Logo

निर्माण व्यवसायीको धर्ना कार्यक्रम थप सक्रिय, बिहीबारदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने

निर्माण व्यवसायीको धर्ना कार्यक्रम थप सक्रिय, बिहीबारदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि (विहिवार) देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ बजे शुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज (बुधवार) पनि ११ बजेदेखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

आन्दोलनको कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरुले आज पनि आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (विहान ११ देखि १२) धर्ना दिएका छन् । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ ।

कन्स्ट्रक्शन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ । अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL