Logo

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा



काठमाडौं । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो ।

जाजरकोटबाट डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर सडक भेरी करिडोरभित्र पर्दछ । मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धो सम्माको ६५ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने काम भइसकेको छ । दुनै–ल्यासिक्याप सडक २० किलोमिटर लामो छ ।

डोल्पा सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत भइरहेको छ । सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन यस पटक गरेको प्रमुख कर्णले जानकारी दिए । दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो ।

विसं २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कूल लागत रु १३ करोड ४१ लाख रहेको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति विल्ड्रसले काम गरिरहेको छ ।

कर्णाली प्रदेश हुँदै लम्बिनी प्रदेशको नेपालगञ्ज, जमुनाह नाकासमेत यसले जोड्छ । भेरी करिडोर निर्माण भएमा भारतको रुपेडियाबाट चीनको तिब्बत्सँग यसको सिधा सडक सम्पर्क जोडिने छ । जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख कर्णले बताए ।

दुनैदेखि लासिक्यापसम्मको सडक निर्माण गर्न हिउँदमा अत्यधिक चिसोका कारण मुस्किल हुनेगर्छ । वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्रीदेखि विभिन्न औजारको समस्या हुन्छ । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडका भरमा दैनिक काम हुँदै आएको छ । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी गरिन्छ ।

भेरी करिडोर निर्माण गर्न अत्यधिक लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ पुल निर्माण गर्नुपर्ने अवस्था छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्र गर्न ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म सडक कालोपत्र चाँडै थालिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL