Logo

अब केही वर्षमा नेपालमा पनि ‘बुलेट ट्रेन’ चल्छ

अब केही वर्षमा नेपालमा पनि ‘बुलेट ट्रेन’ चल्छ



पछिल्लो समय नेपालमा रेलको बारेमा निकै चर्चा भइरहेको छ । वर्तमान सरकारले रेल यातायातलाई प्राथमितामा राखेर काम अघि बढाएसँगै नेपालमा रेलको चर्चा पनि चुलिएको छ । अझ वर्षौदेखि बन्द रहेको जनकपुर–जयनगर रेल सेवा पुनः शुरु हुने भएसँगै नेपाली जनमानसमा रेलको विषयले स्थान पाएको छ । अझ पूर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौं रेल, काठमाडौंमा मेट्रो, मोनो रेल बन्नेजस्ता चर्चाका कारण पनि रेल यातायात नेपालमा बहसको विषय बनिरहेको छ । सरकारले यसै वर्ष वर्षौदेखि यत्तिकै रहेको रेलवे कानूनसमेत संसोधन गर्दै छ । अहिले नै मूर्तरुप नलिएको भएपनि नेपालमा रेल सेवा शुरु हुने चर्चासँगै जनतामा पनि एक किसिमको उत्साह छाएको छ । यसै सन्दर्भमा नेपालमा रेल यातायातको विकास, सम्भावना, अवसर र चुनौतीहरुबारे रेल विभागका महानिर्देशक बलराम मिश्रसँग बिजखबर डटकमका लागि राङडोल लामाले गरेको कुराकानीको सारसंक्षेप :

laxmi

अहिले जताततै रेलको चर्चा छ, चर्चामात्रै हो कि नेपालीका लागि रेल चढने अवस्था बन्न लागेको हो ?

हो, पछिल्लो समय रेलको बारेमा नेपालमा विभिन्न ढंगले चर्चाहरु भइरहेका छन् । अहिले चर्चा धेरै नै चलिरहेको छ । चर्चामात्रै नभएर त्यसलाई वास्तविकतामा ल्याउनकै लागि रेल बिभाग गठन भएको हो । अब केही दिन भित्रै हामी नेपालीको रेल चढ्ने सपना पुरा गर्दैछौं । यसमा कुनै दुईमत छैन । रेल निर्माण सम्पन्न भईसकेको छ, रेल गुड्ने लिक तयार भईसकेको छ, रेल खरिदसमेत भईसकेको छ । अहिले आएर हामीले कर्मचारीको ब्यवस्थापन गर्दैछौं र निकट भविष्यमा नै नेपालीको रेल चढ्ने सपना पुरा हुँदैछ, यसमा कुनै शंका गर्नुपर्ने अवस्था छैन । केही वर्षमा नेपाल पनि रेल चल्ने देशको रुपमा चिनिन्छ ।

नेपालमा रेल पूर्वाधार विकासकोे अवस्था कस्तो छ ?

अहिले बिभिन्न मोडलमा काम भईरहेको छ । कतिपय स्थानमा अध्ययन भईरहेको पनि छ, कतै काम अघि बढिसकेको अवस्था छ भने कतै द्धिपक्षीय, बहुपक्षीय सम्झौता गर्दै कुरा अघि बढिरहेको छ । जस्तो हाम्रो मुख्य आयोजना भनेको पूर्वपश्चिम विद्युतिय रेलमार्ग हो । यो परियोजनाको डीपिआरको काम सबै सम्पन्न भईसकेको छ । भने केही खण्डमा हामीले कामसमेत सुरु गरिसकेको अवस्था छ । अहिले बर्दिबासदेखि सिमरा खण्डको काम भईरहेको छ भने पूर्वको काँकडभिट्टादेखि ईनरुवा खण्डको पनि केही दिनभित्रै काम सुरु गर्ने तयारी भइरहेको छ । निकुञ्जको कारणले रोकिएको डीपिआरको काम पनि सुरु भएको छ । निजगढदेखि तम्सुरियासम्मको डीपिआर सुरु गरिसकेका छौं । त्यस्तै भारत सरकारसँग ५ ओटा बोर्डर क्षेत्रमा रेललाईन बनाउने सम्झौता भईसकेको छ । दुई ठाउँमा भने उक्त रेलमार्ग निर्माण भईसकेको छ । काठमाडौं रक्सौलको कामसमेत अघि बढिसकेको छ । यसको केही दिनभित्रै डीपिआर निर्माणको लागि तयारी भईरहेको छ ।

यस्तै काठमाडौं–केरुङको काम अघि बढ्ने क्रममा रहेको छ । तर, यो चीनको वुहानमा आएको कोरोना भाईरसले गर्दा अलिकति ढिला भईरहेको हामीले महसुस गरेका छौं । किनभने अहिले उनीहरुको समस्या त्यसतै छ । र अर्को केहो भने हामीले काठमाडौं मेट्रोको पनि केही ठाउँहरुमा अध्ययनको काम सुरु गरिसकेका छौं । काठमाडौं–पोखरा, पोखरा–लुम्बिनीको समेत एक चरणको अध्ययनको काम सकिइसकेको छ । हामीले बिभिन्न चरण गरेर यी कामहरु अगाडि बढाउने काम गरिरहेका छौं । यस्तै काठमाडौं–केरुङको भने हाम्रो दुईपक्षीय सम्झौताअनुसार केही दिन भित्रै काम सुरु हुनुपर्ने थियो । तर अहिले चाईनामा जुन राष्ट्रिय आपत आएको छ त्यसैले गर्दा अहिले नै केही भन्न सक्ने अवस्था छैन । किन भने जबसम्म उनीहरु सामान्य अवस्थामा फर्कन सक्दैनन् तव सम्म केही भन्न सक्ने अवस्था छैन ।

सरकारले पूर्व पश्चिम र उत्तर दक्षिण रेल सञ्जाल विकास गर्ने घोषणा गरेको थियो, यसको काम कसरी अघि बढिरहेको छ ?

मैले माथि नै पनि भनिसकेको छु । जुन बजेट भाषणमा आएको छ त्योसँग सम्बन्धित भएर डीपिआरको काम भईरहेको छ । कतिपय स्थानको डीपिआर सम्पन्न हुने तयारीमा छ भने कतिपय स्थानको भईरहेको छ । डीपिआरको काम सम्पन्न भएर केही खण्डमा निर्माण सुरु भईसकेको छ । र अर्को बजेटमा के आएको थियो भने बजेट ब्यवस्थापन गरेर कँकडभिट्टादेखि ईनरुवासम्मको रेलमार्ग तयार गर्ने भनेर भनेको छ । त्यसको लागि बिभिन्न चरणमा काम अघि बढीसकेको अवस्था रहेको छ ।

काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने भनिएको छ, दुई वर्षभित्र निर्माण कार्य सुरु गर्ने भनिएको यसको काम कसरी अघि बढिरहेको छ ?

यसको लागि पनि केही कामहरु भईरहेको छ । भारततर्फको काम अघि बढाउने तयारीमा छौं भने चीन तर्फको काम अहिले रोकिएको अवस्थामा छ । अघि मैले भनेजस्तै जवसम्म चीन आफैं उठन सक्दैन । तव सम्म चीन तर्फको काम अघि बढाउन सकिँदैन । काठमाडौं भारतको भने केही दिन भित्रै डीपिआर निर्माणको लागि तयारी भईरहेको छ ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, वुटवल र कोहलपुर जोड्ने रेलवे लाईनको निर्माण कार्य अगाडि बढाउने योजना थियो केही काम भएको छ कि ?

सबैको डीपिआर भईसकेको छ । जस्तो अहिले ईनरुवावाला खण्डमा आईपुग्दा त्यो पनि सँगसँगै काम सुरु हुन्छ । लुम्बिनीको भैरहवा बुटवल, नेपालगञ्ज कोहलपुरको काम पनि सुरु गर्ने तयारी भइरहेको छ ।

जनकपुर–जयनगर रेलसेवा कहिलेदेखि सुरु हुन्छ ?

जनकपुर–जयनगर रेलसेवाको सम्पूर्ण तयारी भईसकेको छ । तर कहिलेदेखि संचालनमा ल्याउने भनेर यसै भन्न सकिँदैन । किनभने मैले तपाईलाई यो दिनदेखि संचालनमा ल्याउँछु भनेर भनौंला । भोलि त्यो दिनमा संचालनमा भएन भने म त बदनाम हुने भए नि त्यसैले यही मिति भनेर तोक्ने काम हुँदैन । तर, संचालनको लागि हामी तयारी अवस्थामा छौं र यही आर्थिक बर्षभित्रै संचालन हुन्छ । सम्भवत बैशाख भन्दा अगाडि नै उक्त रेलमार्गमा रेल गुड्नेछ ।

संसार बुलेट ट्रेनमा गइसक्यौं, हामी भने ब्रोडगेज रेल सञ्चालनको तयारी गर्दैछौं, अलि अस्वभाविक भएन र ?

होईन हामी ब्रोडगेज रेल संचालन गर्ने भनेको भारतसँग जोडिएका सीमाहरुमा मात्रै हो । अरु हाम्रो पूर्वपश्चिम विद्युतीय रेलमार्गमा संचालन हुने भनेको बुलेट ट्रेन नै हो । त्यो २ सय किलो मिटर प्रति घण्टा गुड्ने बुलेट ट्रेन हो । बोर्डरमा मात्रै हामीले ब्रोडगेज रेल संचालन गर्ने हो । किन भने उसँग जे छ त्यो दिने हो । अहिले उनीहरुसँग अनुदानमा दिने भनेर जुन सम्झौता भएको छ । त्यसअुनसार ब्रोडगेज बनाएको हो किनभने उसँग अरु टेक्नोलोजी नभएपछि अरु विकल्प पनि त छैन नि । बाँकी अन्य क्षेत्रमा जे जति माथि नाम लिएको छु मैले ति सबैमा गुडने भनेको बुलेट ट्रेन नै हो यसमा कुनै दुईमत छैन ।

निजी क्षेत्रको लगानी सहभागितामा काठमाडौं उपत्यका तथा अन्य शहरहरुमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने कुरा थियो, यसमा विभागले के गरिरहेको छ ?

नीजि क्षेत्रको मलाई थाहा छैन । हामीले वा रेल बिभागले ४/५ खण्डको भने पूर्व सम्भाव्यता अध्ययन सकाएका छौं । त्यसमध्ये अहिले दुई खण्डको भने डीपिआरको लागि काम अगाडि बढाएका छौं । एउटा नागढुंगा–सिन्धुली गेट हो । जुन हाम्रै प्रतिवेदनका आधारमा नागरिक लगानी बोर्डले काम गरिरहेको छ । अर्को बुढानीलकण्ठदेखि चोभारसम्मको पनि अध्ययनको काम भइरहेको छ ।

निकै चर्चामा रहेको काठमाडौं–केरुङ रेलमार्ग निर्माण होला भन्ने लाग्छ, यहाँलाई ?

मैले जानेको के हो भने यसमा दुईओटा कुरा म भन्छु । जति पनि विकसित देश छन । चाहे त्यो ठूला होस या सानो किन नहोस । त्यसमा रेलको राम्रो नेटवर्क छ । अर्को ठूला देशहरु जापान, चीन जस्ले छिटो बिकास गरेका छन । हामीले के कुरा बुभ्mन आवश्यक छ भने देशको बिकास रेलबिना सम्भव छैन । यो भन्दा बढी मैले केही भनिन् ।

रेलका लागि लगानी बढी र प्रतिफल कम हुने हुनाले नेपालले धान्न सक्दैन भन्ने पनि सुनिन्छ, वास्तविकता के हो ?

यस्ता कुराहरु सबै क्षेत्रमा सुनिन्छ । शिक्षामा त्यत्रो लगानी भइरहेको छ, नगर्ने ? सडकमा बढी छ, त्यो पनि नगर्ने ? सडक पूर्वाधारमा अहिले यत्रो ठूलो लगानी भइरहेको छ, अब हामीले लगानी नगर्ने ? ईरिगेशनमा त्यत्रो लगानी छ नगर्ने ? यसले कस्तो नतिजा देखाएको छ कसैले खोजेर हेर्ने गरेको छैन । त्यो अध्ययन गरौं । सबै क्षेत्रमा गरेको लगानीले देशका लागि प्रतिफल दिइरहेको हुन्छ । त्यसैले रेलको प्रत्यक्ष लगानी भनेको सीधै औद्योगिकीकरणतर्फकोे हो । देशको विकास गर्ने हो भने रेल यातायातमा लगानी नगरि सुखै छैन् र हाम्रो नेपालले यसमा लगानी गर्न सम्भव छ ।

रेलका लागि आवश्यक जनशक्ति कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

रेलको लागि चाहिने जति जनशक्ति व्यवस्थापनको लागि अहिले हामी काम गरिरहेका छौं । सिभिल ईन्जिनियरिङ, मेकानिकल, ईलेक्ट्रिकल ईन्जिनियरिङ सबैको कम्बिनेशन हामीलाई चाहिन्छ । र्ईन्जिनियरहरुले तालिम प्राप्त गरेर रेलमा काम गर्न जाने हो । रेल विधामा मास्र्टस गर्ने हो र पछि रेलमा जाने हो । अव अहिले त्यो सबै मेनपावर हामीकहाँ छैन । अब यसमा उच्च अध्ययन गराउनुपर्छ । हामीसँग नभएको खण्डमा विदेशी भए पनि केही दिन लिएर काम चलाउनु पर्यो, अहिले हामी त्यही मोडलमा जाने तयारी गर्दै छौं । अहिले हामीले रेल संचालन गर्नका लागि नेपालमा दक्ष जनशक्ति नभएका कारणले २६ जना विदेशी मगाएका छौं । जुन मन्त्रिपरिषदबाटै निर्णय भएर हामीले सूचना निकालेको हो ।

जसमा दक्ष नेपाली कामदार आए ठिकै छ । नत्र विदेशी कामदार राखेर भए पनि रेल त संचालन गर्नै पर्यो । हामीले ती विदेशी कामदारमार्फत नेपालीलाई तालिम दिने हो । तर, यति दिन भनेर हुँदैन । किन भने कुनै तालिमहरु लामो पनि हुन्छ, कुनै छोटो तालिम हुन्छ । त्यो सबै तालिमको लागि हामीले भारत या चीनमा निर्भर हुनुपर्ने हुन्छ । दुईआटै देशले हाम्रा कर्मचारीलाई तालिम दिन तदारुकता देखाउनु भएको छ । हाम्रै दक्ष जनशक्ति तयार हुन धेरै समय भने नलाग्ने अपेक्षा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL