Logo

१ वर्ष भित्र नेप्से ‘फुल फ्लेज अटोमेशन’मा जाने छ

१ वर्ष भित्र नेप्से ‘फुल फ्लेज अटोमेशन’मा जाने छ


रामराजा श्रेष्ठ
0
Shares

हाल इन्डेक्स फण्ड संचालनका लागि अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ । आगामी आर्थिक वर्षको शुरुदेखि संचालनमा आउनेछ ।

म माथी जुन आरोप लागाइएको छ ती एकदमै मनगणन्ते हुन् । केही मसुहले आफ्ना स्वार्थ पुरा गर्न नपाएपछि बजारमा मेरा बारेमा अनावश्यक हल्ला फैलाइरहेका छन् । नेप्सेको भावी योजना, विवाद, सीडीएस संचालन, निजीकरणजस्ता विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक सिताराम थपलियासँग गरेको कुराकानीको सार ः

नेप्सेलाई अघि बढाउन के–कस्ता योजना ल्याउनु  भएको छ ?

पहिलो उद्देश्य नेप्सेको कारोवारलाई पूर्ण रुपमा स्वचालित प्रणाली (अटोमेशनमा) लैजाने नै हो । यसको लागि आर्थिक स्रोत जुटाउने क्रममा छौं । ‘फुल फ्लेज अटोमेशन’मा जानका लागि हालको सफ्टवेयरलाई नै स्तरोन्नती गर्ने वा नयाँ सप्mटवयर तयार गर्ने भन्ने विषयमा परामर्शदाताले अध्ययन गरेर प्रतिवेदन बुझाउने क्रममा छ । आगामी आर्थिक वर्षदेखि  नै नेप्सेलाइपूर्ण स्वचालित प्रणालीमा लैजाने छौं । तपाइँहरुले छिट्टै अनलाइन ट्रेडिङको सुविधा पाउनुहुने छ ।

तपाइहरुले ‘इन्डेक्स फण्ड’को कुरा गरिरहनु भएको छ । यो कुन चरणमा छ ?

यस विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ । त्यसलाई लागू गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गर्नु आवश्यक छ । यसका साथै, नेप्सेकै संचालक समिति, धितोपत्र बोर्डजस्ता निकायबाट स्वीकृति लिनका लागि प्रक्रिया अघि बढाउन लागिएको छ । आगामी आर्थिक वर्षको शुरुबाट कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका छौं । तर, यसलाई कसरी कार्यान्वयनमा ल्याउने, यसका फाइदा तथा बेफाइदाका वारेमा अन्य सरोकारवाला निकायसँग पनि छलफल गर्नु जरुरी छ ।

नेपालमा कतिपय लगानीकर्ताले सेयर मार्केटको बारेमै बुझेका छैनन् । यो अवस्थामा उनीहरुलाई ‘इन्डेक्स फण्ड’को वारेमा कसरी बुझाउने ?

यो एउटा डेरिभेटिभ टुल्स हो । यस विषयमा लगानीकर्ताहरुलाई बुझाउन विभिन्न खालका अभिमुखिकरण कार्यक्रम संचालन गर्नुपर्छ । अहिले जति अभिमुखिकरण कार्यक्रम संचालन भइरहेका छन्, त्यो एकदमै न्युन छ । यसको लागि मिडियाबाट विभिन्न कार्यक्रम संचालन गर्नु आवश्यक छ । इन्डेक्स फण्डको वारेमा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराएर मात्र कार्यान्वयनमा ल्याउने छौं ।

sitaram-thapelya-nepse

सीडीएस स्थापना गरेको ४ वर्ष भइसक्यो । तर, अहिलेसम्म  काम गर्न सकेको छैन । नेप्सेको कमाइ सीडीएसमा गएर खर्च भइरहेको छ । सीडीएसलाई कति समयसम्म पालिराख्ने ?

सीडीएस संचालनम आउन थालेको छ । अहिलेसम्म ७७ वटा कम्पनीले सेयर डिम्याट (अभौतिकिकरण) गरिसकेका छन् । ५४ वटा कम्पनी डिम्याटको प्रक्रियामा छन् । त्यसैगरी, २९ वटा कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेका छन् भने २० हजारभन्दा बढी डिम्याट खाता खोलिएको छ । हालसम्म झण्डै ७३ लाख कित्ता सेयर डिम्याट भइसकेका छन् । तर, हाम्रो लगानीकर्ता तथा सेयर त्यति मात्र त होइनन् । यसलाई द्रुत रुपमा बढाइरहेका छौं । अहिले पूर्ण रुपमा डिम्याट प्रणालीबाट कारोवार नगरेपनि शुरुवात भएको छ । राफराफ पनि भइरहेको छ । हाल सिस्टम टेस्ट (प्रणालीको परिक्षण) गर्ने काम भइरहकोे छ । सीडीएस अहिले सामान्य घाटामा छ । अवको केही समयमै सीडीएसले नेप्सेलाई प्रतिफल दिन थाल्छ ।

गर्भनरको भनाइबाट नेपाल राष्ट्र बैंक र नेप्सेबीच विवाद उत्पन्न भएजस्तो देखिन्छ । नेप्सेमा ३४ प्रतिशतभन्दा बढी सेयर होल्डिङ गर्ने संस्थासँग यति ठूलो विवाद हुनुको कारण के हो ?

राष्ट्र बैंकसँग हाम्रो कुनै विवाद छैन । राष्ट्र बैंक भनेको नेप्सेको ओनर वा सेयर होल्डर हो । हामीले आफ्नै ओनरसँग कसरी विवाद गछौं । राष्ट्र बैंक ‘थिङ्क ट्याङ’को रुपमा विकसित छ । त्यसैगरी, हामी राष्ट्र बैंकले लगानी गरेको संस्थाका कर्मचारी हौं । जसले गर्दा हामीले कुनै पनि हिसावले राष्ट्र बैंकसँग विवाद गर्न सक्दैनौ र गरेका पनि छैनौं ।

बेला–बेलामा अर्थमन्त्रीले नेप्से ओरोलो लाग्नुको कुनै कारण नभएको बताउँदै आएका छन् । तर, नेप्सेमा दैनिक जसो तलमाथी भइरहेको छ नि ?

अर्थमन्त्रीको भनाइ अनुसार देशमा आर्थिक सुचकाङ्कहरु राम्रो भइरहेको छ । विदेशबाट पनि प्रशस्त लगानी आइरहेको छ यस्तो अवस्थामा नेप्से घट्नुको कारण छैन भन्नु भएको हो । समग्र बजार सूचकहरु सकारात्मक भएको बेलामा नेप्से परिसूचक घट्न हुँदैन भन्ने हाम्रो मान्यता हो । तर, बजारमा मुल्य निर्धारण माग र पूर्तिको आधारमा तय हुने हो । त्यसैगरी, नेप्से भनेको प्लेटफर्म प्रोभाइडर (मैदान) मात्र हो । कसरी नेप्से परिसुचक तलमाथी भइरहेको छ भन्ने विषयमा अध्ययन गरिनु जरुरी छ । यसमा नेप्सेको कुनै हात हुँदैन ।

नेप्सेलाई  निजीकरण गर्ने विषयमा पटक–पटक कुरा उठिरहेको छ । नेप्सेकै साधारणसभामा गर्भनर डा. युवराज खतिवडाले पनि नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर विक्री गर्न तयार रहेको बताएका थिए । तर, निजीकरण प्रक्रिया अघि बढ्न सकेको छैन, किन ?

नेपाल राष्ट्र बैंक नेप्सेको सेयर बेच्न तयार छ । तर, जुन पायो त्यहि संस्थालाई बेच्न तयार हुनुहुन्न । उहाँहरुले उपयुक्त संस्थालाई बेच्छु भन्दै आउनु भएको छ । तर, राष्ट्र बैंकको सेयर बेच्न नेप्सेले रोकेको होइन । लगानीकर्ताको सेयर बेच्न नेप्सेले रोक्न सक्दैन ।

त्यसो भए नेप्से कहिलेसम्म निजीकरणमा जान्छ त ?

नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यमा पनि नेप्सेमा रणनीतिक साझेदार ल्याइने विषय उल्लेख गरिएको छ । सोही अनुरुप रणनीतिक साझेदार ल्याउनका लागि अध्ययन पनि गराइसकेका छौं । प्रतिवेदन आउने क्रममा छ । यसलाई निजीकरण गर्ने हाम्रो अधिकार भन्दा बाहिरको विषय हो ।

तपाइँमाथी अर्थमन्त्रालयसँग मिलेर राष्ट्र बैंकलाई पेल्नु भयो भन्ने आरोप छ नि ?

राष्ट्र बैंकलाई हामीले कसरी पेल्न सक्छौं । राष्ट्र बैंक आफैमा स्वायत्त निकाय हो । हामीलाई जुन आरोप लगाइएको छ, ती सवै मनगणन्ते कुरा हुन् । अहिले बजारमा जुन आरोप लगाइएका छन्, व्यक्तिगत रिसइबीमा लगाइएका आरोप हुन् । केही समुहको  स्वार्थ पूर्ति नभएपछि लगाइएको एकदमै मित्था आरोप हुन् ।

लगानीकर्ता नै महाप्रबन्धक भएर आएपछि नेप्सेमा बढी चलखेल भयो भन्ने आरोप पनि छ नि ?

म यहाँ आउनुभन्दा अघि के थिएँ, आएपछि कसरी काम गरिरहेका छु, भन्ने कुरा बुझ्नु जरुरी छ । यहाँका कुनै पनि कर्मचारीले सेयर खरिद विक्री गर्न पाउँदैन । सेयर खरिद  विक्री नै नगरेपछि कसरी चलखेल हुन्छ ? अर्को कुरा कुनै पनि काम गर्न व्यवहारिक ज्ञान हासिल गर्नु पर्छ । हिजोका दिनमा जुन रुपमा नेप्सेलाई बुझेको थिएँ, त्यसले त मलाई झन् काम गर्न सजिलो बनाएको छ । यसले नीति निर्माण तथा त्यसलाई  कार्यान्वयनमा ल्याउन फाइदा पुगेको छ । व्यवस्थापन गर्न सहज भएको छ । यि सवै केही स्वार्थी समुहले लगाएका आरोप हुन् । विरोधका लागि विरोध मात्र गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL