काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् । उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै तीन वर्षभित्र अत्यन्तै आकर्षक र सुबिधासम्पन्न प्रदर्शनी हल निर्माण गरिने बताए ।
चालू आर्थिक वर्षको बजेटमा समेत प्रदर्शनी हल निर्माणको नीति लिइएको उल्लेख गर्दै उनले भने, “भृकुटीमण्डपमा अहिले रहेको सबै संरचना हटाइ भव्य हल बनाइने छ । बजेटमा बोल्नका लागि मात्र नभै कार्यान्वयन गर्नका लागि हो ।”
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुने नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।
यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधन प्रदर्शनीमा राखिएको छ तर, पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ । एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुने छ ।