Logo

१ वर्षमा कामदारको रू. ७० करोड ठगियो

१ वर्षमा कामदारको रू. ७० करोड ठगियो


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

६ साउन, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कामदारको ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको छ । आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा जाने कामदारको म्यानपावर तथा एजेण्टले सो रकम बरावरको ठगी गरेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीमा गएका तथा जान लागेका २ हजार ५ सयभन्दा कामदार ठगिएको उजुरी परेको छ । ति कामदारले ७० करोड रुपैयाँभन्दा बढी विगोदावी गरी विभागमा उजुरी दिएका हुन् ।

गत आवमा सवैभन्दा बढी कामदार संस्थागत रुपमा ठगिएका छन् । सो अवधिमा म्यानपावरले १ हजार ८ सयभन्दा बढी कामदार ठगेको उजुरी विभागमा परेको छ । म्यानपार कम्पनीले ति कामदारको २५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका विभागले जानकारी दिएको छ ।

म्यानपावर कम्पनीले कामदारलाई भनेको काम, तलव तथा सुविधामा नपठाएको, भनेको भन्दा अर्के कम्पनीमा पठाएको जस्ता उजुरी आएको विभागका प्रवक्ता बद्री कार्कीले जानकारी दिए । साथै, कतिपय कामदारलाई व्यसायीले नेपालबाट पठाएर सम्बन्धित मुलुकमा पुर्यार अलपत्र पारेको समेत विभागमा आएको उजुरीमा छ ।

सो अवधिमा व्यक्ति तर्फ वैदेशिक रोजगारीमा ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । झण्डै ८ सय कामदारको सो रकम ठगी भएको हो । दलालहरुले नेपाली कामदारलाई अमेरिका, जापान तथा युरोपिएन मुलुकमा पठाइदिने लोभ देखाएर ठूलो रकम लिएर ठगी गरेको विभागले जानकारी दिएको छ । ‘दलाले कामदारलाई अमेरिका पठाइदिनु लोभ देखाएर एउटा कामदारबाट १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी आएको छ,’ विभागको उजुरी शाखाका एक अधिकारीले भने ।

१ वर्षको अवधमिा ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी भएकोमा विभागले १२ करोड रुपैयाँ जतिमात्र फरफारक गराएको छ । त्यसैगरी ३० करोड रुपैयाँभन्दा बढी रकमको विगो दावी गरी अदालमा मुद्दा दायर गरेको छ । विशेष गरी व्यक्तिगत रुपमा ठगिएका कामदारको विगोदावी गरी अदालतमा मुद्दा दायर गरिएको छ । व्यक्तिगत रुपमा ठगिएको कामदारलाई क्षतिपूर्ति दिलाउन अप्ठ्यारो हुने भएकाले अदालतमा मुद्दा दायर गरिएको समेत विभागले जानकारी दएको छ । ‘संस्थागत रुपमा ठगिएका कामदारको सम्बन्धित म्यानपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउन सकिन्छ,’ विभागका एक अधिकारीले भने, ‘तर, व्यक्तिगत रुपमा भएको ठगीको ठग्ने व्यक्ति भेटाउनै गाह्रो हुन्छ ।’

विभागको तथ्याङ्क अनुसार गत आवमा नेपालबाट कुल ४ लाख ८९ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL