GBIME

सेयर किन्ने वित्तिकै सर्किट लागेर बढ्नुपर्छ भन्ने मानसिकताले समस्या उत्पन्न भएको हो :अम्बिकाप्रसाद पौडेलको अन्तर्वार्ता


बिजखबर संवाददाता
3 March, 2021 1:23 pm

ambika_paudel_bizkhabar_share

केही सयमदेखि बुलिस ट्रेण्ड समातेको नेपालको पूँजीबजारले पुनः करेक्सनको बाटो तय गरेको छ । सामान्य हल्लाले पनि उतारचढाव हुँदै आएको सेयर बजारमा अहिले नियामक निकायको स्थिर नीतिका बावजुद पनि दैनिक रुपमा गिरावट आएको छ । पछिल्लो समय सामाजिक संजालमा हुने विभिन्न खालका स्वार्थ केन्द्रित हल्लाका कारणले समेत बजारमा उच्च प्रभाव पार्न थालेको छ । सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढाव, नेप्सेले तय गर्ने रेखा तथा पूँजी बजार सुधारका लागि गर्नुपर्ने नीति सुधारका विषयमा केन्द्रित रेहर नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप :

Bajaj
NABIL
YAMAHA

पूँजी बजारमा शुरु भएको बुलिस ट्रेण्ड टिकाउ हुन सकेन, किन छोटो समयमै घट्न पुग्यो ?

तपाईले बुलिस ट्रेण्ड र बजार फेरि घटिहाल्यो भन्नु भयो । कहाँ र कसरी बजार घट्यो मैले त घटेको देखेको छैन् र त्यस्तो महशुस पनि गरेको छैन् । म धेरै लामो इतिहास कोट्याउन चाहदिन । उदाहरणका लागि असार १६ गते ११८० मा बन्द भएको बजार आज तपाई हामी कुरा गरिरहँदा (आईतबार) २५०० अंकमाथि छ । नेपाली पूँजी बजारमा मेरो २५ बर्षको अनुभवलाई हेर्ने हो भने यति छोटो समयमा यति धेरै अंकले बढेको पहिलो पटक हो । २६४० अंकसम्म पुगेको पूँजी बजार २४५० सम्म आउँदा डराउनुपर्ने, आत्तिनुपर्ने र झस्किनुपर्ने कुनै आवश्यकता छैन । पूँजी बजारमा जहिले पनि राप र ताप रहिरहन्छ । ताप नभएको आगो र राप (चिन्ता) नभएको पूँजी बजारमा कुनै रौनकता हुँदैन । यो मर्मलाई लगानीकर्ताले बुझ्नुपर्छ ।

sarbottam

अर्को कुरा लगानीकर्ताको मनोविज्ञान जहिले पनि सेयर बजार बढिरहनुपर्छ भन्ने मात्र देखिएको छ । उदाहरणका लागि कुनै लगानीकर्ताले आज सेयर किन्यो अनि त्यसको भोलिपल्टदेखि बढिहरनुपर्छ, अलिअलि मात्र बढेर पनि हुँदैन दैनिक सर्किट नै हान्नु पर्छ । जब बढ्छ सामाजिक संजालमा अनावश्यक कोकोहोलो गरिन्छ । छोटो समयमै यस खालको वृद्धि र यति धेरै प्रतिफल पाएको पूँजी बजार मैले देखेको थिइन । कति लगानीकर्ताले कति कमाए भन्ने विषय नेपाल सरकारलाई तिरेको करको आधारमा पनि भन्न सकिन्छ । तसर्थ समान्य करेक्सन आउनु वा एउटा साईजमा जानु पूँजी बजारको परिपक्वताको संकेत हो । सामान्य गिरावट आउनु बुलिस ट्रेण्डको अवसान होइन बुलिस ट्रेण्डलाई मजबुद बनाउने फाउण्डेशन तयार भएको मात्रै हो । गतहप्तादेखिको घटाईले बजार मजबुद बनाउन फाउण्डेशन तयार गर्दै बजार अझ धेरै माथि जान सहयोग गर्नेछ ।

अहिलेसम्मको स्थिति हेर्ने हो भने बजार हल्लाको भरमा चलेको देखिन्छ । नियामकले वा कोही कसैले केही नीतिगत परिमार्जन गर्न लाग्यो भन्ने विषय चर्चामा आउने वित्तिकै बजारमा उच्च उतारचढाव भईहाल्छ । पछिल्लो समय राष्ट्र बैंकले पूँजी बजारलाई असर गर्ने खालका कुनै पनि काम नगर्दा पनि बजार निरन्तर ओरालो लागिरहेको छ किन ?

कोभिडभन्दा अघि र अहिलेको अवस्थालाई मात्रै तुलना गरेर हेर्ने हो भने पनि त्यतिवेला अनलाइन युजर कति थिए अहिले कति पुगे । पछिल्लो समय पूँजी बजारको न्यूनतम आधारभुत मान्यताहरु समेत नबुझिकन लगानीगर्ने लगानीकर्ताको जमात ह्वात्तै बढेको देखिन्छ । अर्कोतर्फ सामाजिक संजालमा विभिन्न नाम धारण गरेर आफ्नो स्वार्थ अनुरुपका हल्ला फैलाउने प्रवृति पनि उत्तिकै हावी भएको छ । बजारमा एउटा झुण्ड छ उसले सानो हिस्सा सेयर किन्छ वा बिक्री गर्छ अनि बेचेपछि सेयर बजार अब धराशायी भैहाल्छ र किनेपछि भोलिपल्टबाटै सबै राम्रो छ भनेर सामाजिक संजालमार्फत हल्ला फैलाउन थाल्छन् । सामाजिक संजालका विभिन्न ग्रुपहरुमा त्यस्तै स्वार्थ केन्द्रित झुण्डहरुले लेखेको वा हल्ला फैलाएको आधारमा त्यसैलाई फ्लो गरेर लगानी गर्ने लगानीकर्ताका कारण समस्या उत्पन्न भएको छ । त्यसमा पनि पछिल्लो समय बजारमा भित्रिएका नयाँ र पूँजी बजारका आधारभुत मूल्य र मान्यता पनि नबुझेका लगानीकर्ताहरु बढी रहेका छन् । जसका कारण लगानीकर्ताहरु बहकिएका थिए ।

‘समान्य करेक्सन आउनु वा एउटा साईजमा जानु पूँजी बजारको परिपक्वताको संकेत हो । सामान्य गिरावट आउनु बुलिस ट्रेण्डको अवसान होइन बुलिस ट्रेण्डलाई मजबुद बनाउने फाउण्डेशन तयार भएको मात्रै हो ।’

साँच्चै भन्ने हो भने हिजोका दिनमा धेरै लगानीकर्ता थिए तर, बजारको बारेमा केही धेरै बुझेका थिए । तर, अहिले पूँजी बजार नै नबुझी भित्र्ने लगानीकर्ताको जमात ठूलो छ । अहिले डिम्याट खाताकै आधारमा २५ लाखभन्दा बढी लगानीकर्ता छन् भने एउटै आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिन थाले । के ती सबैले पूँजी बजार बुझेका छन् त ? अहिले लहैलहैमा पूँजी बजारमा भित्रिने क्रम बढेको छ भने सोही अनुसार सामाजिक संजालका स्वार्थकेन्द्रित सूचनालाई पछ्याउने समुह पनि उत्तिकै छ । जसले गर्दा साना साना कारणहरु जस्तै कहिले राजनीतिक तरलता, कहिले ब्याजदर त कहिले धितोपत्र बोर्डको हवला दिँदै बजारमा चलखेल गर्न खोजिन्छ । जुन कुराको सान्दर्भिकता नै हुँदैन । तथापि यस्तो कुराले लगानीकर्तालाई घोतलिन बाध्य बनाएको छ ।

अहिले बजार के कारणले बढ्यो र किन घट्यो भन्ने जवाफ कुनै लगानीकर्ताले दिन सक्छ । मैले लगानीकर्तालाई जहिले पनि सुसूचित गराउँदै आएको छु । हिजो पनि धैर्य गरौं भनेको थिए भने अहिले पनि बेस रेटको पछि नलागौं भनेको छु । म ठोकुवानै गरेर भन्छु चैतमा बैकहरुको वेसरेट फागुनको भन्दा घटेर आउँछ । अहिले पूँजी बजारसम्बन्धी योजना नै नभएका लगानीकर्ता बढी भित्रिए । र अर्कोतर्फ एकथरी समूह सामाजिक संजालमार्फत विभिन्न अफवाह फैलाएर प्रभाव पार्न देखिएका कारण, भर्खर आईपीओको माध्यमबाट दोस्रो बजारमा प्रवेश गरेका लगानीकर्ताहरुको दुविधाको कारण अहिले बजारमा केही तरलता देखिएको हो । तर वास्तविक पूँजी बजार बुझेको लगानीकर्तामा यस्ता कुराले प्रभाव पार्दैन र उनीहरु आफ्नो लयमा जान्छन् र गईरहेका छन् ।

तपाईकै भनाईमा बैंकहरुको बेसरेट पनि आगामी दिनमा घटेर आउँछ र लगानीका लागि प्रशस्त तरलता पनि छ । यसको मतलब बजार अझै पनि माथि नै जान्छ वा ३५०० अंकको टार्गेट क्रस गर्छ भन्ने नै हो ?

यसमा म क्लियर छु । तपाईले नेप्से ३५०० अंकको टार्गेट भन्नुभयो त्यो त बजारमा नेपाल रि–इन्स्योरेनस, इन्फ्रा, चन्द्रागिरी, यति धेरै जीवन बीमा कम्पनीको सेयर लिस्टिङ नहुँदाको हो । अब त त्यो विन्दुभन्दा माथि जान्छ । कोभिडले सबै क्षेत्र आक्रान्त हुँदा पनि मैले बजार ११०० अंकबाट झर्दैन भनेर भनेकै थिए । मैले संकेत मात्रै गरे ठ्याक्कै पैन्टआउट गरिन तर, मैले यसअघि भन्दै आएको टार्गेटभन्दा माथि नेप्से परिसूचक जान्छ । पूँजी बजारका लगानीकर्ता धेरै लोभी बन्नु हुँदैन, लगानी गर्दा कम्पनीको अवस्था बुझ्नुपर्छ, आधारभुत सिद्धान्त तथा त्यसका व्यवस्थापनलाई ध्यान दिनुपर्छ । त्यसरी पूँजी बजारमा लगानी गरियो भने आजका मितिमा पनि लगानीकर्ता निरास हुनुपर्ने अवस्था छैन । तसर्थ आजको लगानीले पनि अन्य क्षेत्रकोभन्दा उच्च र उत्कृष्ट प्रतिफल दिन्छ भन्ने कुरामा म कहिकतै अन्यौलमा छैन र वास्तविकता पनि यही नै हो ।

तपाईहरु जत्तिको अग्रज व्यक्तिको भनाई वा सूचनालाई आधार मानेर अहिले पनि लगानी गर्नेको चार्म छ । तर तपाईहरु नै पूँजी बजार भनेको सधै बढिमात्रै रहन्छ घट्दैन भन्ने सन्देश दिनुहुन्छ । त्यसैका कारण लगानीकर्ताहरु अन्यौलमा परेका त हैनन् ?

मेरो भनाई र सूचनालाई आधार मान्ने हो भने मैले त्यतिवेला नेप्से परिसुचक १८८८ बाट तल झर्दा बजारको बुलिस ट्रेण्ड सकियो भनेर लेखेको थिए । त्यो कुराको प्रमाण चाहिन्छ भने अहिले पनि त्यतिवेला छापिएको पत्रिकामा हेर्न सक्नुहुन्छ । बजार तल्लो विन्दुमा झरिरहँदा ११०० भन्दा तल जाँदैजाँदैन भनेर भनेको पनि मेरा कुनै अन्तर्वार्ता वा भनाई हेरेर थाहा पाउन सक्नुहुन्छ । त्यतिवेल नेप्से परिसूचक १२९२ हुँदासमेत त्यसबाट लय समातेको बजार १८०० अंक पुग्छ भनेको थिए । त्यतिवेला १८८८ अंकबाट बजार झर्छ भन्दा भालेश्वर काण्ड नै मच्चाइयो के त्यतिवेला बजार बढ्यो र ? तर, मैले भनेकै कारणले बजार घटेको त होइन नि ।

मैले आधारभुत तथ्यको आधारमा बजार घट्ने ट्रेण्डलाई बताईदिएको मात्रै हुँ । मैले नेप्से परिसुचक १५०० अंक होस वा १३०० अंक हुँदा ११०० अंकसम्म आउनसक्छ भनेको बजार घट्छ भनेको होइन र । के यो बजार घट्छ भनेको होइन र कहाँ बढ्छ मात्रै भनेको छु । मैले सकेसम्म लगानीकर्तालाई सही सूचना नै दिँदै आएको छु । लगानीकर्ताको लागि दुईओटा कुरा म कहिलै पनि गर्दिन । मसँग टाईमफ्रेमको म्याप छ तसर्थ दिनदिनैको धर्को तानेर बजारको भविश्यवाणी गर्दिन । मैले सेयर किन्ने कम्पनीहरुको विश्लेषण गर्छु भने सोहीअनुरुप खाका पनि बनाएको छु । मैले पनि मोटामोटी अनुमान गर्ने हो । विश्व बजारमा पूँजी बजारको शतप्रतिशत अनुमान गर्ने व्यक्ति अहिलेसम्म जन्मिएको छैन र सायद जन्मिनेपनि छैन । पूँजी बजारमा २+२=४ को अंकगणितिय सिद्धान्त लागू हुँदैन । यो भनेको अध्ययन, अनुभव र अनुमानको संयोजन हो ।

तपाई बजारमा ३ दशकको यात्रा तय गर्न लागिसकेको अनुभवी र ठूलो लगानीकर्ता । डिम्याटलाई आधार मान्ने हो भने अहिले पनि मासिक लाखौं लगानीकर्ता बजारमा भित्रिरहेका छन् । अब उनीहरुले के–कस्ता आधारमा लगानी गर्नुपर्छ, भन्दिन सक्नुहून्छ ?

पूँजी बजारको बारेमा अध्ययन, अनुभव, लगानी गर्ने कम्पनीको जानकारी र आधारभुत विषयमा ज्ञान पनि छैन भने प्राथमिक बजार (आईपीओ) बाटै प्रवेश गर्नुस । यसबाट विस्तारै सिक्दै दोस्रो बजारमा प्रवेश गर्नुस । दोस्रो बजारमा जोखिम छ । यसका लागि पर्याप्त मात्रामा विश्लेषण गर्न सक्ने, सोहीअनुरुप सूचनाको समेत विश्लेषण गर्न सक्ने, लगानी गर्ने कम्पनीको वारेमा बुझ्न सक्ने र सोहीअनुरुप कम्पनीको विश्लेषण गर्न सक्ने लगानीकर्ताको लागि राम्रो हो । पछिल्लो समय खुला गरिएको आईपीओमा जति लगानीकर्ता आएका छन् तीमध्ये धेरै नयाँ पनि छन् ।

‘जहाँसम्म सूचनाको कुरा उठ्यो त्यसको आधारमा इन्साइडर ट्रेडिङ हुँदै भएन वा हुँदै हुँदैन म भन्दिन । उदाहरणका लागि तपाई मिडियाको मान्छे । कसैले महत्वपूर्ण सूचना भन्दियो भने कान थुनेर हिड्ने वा त्यही कुरा अरुलाई भन्दै हिड्ने ? जसलाई पनि कमाउन त मन लाग्छ नि । तसर्थ यस्ता विषयलाई सिस्टमले नै नियमन गर्नुपर्छ ।’

तसर्थ उनीहरुलाई मेरो विनम्रतापूर्वक अनुरोध छ कि पूँजी बजार सधै बढिरहन्छ, जुन कम्पनीको सेयर किने पनि हुन्छ भन्ने मान्यता बोकेर दोस्रो बजारमा प्रवेश गर्नुस । प्राथमिक बजारबाट केही कुरा सिकेर मात्रै दोस्रो बजारमा प्रवेश गर्नुपर्छ । त्यसरी लगानी गर्दा पूँजीबजारबाट नोक्सानी बेहोर्नु पर्दैन भने बजारमा बुझेका र सक्षम लगानीकर्ताको बहुमत जमात भइदियो भने पूँजी बजारमा अहिले देखिएको भोलाटाइल, कर्नरिङ, इन्साइडर ट्रेडिङले प्रश्रय पनि पाउँदैन । र पूँजीबजारले अनावश्यक रुपमा माथि र तलको पीडासमेत खप्नुपर्दैन । यसका लागि सम्बन्धित नियामक निकाय तथा हामीजस्ता पेशागत संगठनहरुले पूँजी बजार सम्बन्धी कार्यक्रम संचालन गर्नु आवश्यक छ । पूँजी बजारमा जनसंख्याको आधारमा पर्याप्त मात्रामा लगानीकर्ता भित्र्यायौं तर, पूँजी बजारको बारेमा जनचेतना र लगानीकर्ता शिक्षा दिनु पर्दथ्यो त्यो हुन सकेको छैन । तसर्थ बजारमा लगानीकर्ताको संख्या मात्रै बढाउनुभन्दा पनि भैरहेको लगानीकर्तालाई समक्ष बनाउनुपर्छ ।

अहिले नेपाली पूँजी बजारमा केही ठूला लगानीकर्ता, सम्बन्धित कम्पनीको सूचनाको पहुँचमा बसेका र नियाकम निकायको मिलेमत्तोमा सूचनाको आधारमा खेल्न थाले र जसका कारण बजार भोलाटाइल भयो वा इन्साइडर ट्रेडिङ भयो भन्ने आरोप छ । वास्तविकता के हो ?

यो हिजोको दिनमा भन्दै आएको र मिडियाको थेगो हो । अहिले बजारमा दैनिक १० अर्ब रुपैयाँको कारोबार हुन्छ । अहिले कुन कम्पनी वा फर्मले एक दिनको कारोबार बराबरको ट्रेडिङ गरेको छ ? तसर्थ त्यो सम्भावना हिजोका दिनमा थियो तर, अहिले छैन । जहाँसम्म सूचनाको कुरा उठ्यो त्यसको आधारमा इन्साइडर ट्रेडिङ हुँदै भएन वा हुँदै हुँदैन म भन्दिन । उदाहरणका लागि तपाई मिडियाको मान्छे । कसैले महत्वपूर्ण सूचना भन्दियो भने कान थुनेर हिड्ने वा त्यही कुरा अरुलाई भन्दै हिड्ने ? जसलाई पनि कमाउन त मन लाग्छ नि । तसर्थ यस्ता विषयलाई सिस्टमले नै नियमन गर्नुपर्छ । जुन–जुन निकायमा जो व्यक्ति सूचनाको पहुँचमा हुन्छन् उनीहरुका लागि कडा खालको आचारसंहिता लागू गरिनुपर्छ । जसले पनि सूचनामा पहुँच पुर्याउन चाहन्छ । त,र यस्ता विषयलाई सिस्टमले नै व्यवस्थापन गर्नुपर्छ । जसबाट नियमन गर्न सकिन्छ ।

अहिले पनि लगानीकर्ताले धेरैजसो कम्पनीमा नेप्से परिसुचक २६०० पार गर्दा पनि १८८१ को मूल्य पाउन सकेका छैनन् । तर, अहिलेको वृद्धि हेर्दा प्रतिफल नै नदिएका र दिन नसक्ने तथा साना कम्पनीको सेयर कर्नरिङ गरेर बेलुन फुलाएको जसरी बजार बढाईरहेको देखिन्छ । किन यस्तो भैरहेको छ ?

साँच्चै भन्नु पर्दा यस विषयमा म पनि सोच्न बाध्य भैरहेको छु र एकदमै दुःख पनि लाग्छ । अहिले बजार यस्तो प्रवृत्तिको हावी भएको छ यसलाई हामीले स्वीकार गर्नै पर्छ । यो सबैले छर्लङ्ग देखेको कुरा हो । यसले हामीजस्ता लगानीकर्तालाई बजारदेखि उदेक पनि लाग्छ । अहिले बजारमा जति लगानीकर्ता आउनुभएको छ उनीहरुलाई पूँजी बजारसम्बन्धी शिक्षा र चेनताको कमजोरीले यस्तो भैरहेको छ । कम्पनीको नाम नभनु तर, धेरै कम्पनीहरुको नेगेटिभ रिजर्भ भएका, पछिल्लो ६ महिनामा केही रिकभरी गरेर आएका, २० औं बर्षसम्म कुनै प्रतिफल नदिएका र अझै पनि दिन आश नभएका कम्पनीहरुको सेयर मूल्य चुलिएको देख्दा, विभिन्न समूहले फैलाएको सूचनाको आधारमा मूल्य बढ्दा यहाँले उठाएको प्रश्न एकदमै सही हो । तर, यी सबै विषयमा चुरो कुरा हामीसँग जसरी ह्वात्तै लगानीकर्ता बढे उनीहरुमा पूँजी बजार शिक्षाको अभाव हुँदा त्यस्ता कम्पनीको सेयरमा मूल्य बढाइयो । लगानीकर्ताले भ्यालुएड गर्न चाहनु स्वाभाविक हो तर, यस्ता विषयमा नियामक निकायले ध्यान दिनुपर्छ ।

‘कम्पनीको नाम नभनु तर, धेरै कम्पनीहरुको नेगेटिभ रिजर्भ भएका, पछिल्लो ६ महिनामा केही रिकभरी गरेर आएका, २० औं बर्षसम्म कुनै प्रतिफल नदिएका र अझै पनि दिन आश नभएका कम्पनीहरुको सेयर मूल्य चुलिएको देख्दा, विभिन्न समूहले फैलाएको सूचनाको आधारमा मूल्य बढ्दा यहाँले उठाएको प्रश्न एकदमै सही हो ।’

नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमै पहिलोपटक पूँजी बजार फोरम गठन गरेर तपाईले त्यसको नेतृत्व लिनुभएको छ । अहिलेसम्म यति धेरै समस्या बताउनु भयो । अब भनिदिनुस नेपालको पूँजी बजारलाई विश्वसनीय र पारदर्शी बनाउन के–कस्ता नीतिगत सुधार गर्नु जरुरी छ ?
समस्या धेरै छन् । हामीले धेरै ठूलाठूला कुरा गर्नुभन्दा पनि साना–साना समस्यामा सुधार गरेर अघि बढ्नु उपयुक्त हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघ, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीले संयुक्त रुपमा लगानीकर्ता सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । यस विषयमा फोरमले खाका नै तयार गरेको छ । अब ती निकायसँग मिलेर लगानीकर्तालाई पूँजी बजारको आधारभुत विषयमा जानकारी दिनका लागि क्षेत्रगत रुपमा कार्यक्रम गर्नेछौं ।

अहिले पनि ऐन नियममा धेरै कमीकमजोरी छन् । धितोपत्र, बीमा, कम्पनी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बाझिएका समस्याहरुको समाधान गर्नु जरुरी छ । नेपालको पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउने भनेका छौं भने ५८ बुँदे सुझाव दिँदा विदेशी लगानीकर्ता पनि भित्र्याउने भनेका छौं । ती विषय नीति तथा कार्यक्रममा आयो तर, कार्यान्वयमा आउन सकेन । के कारणले आउने सकेन अब त्यो पत्ता लगाउनुपर्यो । अहिले पनि करसम्बन्धी मुद्दाहरु उठिरहेको छ । व्यक्तिगत कर ५ प्रतिशत छ त्योपनि अन्तिम कर हो कि होइन दुविधा छ भने यस्तै काम गर्ने कम्पनी र एनआरएनलाई २५ प्रतिशत कर छ । पछिल्लो समय मर्चेण्ट बैंकर तथा म्युचुअल फण्डलाई पनि कर लगाउने विषय उठिरहेको छ । यस्ता विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर सरकार र लगानीकर्ता दुबैलाई हित हुने गरी समाधान गर्नु जरुरी छ ।

अर्को कुरा पूँजी बजारमा एउटा मात्रै प्रडक्ट छ । सेयर सूचीकृत गर्यो अनि बेच्यो । सेयर बढिरहँदा सबैले कमाउँछन् । फरक कम र बढी मात्रै होला । पूँजी बजारलाई पेशा बनाएर बसेको हामीजस्ता लगानीकर्ताले बजार घट्दा पनि कमाउनु पर्यो नि । यसका लागि हाम्रो छिमेकी मुलुक वा हाम्रो जस्तो अर्थतन्त्र भएका देशहरुले पूँजी बजारको विषयमा केकस्ता अभ्यास गरेका छन् त्यसको अध्ययन गरेर अक्सन मार्केट, म्युचुअल मार्केट, इन्डेक्स ट्रेडिङलगायतका कुराहरु ल्याइनुपर्छ । त्यस्ता प्रडक्ट ल्याउन महासंघले पहल गर्ने छ ।

हामीले नयाँ लगानीकर्ताको संरक्षण तथा पूँजी बजारलाई भोलाटाएल हुनबाट जोगाउन म्युचुअल फण्डको अवधारणा ल्यायौ र सोहीअनुरुप आईपीओ जारी गर्दा संरक्षण पनि दिँदै आएका छौं । तर, सर्वसाधारणले त्यही संरक्षण नीतिअन्तरगत पाएको आईपीओमा लकिङ पिरियड हुने तर, त्यसरी नै पाएका म्युचुअल फण्डले बढ्दो बजार तुरुन्तै बेचेर निस्कन मिल्ने । अहिले म्युचुअल फण्डको आईपीओको आरक्षण नीति हटाउनुपर्छ भन्ने माग राखेका छन् नि ?

म्युचुअल फण्डलाई आरक्षण छुट्याउनु गलत होइन यो विश्वव्यापी अभ्यास पनि हो । पूँजी बजारमा दोस्रो बजारको आधारभुत विषय नबुझेका लगानीकर्ताले विज्ञ समूहबाट संचालित म्युचुअल फण्डमा लगानी गर्छन र म्युचुअल फण्डले अध्ययन गरेर राम्रो कम्पनीको सेयरमा लगानी गर्दै उच्च आम्दानी गरेर लगानीकर्तालाई दिन्छन् भन्ने मान्यता छ । व्यक्तिगत रुपमा गरिने लगानीभन्दा म्युचुअलm फण्डले राम्रो प्रतिफल दिन्छ भन्ने सिद्धान्त छ । त्यही सिद्धान्तबाट हाम्रो म्युचुअल फण्ड स्थापना भएका हुन् । अहिले बुक विल्डिङमै जाँदा पनि ६ महिनाको लकिङ पिरियड राख्ने भन्ने विषय उठेको छ ।

अहिले म्युचुअल फण्डनै बजारमा अप एण्ड डाउनका ट्रेण्ड सेटर हुन कि भन्ने पनि देखिएको छ । म्युचुल फण्डको इच्छाअनुसार नयाँ कम्पनी चल्ने हुनकि भन्ने आभास मिलेको छ । यसले गर्दा नै बजारमा मिसम्याच पो हुने होकि भन्ने पनि लागेको छ । अबका दिनमा म्युचुअल फण्डले कुनै पनि कम्पनीको सेयर लिस्टिङ भएको ६÷८ महिना त्यसरी आरक्षणमा पाएको सेयर वेच्न नमिल्ने व्यवस्था गर्नुपर्ने देखिएको छ । यो आवाज सबैले उठाउन थालेका छन् । यसमा सम्बन्धित निकायले सुनेर बुझेर सम्बोधन गर्नेछ भन्ने लागेको छ र हाम्रो माग पनि यहिँ नै हो ।

अहिले आईपीओ पर्दा अन्य लगानीकर्तासँग १० कित्ता हुने अनि म्युचुअल फण्डसँग हजारौं कित्ता हुने । बजारमा केही मूल्य बढ्यो कि म्युचुअल फण्डले आफुसँग भएको ठूलो कित्ता सेयर बिक्री गरेर नाफा बुक गर्ने त होइन नि । यसो हुँदा बजारमा कार्टेलिङ त भैरहेको छैन भन्ने आभास पनि भएको छ । यस्ता विकृतिबाट बजारलाई बचाउनका लागि पनि लकिङ पिरियड चाहिन्छ ।

अहिले नेप्सेले सिस्टममा खेल्न थाल्यो अब नयाँ स्टक एक्स्चेञ्ज चाहियो भन्ने आवाज उठ्न थालेको छ । के अर्को स्टक एक्स्चेञ्जको आवश्यकता भएकै हो ?

नेप्सेको काम, नेप्सेले प्रदान गरेको सेवा, नेप्सेबाट ब्रोकरले लिएको सिस्टममा गडबडी आएको छ । हिजोको दिनमा १ अर्बको कारोबार पनि थिएन तर अहिले १० अर्बको कारोबार हुन थाल्यो । यस्तो अवस्थामा सिस्ट्ममा सुधार गर्न पनि नगर्ने र नयाँ सिस्ट्म पनि ल्याउन नसक्दा आम लगानीकर्तामा नेप्सेप्रतिको विश्वास घटेको छ । अहिले बजारमा १० अंकको कारोबार हुन थाल्यो भने रियल सेक्टरका कम्पनीपनि प्रवेश गरिरहेका छन् । अहिलेको बजारमा नेप्सेको वार्षिक आम्दानी अर्बौं होला यस्तो अवस्थामा पनि १०/१५ रुपैयाँमा राम्रो सिस्टम राख्न सक्दैन भने अबका दिनमा त्यसको विकल्पको वारेमा सोच्नुपर्ने बेला आएको छ । म पनि नेप्सेको सिस्टमबाट धेरै पटक पीडित भएको छु । सेयर बजारको दायरा फाराकिलो बनाउँदै नयाँ प्रडक्टसमेत ल्याउन प्रतिस्पर्धी रुपमा अर्को स्टक एक्सचेञ्ज भइदियो भने दुबैलाई फाइदा हुन्छ । २५ ब्रोकरबाट ५० ब्रोकर हुँदा आम्दानी तथा दायरा जसरी बढ्यो २ ओटा स्टक एक्सचेञ्ज हुँदा पनि त्यसैगरी दायरा र प्रतिफल बढ्नेछ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सधै चचा हुँदै आएको छ । तपाई इन्भेष्टर्स फोरमको समेत नेतृत्व गरेको व्यक्ति र महासंघमा पनि यहि जिम्मेवारीमा हुनुहन्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने कत्तिको जायज माग हो ?

मैले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ भनेर पटक–पटक भन्दै आएको थिए । यो मेरोमात्रै होइन आम लगानीकर्ताको माग थियो । हामीले बैंकलाई ब्रोकरको लाईसेन्सको माग गर्दै आयौ । यो समयमा न बैंकले ब्रोकर लाइसेन्स पाए न त ब्रोकर संख्या र उनीहरुको दायरा नै बढ्यो । बैंक ब्रोकर लाईसेन्स लिन इच्छुक हो कि होइन ? बैंक स्पेसिफिक भएर काम गर्ने कि भएका जति सबै काम आफैले गर्ने वा सबै बैंकलाई दिने यो विषयमा पनि क्लियर हुनु जरुरी छ । बीमा प्रोडक्ट, ब्रोकरका प्रोडक्ट, रेमिटान्सलगायत पैसा आम्दानी हुने प्रडक्ट जति सबै बैंकले दिँदै आएका छन् । राम्रो पैसा आम्दानी हुने जति प्रोडक्ट सबै बैंकलाई दिने कि यस विषयमा विकेन्द्रीकरण गर्ने हो सोच्नुपर्ने वेला आएको छ । अब हामी दुविधामा नबसौं । सबैको हातमा सहज रुपमा सेवा पुर्याउन प्रविधिमैत्री ब्रोकेज सेवामा जानु जरुरी छ । जसले गर्दा छिटो नै गन्तव्यमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

MBL