Logo

ग्वार्को ओभरपास सञ्चालनमा : निर्माणमा चार वर्ष ढिलाइ, लागत १४ करोडले बढ्यो

ग्वार्को ओभरपास सञ्चालनमा : निर्माणमा चार वर्ष ढिलाइ, लागत १४ करोडले बढ्यो



काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास अब औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काट्दै ओभरपासको उद्घाटन गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनलगत्तै ओभरपास सवारी आवागमनका लागि खुला गरिएको छ। सुरुमा १२ फागुन २०७८ मा ठेक्का सम्झौता गरिएको यो परियोजना चार वर्षभन्दा बढी समय लागेर सम्पन्न भएको हो।

निर्माण कार्य तोकिएको म्यादमा सम्पन्न नभएपछि लागतमा समेत उल्लेख्य वृद्धि भएको छ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार सुरुमा करिब १७ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भएको थियो। तर, पुनः म्याद थप र निर्माणमा देखिएको ढिलाइका कारण अन्तिम लागत ३१ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यो परियोजनाको म्याद दुईपटक थपिएको थियो। पहिलोपटक २०८१ सालको असार महिनासम्म म्याद थप गरिए पनि निर्माण कार्य समयमै सम्पन्न हुन सकेन। त्यसपछि फेरि म्याद थप गरी २०८१ पुस ८ गतेसम्मको समय दिइएको थियो। तर, पुस र माघ महिनामा निर्माण कार्य झन्डै एक महिनासम्म ठप्प हुँदा पुनः ढिलाइ भयो। निर्माण सम्पन्न नगरेको कारण ठेकेदार कम्पनीलाई करिब १ करोड ४७ लाख रुपैयाँ हर्जाना पनि तिराइएको थियो।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहितको चार लेनको पुल निर्माण गरिएको छ। साथै, बालकुमारी र सातदोबाटोबाट जोडिने गरी झण्डै ५ सय मिटर लामो अप्रोच सडक र र्याम बनाइएको छ। चक्रपथको बीचमा रहेको चार लेन सडकलाई उचालेर माथिल्लो सतहमा ओभरपास निर्माण गरिएको हो, जसले मुनिबाट मंगलबजार–इमाडोलतर्फ निर्वाध सवारी सञ्चालन सुनिश्चित गर्नेछ।

ओभरपास सञ्चालनमा आएपछि सो क्षेत्रमा देखिँदै आएको ट्राफिक जाम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्