काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६८ हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ९ हजार १ सय ६२ महिला र ५८ हजार ९४८ पुरुष गरी कुल ६८ हजार १ सय १० जनाले रोजगारीका लागि स्वीकृति प्राप्त गरेका छन्।
विभागले दिएको तथ्यांकअनुसार साउनमा मात्रै विश्वका १ सय ५ मुलुकमा जाने श्रमिकले स्वीकृति लिएका छन्। गत वर्षको सोही महिनामा भने ९३ मुलुकमा जाने गरी ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए। जसमा ८ हजार १ सय ४५ महिला र ५१ हजार ४ सय ३० पुरुष रहेका थिए।
यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा श्रम स्वीकृति लिनेको संख्या ८ हजार ५ सय ३५ ले बढेको छ।
साउन महिनामा गन्तव्य मुलुकतर्फ हेर्दा सबैभन्दा धेरै २३ हजार ८ सय ३८ जना युनाइटेड अरब इमिरेट्स (यूएई) जान स्वीकृति लिए। त्यसपछि कतार जाने १२ हजार ८४, साउदी अरब जाने ९ हजार ८ सय ८५, मलेसिया जाने ५ हजार ६ सय २३ र कुवेत जाने ४ हजार ७० जना रहेका छन्।
यस्तै, जापान जाने २ हजार ३ सय ४०, क्रोएसिया जाने १ हजार ४ सय ६२ र रोमानिया जाने १ हजार २५ जनाले समेत वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका विभागको विवरणमा उल्लेख छ।