काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । साथै, खराब कर्जा पनि बढेको छ । यसले पनि नाफा प्रभावित बनाउन सहयोग पुगेको हो । अघिल्लो वर्ष ३.१६ प्रतिशत रहेको खराब कर्जा असार मसान्तसम्म ३.८४ प्रतिशत कायम भएको छ ।
खुद ब्याज आम्दानी ३१.८१ प्रतिशतले घटेर २१ करोड १७ लाख ६९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष २१ करोड ४४ लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीको असार मसान्तसम्म सञ्चालन आम्दानी १९ करोड ८ लाखमा सीमित भएको छ ।
असार मसान्तसम्म यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले घटेर ९ रुपैयाँ ७९ पैसामा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसा थियो ।