Logo

म मेरो लागि हैन, महासंघलाई ‘रिफर्म’ गर्न उठेको हुँ : सौरभ ज्योतिको अन्तर्वाता

म मेरो लागि हैन, महासंघलाई ‘रिफर्म’ गर्न उठेको हुँ : सौरभ ज्योतिको अन्तर्वाता



लामो समयपछि हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा यतिवेला चुनावी सरगर्मी बढेको छ । महासंघको यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने निर्वाचनमा दुबै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघको आसन्न निर्वाचनको तयारी, चुनावी रणनीति तथा चुनावी एजेण्डाको विषयमा केन्द्रित रहेर एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार ः

laxmi

यतिबेला नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी व्यापक बढेको छ । तयारी कस्तो हुँदैछ ?

यो तयारी अहिलेको होइन । तीन बर्षअघिदेखि नै मैले एसोसिएट्स तर्फतको उपाध्यक्ष पदका लागि तयारी गर्दै आएको छु । यसअघिको निर्वाचनमा पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । तर त्यतिबेला महासंघमा व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ भनेर चन्द्रप्रसाद ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थिए । महासंघमा काम गर्न टिम वर्क चाहिन्छ भनेर टिमको सल्लाह अनुरुप नै चन्द्र ढकाललाई उपाध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित गराएका थियौं । त्यसलगत्तै मैले उपाध्यक्ष पदका लागि तयारी गरें । त्यसमा दुई प्रकारका काम गरे । जसमध्ये एउटा महासंघभित्रै आफ्नो पदीय जिम्मेवारी अनुसार काम गर्ने । अर्को भनेको निर्वाचनलाई लक्षित गर्दै सम्बन्ध विस्तार तथा क्याम्पेनिङ । तर महासंघको नेतृत्वमा आउन काम नै महत्वपूर्ण हुन्छ । निजीक्षेत्र वा महासंघको सदस्यको हकहितका लागि जति काम गर्नुहुन्छ, जति योगदान दिनुहुन्छ, त्यसैको फलस्वरुप पदमा आउने हो ।

अर्को कुरा महासंघमा जति ठूलो पद त्यति नै धेरै योगदान वा सेवा गर्नुपर्ने हुन्छ । महासंघमा रहेर मैले विगत १२ बर्षदेखि व्यवसायीक हकहितका लागि काम गर्दै आएको छु । महासंघको चार कार्यकालमा प्रोडक्टिभिटी क्वालिटी कमिटि, एफएनसीसीआई नेशनल एक्सेलेन्सी अवार्ड, कर राजस्व समिति र बैंक फाइनान्स र इन्स्योरेन्स समितिको सभापति भएर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेको छु । अहिलेको तीन बर्षे कार्यकालमा बैंकिङ समितिको सभापति भएर व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सफल भएँ । हाम्रै पहलमा बैंकको व्याजदर घटेको छ भने ब्याजमा १० प्रतिशत छुट दिइएको छ । सीसीडीमा छुट दिईएको छ, पुनर्कर्जामा ५ गुणा बढाइएको छ । यो हामीले गरेको कामको उपलब्धी हो । महासंघमा गएर भविष्यमा यो गर्छु त्यो गर्छु भन्दा पनि अहिले के कति योगदान दिएको छ, त्यसको मूल्याङ्कन हुनुपर्छ ।

अबको अध्यक्ष शेखर गोल्छाले नेतृत्व गरेको हाम्रो टीमको १० बर्षे इकोनोमिक रोडम्याप नभएको होइन तर त्यो भन्दापनि महत्वपूर्ण १२ बर्षको अवधिमा महासंघ भित्र रहेर जे जति काम गरें त्यसैको मूल्याङ्कनको आधारमा मलाई नेतृत्वमा ल्याउन सबै साथीहरुलाई आग्रह गरेको छु ।

अघिल्लो निर्वाचनमा अन्तिममा चुनावी दौडबाट बाहिरिनु भयो । यसपटक त त्यस्तो हुँदैन नि ?

अवश्य पनि हुँदैन । त्यसमा कुनै सम्भावना छैन । किनकी म महासंघमा आफ्नो लागि उठिरहेको छैन । महासंघको शुद्धिकरण र सुदृढीकरण गर्ने सोंच र सिद्धान्त अनुरुप सम्पूर्ण निजी क्षेत्र तथा टिमलाई बोकेर हिडेको छु । त्यसैले अब यो सौरभ ज्योतिको कुरा होइन । हाम्रो टीम र प्यानलको आशा र आकांक्षा बोकेर परिवर्तन ल्याउन चुनावी अभियानमा लागेका छौं । अर्को कुरा महासंघ भनेको राजनीतिक संस्था होइन व्यवसायीक संस्था हो । यस्तो संस्थालाई रिफर्म गरेर नतिजामुखी बनाई अर्थतन्त्र जोगाउन मैले आफ्नो उम्मेदवारी दिएको छु ।

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको निवार्चनमा यहाँले एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । एसोसिएट सदस्यले तपाइलाई के का लागि भोट दिने ?

आधार भनेको सबैभन्दा बढी योग्य व्यक्ति को भन्ने हो । म जुन पदमा चुनाव उठ्दै छु त्यो पदमा बसेर एसोसिएट्स सदस्यहरुको हकहितको लागि काम गर्न सक्छु र यसभन्दा अघि पनि गर्दै आएको छु । पदमा पुगेर कुरा मात्रै गर्ने होइन काम गर्न सक्ने व्यक्ति चाहिन्छ । यदि त्यो पदका लागि म भन्दा कुनै योग्य व्यक्ति हुनुहुन्छ भने म आजै आफ्नो उम्मेदवारी फिर्ता लिन तयार छु । पदमा रहेर काम गर्न सबैभन्दा राम्रो व्यक्ति र टिम हुनुपर्छ । मेरो नेतृत्वमा जुन् १९ जना सदस्यहरु हुनुहुन्छ, उहाँहरु सबै क्षेत्रमा नेतृत्व गरेको अनुभवी व्यक्ति हुनुहुन्छ ।

तपाई नै महासंघमा ४ कार्यकाल बिताईसक्नु भयो । तर जहिले पनि चुनावको समयमा मात्रै सचिवालय शुदृढीकरणको विषय उठ्छ तर ती बर्षे कार्यकालभर केही हुँदैन किन ?

तीन बर्षे कार्यकाल भनेको एकदमै छोटो समय हो । नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिर्वतन भैरहेका छन् । नीतिगत परिवर्तन आउने वित्तिकै हामी निजी क्षेत्र अप्ठ्यारोमा पर्छौं । स्थायीत्व हुँदैन । त्यसैले तीन कार्यकालसम्म एउटै एजेण्डामा काम गर्न हामीले १० बर्षे रणनीति ल्याएका हौं । महासंघको एउटै एजेण्डा व्यवसायीक हकहित नै हो । अध्यक्ष पिच्छे फरक एजेण्डा हुनुहुँदैन । अल्पकालिन नभई दिर्घकालीन स्थायी आर्थिक वृद्धिका लागि हामीले काम गर्दैछौं । देशको अर्थतन्त्रमा साना मझौला उद्योगको पनि ठूलो योगदान छ । तसर्थ सबै क्षेत्रको समानान्तर विकासका लागि हाम्रो टीमले काम गर्नेछ । अर्को कुरा हामी निजी क्षेत्रप्रति समाज र राष्ट्रको पनि विकास गर्नुपर्ने दायित्व छ । जुन कुरा हामीले गरेर देखाउनेछौं ।

चुनावमा स्पष्ट प्यानल देखिएको अवस्था छ । निजी क्षेत्रका एजेन्डा स्थापित गराउन र सदस्यहरुको समस्या सम्बोधन गर्न १० बर्षे रणनीति भनौं वा तपाईहरुको समुहको रणनीति र योजना के हो ?

सबैभन्दा पहिला निजी क्षेत्रका समस्या के हुन् त्यो बुझ्न जरुरी छ । व्यवसायीका समस्या बुझ्नकै लागि पनि सबैसँग सहजरुपमा भेट हुनु जरुरी छ । महासंघमा चुनाव आउँदा धेरै ठूला कुरा हुन्छन् तर चुनाव सकिएपछि सल्लाह तथा सहकार्य हुँदैन । हामीले एसोसिएट्स सदस्यको समाधानका लागि हरेक तीन महिनामा एक पटक गरी बर्षमा चार पटक ९२६ जना सदस्यहरुबीच भेला गराएर समस्याहरु उजागर गर्नेछौं । समस्याको पहिचान गरी सम्बोधन गराउन सरकारसँग नीतिगत रुपमा पहल गर्नेछौं । महासंघको मुटु भनेकै रोजगारदाता परिषद् हो जसले श्रम ऐनमा काम गर्छ । श्रम ऐनकै कारण सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सम्बन्ध मजबुद बनाउने हो । जसले विश्वसनीयता बढाउनुका साथै सम्बन्ध पनि विस्तार हुनेछ । देशमा आन्तरिक तथा बाह्य लगानी भित्रने भनेकै श्रम ऐन हेरेर हो । तसर्थ रोजगारदाता र श्रमिकहरुलाई ‘विन–विन’ अवस्थामा राख्ने गरी श्रम ऐनमा काम गर्नेछौं । हामीकहाँ प्रडक्टिभ इफिसेन्ट वर्कफोर्स बनाउनु जरुरी छ । यदि यसो गर्न सकिए औद्योगिकरण हुन्छ । जसले रोजगारी सिर्जना भई राज्यलाई राजस्व बढ्नुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुनेछौं ।

चुनावी मिति नजिकिसक्यो तर पूर्व अध्यक्षहरुले समझदारीको कुरा गरिरहनु भएको छ । के अब त्यो सम्भव छ ?

असम्भव भनेको केही पनि हुँदैन । अन्तिम अवस्थासम्म सहमतिको प्रयास जारी नै रहनेछ । हामी उम्मेदवारहरु चुनावी मैदानमा उत्रिसकेका छौं । तर त्यस्तो सहमतिको प्रयास भनेको न्यूट्रल पक्ष जो हाम्रो अग्रज, अभिभावक हुनुहुन्छ महासंघका पूर्व अध्यक्षहरु । उहाँहरुले नै गर्ने हो । अन्तिम अवस्थासम्ममा पनि सर्वसम्मतिबाट नेतृत्व चयन गर्न सकियो भने सकारात्मक सन्देश जानेछ भने कोभिडबाट ग्रसित अर्थतन्त्र उकास्नका लागि पनि एकढिक्का भएर काम गर्न सकिन्छ । तर सहमति नै नभएपनि महासंघजस्तो संस्थामा प्रजातान्त्रिक पद्दतिबाट नेतृत्व चयन गर्नु नराम्रो विषय होइन । त्यसरी छनौट भएर आएको व्यक्ति उपयुक्त र सबैभन्दा सक्षम हुनेछ । जसले उपाध्यक्ष पदलाई न्याय दिलाएर व्यवसायीक हकहितका लागि काम गर्नसक्नेछ ।

महासंघमा एसोसिएट्सतर्फको निर्वाचनमा सधैं ‘प्रोक्सी वार’ हुँदै आएको छ । यसपटक प्रोक्सीमा कत्तिको बलियो भएर बस्नुभएको छ ?

यसलाई प्रोक्सी नभनौं । प्रोक्सी भन्ने बित्तिकै हामीले एकदमै खराबै काम गर्यौ कि जस्तो देखिन्छ । यो चुनावी मैदानमा उत्रिएका साथीहरुलाई विश्वास गरेर दिइएको मताधिकार हो । यस्ता मतदाताप्रति हाम्रो जिम्मेवारी अझै बढी हुन्छ । तर पछिल्लो समय प्रोक्सी प्रणाली घट्दै पनि गैरहेको छ । अहिले पब्लिक कम्पनीहरुले अन्य व्यक्तिलाई मताधिकार दिन मिल्दैन । निजी कम्पनीहरुले दिइरहेका छन् ।

पछिल्लो समय महासङ्घको भुमिका विगतको तुलनामा खुम्चिएको भन्ने आरोप पनि सुनिन्छ । यस्तो आरोप चिर्नलाई तपाइसहितको समुहले कसरी काम गर्नुहुन्छ ?

महासंघ भनेको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो । यसको भुमिका खुम्चिएको होइन खुम्च्याइएको हो । महासंघमा भएका व्यक्तिहरुले आन्तरिक रुपमा राजनीति बढी गर्दा समस्या सिर्जना भएको हो । निजी क्षेत्रको प्रवद्र्धनका लागि नीति नियममा ध्यान दिएर काम नगर्दा यो समस्या आएको हो । त्यसैले राजनीतिभन्दा बाहिर रहेर काम गर्दै यो टिमले महासंघको गरिमा उचो बनाउनेमा विश्वस्त छौं ।

कोभिडले सिर्जना गरेको महामारीसंगै बल्झिदो आर्थिक सङ्कटबीच हुन गइरहेको यो निर्वाचनबाट समग्र निजी क्षेत्रले के अपेक्षा गर्न सक्छ ?

कोभिडका कारण नेपालमा एकदमै विषम परिस्थिती सिर्जना भएको छ । जसका कारण अर्थतन्त्र समग्र रुपमा धराशायी भएको छ । अपवादमा १÷२ ओटा क्षेत्र केही धानिएका होलान । तसर्थ अहिलेको मुद्दा अर्थतन्त्र कसरी जोगाउने भन्ने नै हो । हाम्रो टिमले १० बर्षे इकोनोमिक रोडम्याप लिएर अघि बढेको छ । तर कोभिडग्रस्त अर्थतन्त्रलाई दुई बर्षभित्र भी कर्भ रिकोभरीमा उकास्न हामी लागि परेका छौं । तर त्यसका लागि नीतिगत सुधार हुनुपर्छ, देशमा लगानीको वातावरण हुनुपर्यो, उद्यमशिलताको विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्छ । त्यसका लागि जहाँजहाँ नीतिगत सुधार आवश्यक छ, त्यसका लागि सरकारलाई आवश्यक सरसल्लाह दिनेछौं ।

जब नीतिगत सुधार आउँछ तब मात्रै लगानीको वातावरण बन्नेछ । लगानी भित्र्याउन प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गर्नुपनि जरुरी छ । त्यससँगै दक्ष जनशक्तिको पनि आवश्यकता छ । तसर्थ यी सबै विषय समेटेर १० बर्षे रोडम्याप बनाएका छौं । जसले समृद्ध नेपालको सपना साकार पार्न सकोस ।

हामीले सबै क्षेत्रलाई डिजिटल्ली अगाडि बढाउनु पर्ने छ । अर्को कुरा महासंघलाई बलियो बनाउन सोही अनुरुप सचिवालयलाई पनि प्रभावकारी बनाउनु जरुरी छ । हरेक निकायमा महासंघको तर्फबाट सल्लाह सुझाव दिन वा प्रस्तुती गर्न सचिवालयमा विज्ञ राखेर डाटा सेन्टर बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL