Logo

अधिकारीद्धारा निगम संचालक समिति अध्यक्षको पदभार ग्रहण, नारिता उडान तोकिएकै मितिमा हुने

अधिकारीद्धारा निगम संचालक समिति अध्यक्षको पदभार ग्रहण, नारिता उडान तोकिएकै मितिमा हुने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

उक्त अवसरमा आयोजित समारोहमा उनले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने उल्लेख गरे ।

उनले व्यवस्थापन सामुहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्व का कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने सल्लाह दिए ।

विश्वमा पर्यटन व्यवसाय तीब्र प्रतिस्पर्धामा गएकोले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनु पर्ने उनले बताए । उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्वन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र क्ुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ भन्दै अधिकारीले तापनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने बताए । मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्ने बारे सोच्नसमेत निगम व्यवस्थापनलाई सुझाव दिए । उनले निगममा पनि प्रशासनिक सुधार आवश्यक रहेको र सुधारको विश्वस्तताको आधारमा लगानीकर्ताले लगानी गर्ने भएकाले त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरे । ।

निगमका निमित्त महाप्रवन्धक गणेश बहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उनको कार्यकालको सफलताको कामना गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।

यस्तै नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गते देखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने उल्लेख गरेको छ । जापानबाट प्रसारण हुने एउटा संचार माध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण भएको भन्दै निगमले आवश्यक आधिकारिक जानकारी नलिई प्रसारित उक्त समाचारको खण्डन पनि गरेको छ । ‘नारिता उडानबारे निगमको निर्धारित उडान तालिका बदलियो भन्ने बारेमा भ्रममा नपर्न सम्वन्धित निकाय सबैमा अवगत गराइन्छ’, निगमको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL