Logo

राष्ट्र बैंकको नीतिले सेयर बजारमा तरङ्ग, जुवाडे लगानीकर्ता ठूलो संकटमा

राष्ट्र बैंकको नीतिले सेयर बजारमा तरङ्ग, जुवाडे लगानीकर्ता ठूलो संकटमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको स्वस्थ विकासलाई बढावा दिने उद्देश्यले नीतिगत कडाई गरेपछि ठूलो जोखिम लिएर लगानी गर्ने सेयरका लगानीकर्ताहरुको मुटुको धड्कन अस्वाभाविकरुपमा बढ्न पुगेको छ । विशेषगरी एक डेढ बर्षयतादेखि निरन्तर मूल्य वृद्धि भै तेब्बरभन्दा बढी पुगेका, बीमा, लघुवित्त, टेलिकम, जलविद्युत तथा केही व्यापारिक र औद्योगिक कम्पनीका सेयरका लगानीकर्ताहरुको प्रेसर तीब्र हाई बनेको हुनुपर्छ । त्योभन्दा पनि प्रतिफल बिनाका कम्पनीमा लगानी गर्दै ड्राइ आउट रणनीतिमा लागेर सेयर बजारलाई जुवाघर जस्तो बनाउने लगानीकर्ताहरु भने नराम्ररी चित खान सक्छन् । बुधबार सार्वजनिक विदा भएकोले कारोबार देख्न पाइएको छैन तर विहीबारको सेयर कारोबारले उनीहरुलाई कति ठूलो धक्का दिनेछ भन्ने निर्धारण गर्नेछ ।

laxmi

नयाँ नीतिगत व्यवस्थाले बजारमा झांगिदै गएको विकृति र अचाक्ली मूल्य वृद्धिमा ब्रेक लाग्ने विश्लेषकहरुको अनुमान रहेको छ । प्रचूर आपूर्ति हुने भएकोले ठोकुवा गर्न सकिने अवस्था नभएपनि बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरु भने मालामाल हुन सक्ने बलियो संभावना भने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाबाट बढेको मूल्यमा कर्जा लिने, बजारमा सीमित आपूर्ति भएका सेयरहरु पाएजति सबै खरिद गरिदिने, मूल्य बढाएर थोरै थोरै गरी बजारमा बिक्री गर्ने र बाहिर निस्कने प्रवृत्तिलाई नियन्त्रण गर्न जरुरी थियो । यस्तो प्रवृत्ति विशेषगरी लघुवित्त कम्पनी, बीमा तथा व्यापार कम्पनी र जलविद्युत कम्पनीहरुको सेयरलाई यसरी कर्नरिङ्ग गरेर सेयर बजारलाई जोखिमको टाकुरोमा पुर्याउने गरिएको देखियो । यसले सेयर बजारको स्वस्थ विकास नहुने, साना लगानीकर्ताहरु मारमा पर्ने र बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असूलीमा समस्या भै खराव कर्जा बढ्ने देखेर राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

प्रतिफल नै नदिने कम्पनीको समेत सेयरको मूल्य बढाएर बढी कर्जा लिने प्रवृत्ति पनि अहिले निकै बढेको देखिएको छ । राष्ट्र बैंकको मूल्य नियन्त्रण गर्ने उपकरण ७० प्रतिशत कर्जा दिन पाउने व्यवस्था गरेपनि मूल्य तेब्बरसम्म बढाएर त्यसको ७० प्रतिशत कर्जा लिइरहेकोले जोखिम बढेको देखियो । ७० प्रतिशतसम्म कर्जा दिन मिल्ने राष्ट्र बैंकको उपकरणलाई लगानीकर्ताहरुले निष्प्रभावी बनाइदिएका थिए । त्यसैले ढिलै भएपनि राष्ट्र बैंकको यस कदमलाई उपयृुक्त भन्नैपर्छ ।

राष्ट्र बैंकले सेयरको धितोको मूल्यांकनका लागि विगत एकबर्ष यतादेखि कायम रहेको १२० दिनको औषत मूल्यको आधारमा ७० प्रतिशतसम्म लगानी गर्न मिल्ने व्यवस्थामा सुधार गरी केही दिनअघि मात्र १८० दिनको औषत् मूल्यको आधार कायम गरेको थियो । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरिएको थियो । यही नीतिगत व्यवस्था अन्तर्गत फेरि मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कूलर जारी गरी उनीहरुलाई सेयरको दोस्रो बजारमा गर्ने लगानीलाई नियन्त्रण गरिदिएको छ । अर्थात अव बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तीय संस्थाहरुको दोस्रो बजारमार्फत खरिद बिक्री गर्न बन्देज लगाइएको छ । पहिला गरिसकेको लगानीमा एक बर्षभित्र बिक्री गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । साथै विपन्न वर्ग कर्जाको रुपमा त्यस्ता संस्थाको दोस्रो बजारबाट लगानी गरिएको भए आगामी पुसभित्रै बिक्री गरिसक्नुपर्ने निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन उद्देश्यले एकबर्ष भन्दा बढीको लगानी मात्र गर्न पाइने व्यवस्था गरेको छ । सेयर तथा डिबेञ्चरमा कुल पुँजीकोषको ३० प्रतिशत लगानी गर्न पाउने पुरानो व्यवस्थालाई कायम राख्दै बिक्रीको हकमा भने एकबर्षमा उक्त लगानीमध्ये एकपटक १ प्रतिशत मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरु आफैलाई जोखिम हुने गरी अब दोस्रो बजारमार्फत सेयर खरिद बिक्रीमा संलग्न हुन सक्ने छैनन् । अब उनीहरुले वार्षिक लाभांश लिने हिसावले मात्र त्यस्ता संस्थामा लगानी गर्नं सक्नेछन् । बजारमा विकृति ल्याउने मुख्य खेलाडीको रुपमा रहेका केही बैंक तथा वित्तीय संस्थाहरुलाई ठूलो चोट पुगेको छ । राष्ट्र बैंकले नीतिगत कडाई गर्दैछ भन्ने बुझ्दा बुझ्दै र थप लगानी नगर भनेर मौखिक रुपमा भन्दा भन्दै अस्थीर राजनीतिको फाइदा उठाएर जेठ १० गतेसम्म पनि केही बाणिज्य बैंक र विकास बैंकहरु सेयरमा लगानी बढाइरहेका थिए । राष्ट्र बैंकको यो नीतिका कारण तिनीहरु नराम्ररी च्यापिएका छन् । एनआईसी, एनबी, एनसीसी, एनएमबी, कुमारी बैंक, सिभिलका साथै मुक्तिनाथ, गरिमा, महालक्ष्मी, कामना सेवा, एक्सेल, ज्योति विकास, मञ्जुश्री फाईनान्स र गोर्खा फाईनान्सजस्ता कम्पनीहरु चेपुवामा परेका छन् ।

राष्ट्र बैंकको यस नीतिका कारण अब बैंक तथा वित्तीय संस्थाबाहेकको सेयर मूल्य उल्लेख्य मात्रामा घट्न सक्नेछ । तर बैंक तथा वित्तीय क्षेत्रको सेयरको मूल्य बढ्नेछ । किनकि बैंक तथा वित्तीय संस्थाहरुले टेलिकम, विशाल बजार तथा साल्ट टे«डिङजस्ता व्यापारिक कम्पनी, जलविद्युत, सिमेन्ट बीमा, लघुवित्तीय संस्थाहरुमा लगानी गरेका छन् । अब उनीहरुले यथाशीघ चाँडो त्यस्ता कम्पनीको सेयर बिक्री गर्नेछन् । त्यो भन्दा छिटो ठूला लगानीकर्ता र खेलाडीहरुले सेयर बिक्रीमा ल्याउनेछन् । अझ आत्तिएर तिनै ठूला लागनीकर्ताहरुको लहैलहैमा लागेर लगानी गर्नेहरुले पनि बिक्री चाप बढाउनेछन् । यसले बजारमा सेयरको बिक्री चाप बढेर मूल्य घट्ने निश्चित छ । विशेषगरी अहिले बजारमा लघुवित्तीय कम्पनीहरु, टेलिकम, विशाल बजार, साल्ट टे«डिङ लगायत व्यापारिक कम्पनीहरु, शिवम् सिमेन्ट्स, हिमालयन डिस्टीलरी लगायत केही उद्योग, जलविद्युत तथा बीमा कम्पनीहरुको अचाक्ली बढेको सेयर मूल्यमा ठूलो गिरावट आउने देखिन्छ ।

अर्कोतिर सस्तोमा सेयर खरिद गरेका बैंक तथा वित्तीय संस्थाहरुले छिटो नाफा बुक गर्न ती कम्पनीमा भएको आफ्नो स्वामित्वको सेयर बिक्री गरे भने उनीहरुको नाफा बढ्न सक्छ । सेयर बिक्री गर्दा बैंकहरुको नाफा ह्वात्तै बढ्न सक्छ । अहिले नै बजारमा सेयर लगानीकर्ताहरुको भीड बढेको र विशेषगरी बैंकहरुको सेयरको मूल्य कम रहेको पृष्ठभूमिमा उनीहरु यतै झुम्मिन सक्नेछन् । किनकि तुलनात्मकरुपमा कम मूल्य रहेको र प्रतिसेयर आम्दानी बढी भएका बैंकहरुमा अहिलेसम्म लगानीकर्ताहरुका आँखा परिरहेको थिएन । नीतिगत विकृतिमै रमाएका ठूला तथा संस्थागत अन्य लगानीकर्ताहरुको रोजाई पनि बैंक हुन सक्नेछ । बजारको दैनिक रेकर्ड कारोबारलाई हेर्दा महामारीका कारण अन्य क्षेत्रमा लगानीको अवसर नदेखेका ठूलो संख्याका लगानीकर्ताहरुको हेर्नलायकको भीड यतातिर हुन सक्ने देखिन्छ । तर यहाँ बुझ्नुपर्ने कुरा के रहेको छ भने मुख्य खेलाडीको रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले बिक्री चाप मात्रै बढाउने र खरिद गर्न नपाउने भएकोले बजारको दैनिक कारोबार रकम समेत खुम्चिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL