Logo

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा २ दिनमै १६ हजारले दिए आवेदन, मागभन्दा ३९ गुणा बढी

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा २ दिनमै १६ हजारले दिए आवेदन, मागभन्दा ३९ गुणा बढी



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३ सय ३८ जनाको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।

laxmi

क्यापिटलका अनुसार उक्त आवेदनबाट १ करोड ३३ लाख ४७ हजार २ सय २० कित्ता सेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९ दशमलव ६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४ सय ९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

३ करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १ सय अंकित दरका ३ लाख ८९ हजार ४ सय ९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४ सय ५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

सेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ । सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL