Logo

इम्बोस्ड नम्बर प्लेट जडानको सरकारी योजना अलपत्र, म्याद सकिन ५ महिना बाँकी हुँदा जम्मा ५३ सय सवारीमा जडान

इम्बोस्ड नम्बर प्लेट जडानको सरकारी योजना अलपत्र, म्याद सकिन ५ महिना बाँकी हुँदा जम्मा ५३ सय सवारीमा जडान



काठमाडौं । सम्झौता गरेको म्याद सकिन ५ महिना बाँकी रहँदा हालसम्म जम्मा ५ हजार ३ सय ५१ सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ र डेकाटुर टाईगर ईन्कर्पोरेटका अध्यक्ष माईकल गोफिनले २०७३ जेठ १६ गते ५ बर्षका लागि उक्त सम्झौता गरेका थिए ।

सम्झौता अनुसार सम्झौताको ५ बर्षभित्र अर्थात आगामी जेठ १७ गतेसम्म नेपालभरीका २५ लाख सवारीसाधनमा अत्याधुनिक ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने थियो । तर सम्झौता भएको ५ बर्ष पुग्न अर्थात सम्झौताको म्याद सकिन जम्मा ५ महिना मात्रै बाँकी हुँदा हालसम्म जम्मा ५ हजार ३ सय सवारीसाधनमा मात्रै यस्तो ईम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानको सरकारी योजना अलपत्र, म्याद सकिन ५ महिना बाँकी हुँदा जम्मा ५३ सय सवारीमा जडान

५ बर्षअघि ४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ साढे ४ अर्ब बढीको उक्त सम्झौताको हालसम्म कार्यप्रगति भने जम्मा २ दशमलव २ प्रतिशतमात्रै छ ।

यसका लागि नेपाल सरकारले अमेरिकी कम्पनी डेकाटुर टाईगरलाई ९२ लाख ८१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी गरिसकेको छ । बाँकी रकम भने कार्यप्रगति भएपछि काम भएअनुसार भुक्तानी गर्नुपर्ने गरी सम्झौता भएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार बुट मोडेलमा उक्त कम्पनीसँग सम्झौता भएकाले उसले ईम्बोस्ड नम्बर प्लेट उपलब्ध गराएपछि मात्रै भुक्तानी गर्नुपर्ने अवस्था छ । तर कम्पनीले हालसम्म विभिन्न झमेलाका कारण काम गर्न नपाएकाले काममा ढिलाई भईरहेको बताउँदै आएको छ ।

किन भयो ढिलाई ?

२०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेका थिए । तर सर्वोच्च अदालतमा त्यसको केहीदिनपछि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै रिट परेको थियो ।

उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अन्तरिम आदेश दिएको थियो ।

गत बर्ष मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो । उक्त रिट खारेजपश्चात गत साउन १ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट जडान पहिलेकै तरिकाले गर्ने भन्दै अनलाई आवेदन मागिएको थियो । साउन १ गतेदेखि अनलाईन आवेदन माग गरेपनि त्यसपश्चात भने कुनै सवारीसाधनमा पनि ईम्बोस्ड नम्बर प्लेट जडान नगरिएको विभागका निर्देशक पौडेल बताउँछन् ।

म्याद थप्ने प्रक्रिया अघि बढ्ला ?

नेपालभरी २५ लाख सवारीसाधनमा जडान गर्नुपर्ने ईम्बोस्ड नम्बर प्लेटको हालसम्मको कार्यप्रगति २ प्रतिशत मात्रै छ । म्याद सकिन ५ महिना बाँकी हुँदा बाँकी सवारीसाधनमा नम्बर प्लेट राख्न नसकिने अवस्था छ । तर हालसम्म पनि अमेरिकी कम्पनी अर्थात नम्बर प्लेट जडान गर्ने कम्पनी डेकाटुर टाईगरको म्याद थप्ने प्रक्रिया भने अघि बढेको छैन ।

इम्बोस्ड नम्बर प्लेट जडानको सरकारी योजना अलपत्र, म्याद सकिन ५ महिना बाँकी हुँदा जम्मा ५३ सय सवारीमा जडान

सम्झौताअनुसार सन २०१६ अक्टोबरसम्म भारी, साना, ठुला, मझौला, २ पांग्रे र ३ पांग्रे गरी ५ लाख ५६ हजार सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हो । यस्तै नोभेम्बर २०१६ देखि अप्रिल २०१७ सम्म ५ लाख ५६ हजार सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हो । यस्तै क्रमशः सोही तालिकाअनुसार आगामी बर्षको मेसम्म २५ लाख सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने थियो तर उक्त कार्यका लागि म्याद अन्तिमसम्म पुगेको छ । कम्पनीको म्याद थप्ने प्रक्रिया भने अघि बढेको छैन ।

हालसम्म कति सवारीसाधनमा जोडियो नम्बर प्लेट ?

हालसम्म यातायात व्यवस्था विभागले सरकारी र निजी गरी ५ हजार ३ सय ५१ ओटा सवारीसाधनमा उक्त नम्बर प्लेट जडान गरेको छ । जसमध्ये ३ सय ८६ ओटा सरकारी सवारीसाधन छन भने ४ हजार ९ सय ६५ ओटा निजी सवारीसाधन रहेका छन् । तर सार्वजनिक सवारीसाधनमा भने हालसम्म पनि उक्त नम्बर प्लेट जडान गरिएको छैन ।

सरकारले उक्त नम्बर प्लेट जडानका लागि ठुलो सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ, मझौला सवारीसाधनका लागि ३ हजार २ सय रुपैयाँ राजस्व तोकेको छ । यस्तै सानो ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय र साना २ पांग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ राजस्व तोकिएको छ । हालसम्म जडान गरिएका सवारीसाधनमार्फत विभागले १ करोड ६९ लाख ३९ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानको सरकारी योजना अलपत्र, म्याद सकिन ५ महिना बाँकी हुँदा जम्मा ५३ सय सवारीमा जडान

उक्त ईम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाईटमा गएर अनलाईन फारम भरी राजस्व तिरेर जडान गर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL