Logo

अमेरिकाको टेक्सास बाढी : मृत्तकको संख्या ७८ पुग्यो, ४१ बेपत्ता

अमेरिकाको टेक्सास बाढी : मृत्तकको संख्या ७८ पुग्यो, ४१ बेपत्ता



काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा शुक्रबार आएको भीषण बाढीका कारण कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन् । यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर (क्याम्प) बाढीले डुबेको थियो । क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन् ।

अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्ने निश्चित रहेको बताएका छन् । आगामी २४–४८ घण्टामा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना छ, जसले उद्धार कार्यमा बाधा पुर्‍याउन सक्छ । उद्धार टोलीहरूले हिलो र भग्नावशेषमा हराएका मानिसहरूको खोजी गर्दा विषालु सर्पहरूको पनि सामना गरिरहेका छन् ।

बाढी आएको तीन दिनपछि, टेक्सासको हालको इतिहासमा सबैभन्दा ठूलो खोजी तथा उद्धार प्रयास अब शव संकलन अभियानमा परिणत हुँदैछ । केअर काउन्टीमा फेला परेकामध्ये १८ वयस्क र १० बालबालिकाको अझै औपचारिक रूपमा पहिचान हुन बाँकी छ । टेक्सासका गभर्नर ग्रेग एबोटले आइतबार अधिकारीहरूले हरेक बेपत्ता व्यक्तिलाई फेला पार्न ‘कुनै कसर नछोड्ने’ बताएका छन् ।

खोजको मुख्य केन्द्र ग्वाडालुपे नदीको किनारमा अवस्थित लोकप्रिय ग्रीष्मकालीन बालिका शिविर क्याम्प मिस्टिक रहेको छ, जसले ठूलो क्षति भोगेको छ । यो विपत्ति शुक्रबार बिहान सबेरै भएको थियो जब अधिकांश शिविरार्थीहरू सुतिरहेका बेला नदीको जलस्तर ४५ मिनेटको अवधिमा ८ मिटरसम्म बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्