गरिने उनले बताए ।

एक्स्पोमा नेपाल र भारतका विज्ञहरुले विद्युत उत्पादन, प्रसारण, प्रविधि, र ब्यापार सम्बन्धि चार बुँदे बिषयबस्तु (थिम)मा छलफल गराउनुको साथै जलविद्युत सम्बन्धि अन्य बिषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । उक्त एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् ।

यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टूरको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरिएको एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले बताए । विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास प्रधानको छ ।

एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका बिषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ । राष्ट्रको उर्जा बिकासमा महत्वपुर्ण सहयोग पुर्याउने विश्वास गरिएको उक्त एक्स्पोको ५० हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा रहेको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा लिएको इपानले उल्लेख गरेको छ । यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने भन्ने विश्वास लिईएको छ । यसका साथै उक्त एक्स्पोले उर्जा क्षेत्रको बिकासमा फरक महत्व र प्रभाव पार्ने अपेक्षा एक्स्पो आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL