Logo

पर्यटनमैत्री राष्ट्रमा नेपाल १ सय २ औं स्थानमा

पर्यटनमैत्री राष्ट्रमा नेपाल १ सय २ औं स्थानमा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

१७ साउन,काठमाडौं । पर्यटन प्रवद्र्दनका लागि विभिन्न अभियान सञ्चालन गरिए पनि  पर्यटनमैत्री देशको रुपमा नेपालको स्थान  निकै पछाडी छ । ‘वल्र्ड इकोनोमिक फोरम’ले हालै गरेको एक अध्ययनमा नेपाल १०२औँ स्थानमा आएको छ । फोरमले विश्वका १ सय ४१ देश अध्ययन गरेको थियो । त्यस्तै नेपाल सार्क राष्ट्रको तुलनामा पनि पनि पछाडी नै रहेको सो अध्ययनले देखाएको छ ।

अध्ययनबाट प्राप्त निष्कर्षलाई फोरमले ‘ट्राभल एण्ड टुरिज्म कम्पिटेटिभनेस इण्डेक्स २०१५’ प्रतिवेदन नाम दिएको छ । अध्ययनले स्पेन पर्यटनमैत्री देशको रुपमा सूचीको शीर्ष स्थान ओगटेको छ । स्पेनको पर्यटकीय पूर्वाधार, डिजिटल प्रणाली र सांस्कृतिक स्रोतलाई यसको प्रमुख कारणका रूपमा देखाइएको छ ।फोरमले प्रत्येक दुई वर्षमा सार्वजनिक गर्ने यो सूचीमा स्पेनले पहिलोपटक प्रथम स्थान हासिल गरेको हो ।

प्रतिवेदनको सूचीमा फ्रान्स, जर्मनी, अमेरिका, बेलायत, स्विट्जरल्याण्ड, अष्टे«लिया, इटाली, जापान र क्यानडाले क्रमशः दोस्रोदेखि दशौँ स्थान प्राप्त गरेका छन् । प्रतिवेदनमा पर्यटनसँग सम्बन्धित विभिन्न १२ वटा बुँदालाई अध्ययनको आधार बनाइएको उल्लेख छ ।

अध्ययनको आधार बनाइएका अधिकांश सूचकमा नेपालको अवस्था भने निकै कमजोर देखिएको छ । वातावरणीय संरक्षणका हिसाबले १३३औँ स्थान प्राप्त गर्दै निर्धारित  सूचकमा नेपाल सबैभन्दा कमजोर रहेको छ ।

त्यस्तै व्यवसायिक वातावरण, सुरक्षा, प्रविधिको प्रयोग र तयारी, व्यावसायिक यात्रा, विमानस्थलको सुविधा तथा पूर्वाधार निर्माणका क्षेत्रमा समेत नेपाल कमजोर देखिएको छ ।

यता  खर्च कम लाग्ने देशको सूचीमा नेपालको स्थान सन्तोषजनक देखिएको छ । नेपालले खर्च कम लाग्ने देशको सूचीमा २३औँ स्थान हासिल गरेको छ ।

प्राकृतिक स्रोत र पर्यटनको प्राथमिकताको सूचकमा भने नेपालको अवस्था सन्तोषजनक पाइएको छ । भारत सार्क देशमध्ये पर्यटनको क्षेत्रमा सबैभन्दा अगाडि छ । फोरमको सूचीमा भारतले ५२औँ स्थान हासिल गरेको छ ।

श्रीलङ्का र भुटान सूचीमा क्रमशः ६३औँ र ८७औँ स्थान प्राप्त गर्दै नेपालभन्दा अगाडि रहेका छन् । नेपालभन्दा पछाडि पाकिस्तान १२५औँ र बङ्गलादेश १२७औँ स्थानमा छन् । त्यस्तै प्रतिवेदनले ब्राजिल, चीन, सिङ्गापुर र संयुक्त अरब इमिरेट्सलाई पर्यटनमा दु्रततर विकास गरिरहेका देशका रूपमा चित्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL