Logo

७० देशमा नेपालको ‘आई लेन्स’, उत्पादनको ६५ प्रतिशत निर्यात

७० देशमा नेपालको ‘आई लेन्स’, उत्पादनको ६५ प्रतिशत निर्यात


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपालमा उत्पादन हुने इन्ट्राओकुलर लेन्स ( आइओएल) विश्वका विभिन्न ७० ओटा देशमा निर्यात हुने गरेको छ । आइओएल लेन्स चीन, बङगलादेश, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, मलेशिया, इजीप्टलगायत १७ ओटा मूलुकमा प्रत्यक्ष रुपमा निर्यात गरिँदै आएको छ ।

त्यस्तै थाइल्याण्ड, इथोपिया, भियतनाम, कम्वोडियालगायत ७० मूलुकमा अप्रत्यक्ष रुपमा आइओएल निर्यात हुँदै आएको नेपाल आँखा कार्यक्रममा कार्यकारी निर्देशक सन्दुक रुइतले बताए ।

नेपालबाट बार्षिक ५ लाख थान आइओएल लेन्स निर्यात हुने तिलगंगा आँखा अस्पतालले जानकारी दिएको छ । त्यसो त यो लेन्सको निर्यात बार्षिक १५ प्रतिशतका दरले बढ्दै गएको अस्पतालका विक्री तथा बजार व्यवस्थापक सन्तोष शर्माले जानकारी दिए । नेपालमा उत्पादन हुने यस्ता लेन्स अन्तरराष्ट्रिय बजारमा तुलनात्मक रुपमा गुणस्तरीय तथा सस्तो भएकोले निर्यात बढेको उनले बताए ।

रुइतका अनुसार नेपाल आँखा कार्यक्रमसँग लेन्स उत्पादनका लागि उत्कृष्ट विज्ञहरु छन् । आइओएल लेन्स मोतिविन्दु भएका मानिसहरुका लागि उपयोगी प्राकृतिक लेन्स हो । यो लेन्स बिना मोतिविन्दुको शल्यक्रिया गर्न सकिदैन । तिलगंगा आँखा अस्पतालले २०५३ सालदेखि नेपालमा लेन्स उत्पादन गर्दै आएको छ । नेपालमा तिलगंगाले मात्र यस्तो लेन्सको उत्पादन तथा निर्यात गर्छ ।

आँखा अस्पतालका अनुसार उत्पादित लेन्समध्ये ६५ प्रतिशत निर्यात हुन्छ भने बाँकी ३५ प्रतिशत नेपालमै खपत हुँदै आएको छ ।

अस्पतालले अन्तरराष्ट्रिय बजारमा लेन्सको मूल्य प्रति गोटा ४ डलर तोकेको छ । स्थानीय बजारमा भने नेपालीहरुलाई विशेष छुटसहित प्रति गोटा २ सय २५ रुपैयाँ देखि २ सय ८० रुपैयाँसम्म तोकिएको शर्माले जानकारी दिए ।

इन्ट्राओकुलर लेन्सको माग विदेशी बजारमा मात्र होइन स्वदेशमै पनि बढ्न थालेको निर्देशक रुइतले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपालमा मोति बिन्दुको रोगीहरुको सङख्यामा भएको वृद्धिसँगै स्वदेशमै यसको खपत बढेको हो । तिलगंगाले विदेशका साथै नेपालभरका अन्य आँखा अस्पतालमा पनि आइओएल लेन्स बिक्री गर्दै आएको छ ।

त्यसैगरी समय समयमा भइरहने विभिन्न ‘आइ क्याम्प’ मार्फत संस्थागत सामाजिक उत्तदायीत्व बहन गर्दै निःशुल्क लेन्स बितरण गर्दै आएको छ ।

हालै उद्योग मन्त्री नवीन्द्रराज जोशीले आँखा लेन्सको उत्पादन बृद्धि गर्ने उद्देश्यसहित १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् । हाल ५ लाख थान उत्पादन हुँदै आएकोमा १५ लाखसम्म पुर्याउने उद्देश्यसहित आँखा कार्यक्रमलाई बजेटमार्फत रकम छुट्याइएको मन्त्री जोशीले बताए ।

सरकारबाट प्राप्त सहयोग रकमबाट उपत्यका बाहिर छुट्टै ल्याब स्थापना गरी लेन्स उत्पादन गर्ने योजना अस्पतालको छ । तिलगंगामा रहेको लेन्स उत्पादन गर्ने ल्याब साँघुरो भएको भन्दै काठमाडौं बाहिर बनाउन लागेको हो । त्यस्तै नयाँ प्रबिधिका अन्य लेन्सहरु पनि उत्पादनको तयारी गरिएको छ । ‘अहिले सिंगल फोकस लेन्स मात्र उत्पादन हुने गरेकोमा निकट भविष्यमा डबल फोकस लेन्स बनाउने सोचमा छौं,’ शर्माले जानकारी भने ।

आइओएल लेन्स निर्यात गर्नुको प्रमुख उद्देश्य भनेकै नेपाली जनतालाई सूपथ मूल्यमा लेन्स उपलब्ध गराउनु भएको रुइतले बताए । आइओएल लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ( पोलीहेमा) अमेरिका, नेदरल्याण्डलगायत देशबाट आयात गरिन्छ । त्यसैगरी लेन्स उत्पादन गर्ने मेसिन (ड्याक) अमेरिका बाट आयात गरिएको बजार तथा बिक्री ब्यवस्थापक शर्माले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL