काठमाडौं । सरकारले बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकको जिम्मेवारी दिइएको हो।
पोखरेल यसअघि विशाल बजार कम्पनीको सञ्चालकका रूपमा नियुक्त भएकी थिइन्। बिमा ऐन, २०७९ ले बिमा प्राधिकरणमा अनिवार्य रूपमा एक जना महिला सञ्चालक नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ। तर, यो प्रावधान अहिलेसम्म कार्यान्वयनमा आएको थिएन। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पोखरेललाई सञ्चालकमा नियुक्त गरेसँगै ऐनको यो प्रावधान कार्यान्वयनमा आएको छ।
बिमा ऐन, २०७९ अनुसार, बिमा प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित पाँच सदस्य रहने व्यवस्था छ। अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रूपमा प्रतिनिधित्व गर्छन् भने जीवन बिमा र निर्जीवन बिमा क्षेत्रबाट एकरएक जना गरी दुई जना सञ्चालक नियुक्त गरिनुपर्ने प्रावधान छ। यसैअनुसार, अनिवार्य महिला सञ्चालकको नियुक्तिसँगै प्राधिकरणको सञ्चालक समिति पूर्ण भएको छ।