Logo

११ महिनामा ३ हजार १८ किलो सुन खपत, सुन आयातमा बाहिरियो २१ अर्ब

११ महिनामा ३ हजार १८ किलो सुन खपत, सुन आयातमा बाहिरियो २१ अर्ब



काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०७७/७८को ११ महिनामा अर्थात गत साउनदेखि गत जेठ महिनासम्ममा २१ अर्ब बढिको सुन आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७७ को साउनदेखि २०७८ को जेठ महिनासम्म नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ३० लाख १८ हजार ग्राम अर्थात ३ हजार १८ किलो सुन आयात गरेको हो ।

नेपालमा खासगरी गरगहनाकै लागि प्रयोग हुने सुन नेपाल राष्ट्र बैंकले आयात गरी व्यवसायीहरुलाई वितरण गर्ने गरेको छ । यसमार्फत नेपालले २ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ राजस्व आम्दानीसमेत गरेको देखिन्छ । यस अवधिमा नेपालले टर्की र दुबईबाट सुनको आयात गरेको देखिन्छ । भन्सार विभागका अनुसार ११ महिनामा नेपालले टर्कीबाट मात्रै २ अर्ब १२ करोड बढिको ३ सय किलो सुन आयात गर्दा दुबईबाट यस अवधिमा १८ अर्ब ९४ करोड रुपैयाँ बढिको २ हजार ७ सय १८ किलो सुन आयात गरेको हो ।

सुनको मूल्यमा लगातार वृद्धि भईरहेपनि यसको खपतमा भने कमी आएको देखिँदैन । गत आर्थिक बर्ष २०७६/७७ को यही अवधिमा नेपालले जम्मा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको २ हजार ४ सय किलोमात्रै सुन आयात गरेको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साउनदेखि जेठ महिनासम्म नेपाली बजारमा सुनको मूल्य १२ हजार रुपैयाँ प्रतितोलाले बढेको छ । तर, यसरी सुनको मूल्यमा बढोत्तरी भईरहँदा यसका खरिदकर्ताहरु पनि बढिरहेको देखिन्छ ।

गत बर्ष कोरोना महामारीको पहिलो फेजले यसको बजारमा केहि असर परेकाले यसको खपतमा पनि केही गिरावट आउन पुगेको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार चालु आवको सुरुवातीमा कोरोनाको केही डर रहेपनि त्यसको केहि महिनापछि जनजिवन चलायमान भएसँगै यसको खपतमा वृद्धि भएको थियो । सरकारले कोरोना महामारीबीच अर्थतन्त्रलाई जोगाउन सुन आयातको कोटा घटाएर १० किलो प्रतिदिन तोकेको थियो । जसको प्रत्यक्ष असर बर्षभरी हुने सुन आयातमा परेको देखिन्छ ।

यसरी हेर्दा गत आवको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ६ सय १८ किलो बढि सुन आयात गरेको भएपनि व्यवसायीहरुले अझै सुन नपुग्ने बताउँदै आएका छन् । हाल नेपालमा प्रतिदिन कम्तिमा पनि २५ किलो सुन आवश्यक पर्ने भएकाले यसको आयात कोटा समयानुसार घटबढ गर्नुपर्ने व्यवसायीहरुले माग गर्दैै आएका छन् । सरकारले हाल प्रतिदिन २० किलो सुन आयात गर्ने गरी आयात कोटा तोकेको छ । तर सिजनमा प्रतिदिन ३५ देखि ४० किलो र अफसिजनमा १५ देखि २० किलो मात्रै सुन खपत हुनेगरेको भन्दै व्यवसायीले अझै यसलाई बढाउन माग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL