Logo

कामदार विदेशिने क्रम बढ्यो, रेमिट्यान्स भित्रने क्रम घट्यो

कामदार विदेशिने क्रम बढ्यो, रेमिट्यान्स भित्रने क्रम घट्यो


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

७ माघ, काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि नेपाल भित्र्ने रेमिट्यान्स भने घट्न थालेको छ । गत आर्थिक वर्षको ५ महिनामा नेपाल भित्रने रेमिट्यान्स बृद्धिदर ३५ प्रतिशतले बढेकोमा चालू आवको सोही अवधिमा २ प्रतिशतले मात्र बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

नेपालका म्यानपावर कम्पनीहरुले कामदारले पठाएको पैसा सम्बन्धित देशमै होल्ड गरेर राख्न थालेपछि नेपाल भित्र्ने रेमिट्यान्स घटेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । केही म्यापावर व्यवसायीले सम्बन्धित देशमा भिसा किन्नका लागि कामदारले कमाएको पैसा जम्मा गर्न थालेपछि नेपाल भित्र्ेन रेमिट्यान्समा उच्च गिरावट आएको हो । रोजगारीमा जाने कामदार तथा डरलको भाउ दुवै बढेपनि देशमा भित्रने रेमिट्यान्स भने घटेको छ । ‘केही म्यानपावर व्यवसायीले भिसा किन्नका लागि नेपालबाट लैजानुपर्ने पैसा कामदारसँग उठाएर सम्बन्धित देशका एजेन्टलाई दिने गरेका छन्,’ एक अधिकारीले भने, ‘व्यवसायीले त्यस्ता कामदारलाई भने नेपालबाटै पैसा दिने गरेका छन् ।’

चालू आवको ५ महिनामा नेपाली कामदारले २ खर्व २७ अर्व २० करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । अघिल्लो महिनासम्म नेपाल भित्र्ने रेमिट्यान्सको बृद्धिदर घटेको थियो । तर, ५ महिनामा आएर २ दशमलव ७ प्रतिशतले बढेको छ । चालू आवको ५ महिनामा नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर सामान्य बढेपनि गत आवको सोही अवधिको तुलनामा भने यो बृद्धिदर एकदमै न्युन हो ।

गत आवको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदर ३५ दशमलव ३ प्रतिशत रहेको थियो । गत आवको ५ महिनामा २ खर्व ११ अर्व १७ लाख रुपैयाँ रेमिट्यान्स नपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकको तथ्याङ् अनुसार गत आवमा कुल ५ खर्व ४३ अर्व २९ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

रोजगारीमा गएका कामदारलाई टिभी तथा सुन ल्याउदा भन्सार छुट दिएको हुँदा उनीहरुले त्यस्ता सामानमा बढी पैसा खर्च गर्ने गरेका नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । ‘कामदारहरुलाई पैसा ल्याउँदा भन्दा सामान ल्याउँदा फाइदा हुन्छ,’ उनले भने, ‘तसर्थ रोजगारीमा गएका कामदारहरुले जिन्सी सामान नै बढी ल्याउने गरेका छन् ।’

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल भने हुण्डी मार्फत पैसा आउने क्रम बढेकाले रेमिट्यान्स बृद्धिदर घटेको बताउँछ् ।  त्यस्तै, पछिल्लो समय सुन तस्करीमा समेत कामदारले कमाएको पैसा प्रयोग हुने गरेको उनले जानकारी दिए ।
यस्तै, हुण्डी लगायत गैरकानुनी च्यानलबाट पैसा भित्र्ने क्रम नरोकिएकाले रेमिट्यान्स भित्रने क्रम घटेको समबद्ध रेमिट कम्पनीहरु बताउँछन् ।

वैदेशिक रोजागार विभागको तथ्याङ्क अनुसार चालु आवको ५ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २५ प्रतिशतले बढेको छ । गत आवको ५ महिनामा  १ लाख ७० हजार ७ सय कामदार वैदेशिक रोजगारीमा गएकोमा चालू आवको सोही अवधिमा २ लाख २५ हजार ९ सय कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

चालू आवको ५ महिनामा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । सो अवधिमा मलेशियामा १ लाख ६ सय कामदार पुगेका छन् । त्यसैगरी, कतारको रोजगारीमा कुल ५१ हजार ७ सय नेपाली कामदार पुगेका छन् भने साउदी अरवको रोजगारीमा ३६ हजार ३ सय जना कामदार पुगेका छन् ।

नेपाली कामदारको चाथो रोजाइमा संयुक्त अरव इमिरेट्स परेको छ । यएईमा सो अवधिमा कुल २३ हजार २ सय कामदार पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा कुल २ लाख २५ हजार कामदार विदेशिएकोमा महिला कामदारको संख्या १० हजार ३ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL