Logo

बंगलादेशी मुद्राबाट शेख हसिनाका बुबाको तस्बिर हटाइयो

बंगलादेशी मुद्राबाट शेख हसिनाका बुबाको तस्बिर हटाइयो



काठमाडौँ । बंगलादेशको केन्द्रीय बैंकले आइतबार १०००, ५० र २० टाकाका नयाँ नोटहरू जारी गर्‍यो । यी नोटहरूबाट शेख हसिनाका बुबा तथा देशका संस्थापक राष्ट्रपति शेख मुजिबु रहमानको तस्बिर हटाइएको छ ।

यस बाहेक, ५००, २००, १०० र १० टाकाका नयाँ नोटहरू चाँडै जारी गरिनेछ । यस सम्बन्धमा बंगलादेश केन्द्रीय बैंकका प्रवक्ता आरिफ हुसेन खानले नयाँ डिजाइनमा कुनै पनि व्यक्तिको तस्वीर हुनेछैन, नयाँ नोटहरूमा देशका परम्परागत ठाउँहरूलाई स्थान दिइएको बताएको बंगलादेशी मिडियाले उल्लेख गरेका छन् ।

नयाँ नोटहरूमा हिन्दू र बौद्ध मन्दिरहरूको चित्र पनि छापिनेछ । १९७१ मा बंगलादेशको गठन भएदेखि, नोटहरूको डिजाइन पाँच पटक १९७२, १९७०, १९८०-९०, २००० र २०२५ मा परिवर्तन गरिएको छ । २० टाकाको नोटमा दिनाजपुरमा अवस्थित हिन्दू मन्दिर कान्ताजी मन्दिर र पहाडपुर मठको तस्वीर छ । ५० टाकाको नोटमा राजधानी ढाकामा अवस्थित दरबार अहसान मञ्जिल र जैनुल आबेदिनको चित्र छ । त्यस्तै १००० टाकाको नोटमा राष्ट्रिय शहीद स्मारक र जातीय संसद भवनको तस्वीर छ । तीनवटैमा रोयल बंगाल टाइगर वाटरमार्क छ र बैंकको मोनोग्राम रहेको छ ।

बंगलादेशी मिडियाका अनुसार, यो राजनीतिक उथलपुथलसँग जोडिएको छ । बंगलादेशको मुद्राको इतिहास समय-समयमा सत्तारुढ दलहरूबाट प्रभावित भएको छ ।

जब बंगलादेशले १९७२ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्यो, प्रारम्भिक नोटहरूमा भौगोलिक र सांस्कृतिक छविहरू थिए । पछि, शेख मुजीबुर रहमानको तस्बिरहरू नोटहरूमा समावेश गरिएको थियो, विशेष गरी जब उनको अवामी लिग पार्टी सत्तामा थियो । नयाँ मुद्रालाई प्रभाव कम गर्ने दिशामा एक कदमको रूपमा मानिएको छ ।

अगस्ट २०२४ मा बंगलादेशमा भएको विद्रोह पछि, शेख मुजिबुराहमानसँग सम्बन्धित प्रतीकहरूमा निरन्तर आक्रमण भएको थियो । ढाकामा उनको प्रतिमा तोडफोड गरिएको थियो र धेरै सार्वजनिक स्थानहरूमा जडान गरिएका नाम प्लेटहरू पनि हटाइएका थिए ।

अन्तरिम सरकारले स्वतन्त्रता र स्थापना दिवसहरूसँग सम्बन्धित ८ सरकारी बिदाहरू पनि रद्द गरेको थियो । शेख मुजिबुराहमान बंगलादेशका पहिलो राष्ट्रपति थिए । उनी १७ अप्रिल १९७१ देखि १५ अगस्ट १९७५ सम्म देशका प्रधानमन्त्री पनि थिए ।

पूर्व प्रधानमन्त्री शेख हसिनाका बुबा मुजिबु राहमानले पनि पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्रता दिलाउन ठूलो भूमिका खेलेका थिए । १५ अगस्ट १९७५ मा शेख मुजिबुराहमानको उनको घरमा हत्या गरिएको थियो ।

पूर्व बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधको आरोपमा मुद्दा सुरु भएको छ । यी आरोपहरू औपचारिक रूपमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा दर्ता भएका थिए । मुख्य अभियोजक ताजुल इस्लामले न्यायाधिकरणमा यी आरोपहरू दर्ता गरिसकेका छन् । यसमा, जुलाई २०२४ मा आन्दोलनको क्रममा मानवता विरुद्धको अपराधको पाँच आरोप लगाइएको थियो । रिपोर्ट अनुसार, आन्दोलनको क्रममा १५०० भन्दा बढी मानिसहरू मारिएका थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए । गतबर्षको जुन ५ मा, बंगलादेशको उच्च अदालतले जागिरमा ३०% कोटा प्रणाली लागू गरेपछि विद्यार्थी आन्दोलनले हसिनासरकारलाई अपदस्थ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्