Logo

५ बर्षको सम्झौता जग खन्नमै वित्यो ४ बर्ष, कहिले बन्ला काठमाडौंको १२ तले टावर ?

५ बर्षको सम्झौता जग खन्नमै वित्यो ४ बर्ष, कहिले बन्ला काठमाडौंको १२ तले टावर ?



काठमाडौं । ५ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि सुरु गरिएको काठमाडौं टावरको काम ४ बर्ष वितिसक्दा पनि जमिनमुनीकै काम सम्पन्न गर्न सकेको छैन । सो टावरको ठेकेदार कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्सले निर्माण सुरु गरेको १२ तले उक्त टावरको कामले गति लिन नसक्दा काठमाडौं टावरको काम अघि बढ्न सकेको छैन ।

laxmi

२०७२ सालमा निर्माण सम्झौता भएर २०७३ बाट निर्माण सुरु गरेको कम्पनीले ४ बर्षको समयअवधिमा भुँईतलाको काम मात्रै अघि बढाएको छ । काठमाडौं महानगरपालिकाले ८ महिना अघि सो टावर निर्माणमा के कारणले ढिलाई भएको हो त्यसको प्रतिवेदन बुझाउन कन्सलटेन्सी नियुक्त गर्ने निर्णय गरेको थियो । ठेकेदार कम्पनी र महानगरबीच भएको सम्झौता अनुसार दुबै पक्षको एकएकजना रहने गरि कन्सलटेन्सी नियुक्त गर्ने निर्णय भएको थियो । तर हालसम्म सो सम्बन्धमा कुनै पनि काम अघि नबढेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएका छन ।

तर महानगरले नै चासो नलिएको कारण उक्त टावरको काम अघि बढ्न नसकेको महानगरकै एक अधिकारीले बताए । उनले भने, ‘महानगर र ठेकेदारबीच केही तालमेल मिलेको हुनु पर्छ, के गर्ने हामीले बोल्न मिल्दैन,’ उक्त अधिकारीले भने, ‘निर्माण सम्झौता सकिन अब १ बर्षमात्रै बाँकी छ अहिले सम्म कामको गति साह्रै न्युन छ ।’

ठेकेदारलाई कारवाही समेत गर्न सक्ने अवस्थामा महानगर नरहेको एक कर्मचारीले जानकारी दिए । ‘अझै ठकेदारको एक बर्षको समय रहेको छ । अहिलेनै हामीले कारवाही अगाडी बढाए बिभिन्न मुद्दामामिलामा पर्न सकिन्छ,’ उनले भने, ‘जसले गर्दा महानगरले कुनै कारवाहीको प्रकृया अगाडी बढाउन सकेको छैन ।’

२०७३ देखि निर्माण सुरु गरेको भए पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाई गरेकाले निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएको छ । २०७२ सालमा निर्माणको लागि सम्झौता भए पश्चात नक्सा पास गरेर २०७३ बाट टावर निर्माण सुरु गरिएको थियो । सुरुमा २९ तले बनाउने बताए पनि २०७२ को भुकम्पपछि १२ तलेको मात्रै नक्सा स्वीकृत भएकाले सोही अनुरुप टावर निर्माण अघि बढाइएको थियो । उक्त १२ तले निर्माण सम्पन्न भए पछि मात्रै २९ तले बनाउने काठमाडौं महानगरपालिकाको योजना रहेको छ ।

२०७७ मा निर्माण सम्पन्न गर्नु पर्ने उक्त टावरको निर्माण लागत भने ४ अर्ब रुपैयाँ रहेको छ । तर निर्माणमा ढिलाई भएसँगै लागत बढेर ६ अर्ब रुपैयाँ पुग्ने महानगरको अनुमान रहेको छ । १२ तले उक्त टावरको ग्राउन्ड फ्लोरमा अरनिको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL