Logo

बन्दका कारण रेमिट्यान्स भुक्तानीमा समस्या

बन्दका कारण रेमिट्यान्स भुक्तानीमा समस्या


रामराजा श्रेष्ठ
54
Shares

रामराजा श्रेष्ठ

१४ असोज, काठमाडौं । तराइमा भइरहेको लामो समयको बन्दले गर्दा रेमिट्यान्स भुक्तानीमा समस्या उत्पन्न भएको छ । तराइ बन्दका कारण विदेशमा कामदारले पठाएको पैसा उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसकिएको नेपाल रेमिट एशोसियशनका सचिव तथा आईएमईका प्रमुख कार्यकारी निर्देशक सुमन पोखरेलले बताए । ‘बन्दका कारण तराइका बैंकहरु खुलेका छैनन्,’ उनले भने, ‘जसले गर्दा सम्बन्धित व्यक्तिलाई समयमै रेमिट्यान्स भुक्तानी दिन सकिएको छैन ।’

रेमिट कम्पनीले ग्राहकलाई रेमिट्यान्स भुक्तानीका लागि एजेण्ट राखेपनि उनीहरुलाई पनि पैसा दिन नसकिएको सम्बद्ध कम्पनीहरुको भनाइ छ । जिल्लाका एजेण्टहरुले काठमाडौंबाट पैसा पठाएपछि सम्बन्धित बैंकबाट झिकेर भुक्तानी दिँदै आएका छन् । तर, हाल बैंक नै नखुलेकाले भुक्तानीमा समस्या आइपरेको पोखरलले जानकारी दिए । ‘काठमाडौं बाटै लैजानका लागि पनि भुक्तानीका लागि करोडौं रुपैयाँ दिनुपर्ने भएकाले सम्भव छैन,’ उनले भने ।

नेपालमा वार्षिक ५ खर्ब रुपैयाँभन्दा रेमिट्यान्स भित्रिदै आएको छ । जसमध्ये ५० प्रतिशत रेमिट्यान्स तराइमा भुक्तानी हुने गरेको छ । हाल कतिपय निजी कम्पनीले भुक्तानी दिएपनि बैंक तथा वित्तीय क्षेत्रबाट हुने भुक्तानीमा भने ठूलो समस्या परेको छ । तराइबाट भुक्तानी नपाएपछि कतिपय तराइका जनताहरु पैसा लिनका लागि काठमाडौं नै आउन वाध्य भएका छन् । विदेशबाट आफन्तले पठाएको पैसा लिन ५ हजार रुपैयाँभन्दा बढी खर्चेर काठमाडौं आएको महोत्तरीका जनम कुशवाहले बताए । ‘बन्दले गर्दा विदेशबाट छोराले पठाएको पैसा गाउँमा लिन सकिएन,’ उनले भने, ‘खान कै लागि समस्या परेकाले पैसा खर्चेर भएपनि काठमाडौं आउनु पर्यो ।’ उनले ५ हजार रुपैयाँ खर्चेर २५ हजार रुपैयाँ भुक्तानी लिएको बताए ।

पछिल्लो समय तराइका जनताको आर्थिक स्रोतको रुपमा रेट्यिान्स रहँदै आएको छ । बन्दले समयमै भुक्तानी दिन नसक्दा उनीहरुलाई खानाको समेत समस्या पर्नेछ । दशै तिहारको समयमा भुक्तानी दिन नसक्दा उनीहरुलाई झनै ठूलो समस्या पर्ने पोखरल बताउँछन् ।

यस्तै, पछिल्लो समय नेपाल भित्र्ने रेमिट्यान्समा पनि गिराट आएको छ । गत वर्ष मलेशियाको रोजगारी जाने कामदारको भिसा लगाउन भिएलएन, स्वास्थ्य परिक्षणका लागि वायोमेट्रिक प्रणालीजस्ता कारणले समग्र वैदेशिक रोजगारीमा नकारात्मक प्रभाव पारेको थियो । त्यस्तै पछिल्लो समय सरकारले ल्याएको जिरो कष्टले व्यवसायीहरु झण्डै १ महिना सडक आन्दोलनमा उत्रिएका थिए । जसले गर्दा नेपाली कामदारहरु वैदेशिक रोजगारीमा जान पाएनन् भने त्यसको प्रत्यक्ष असर देशमा भित्रने रेमिट्यान्समा पर्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL