काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) लगायत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रुपमा नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ ।
चिनको सिचुवान शाखामा आयोजित विशेष कार्यक्रममा सानिमा बैंक र चिनियाँ बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा सानिमा बैंकतर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र चिनियाँ बैंकको तर्फबाट सिचुवान शाखाकी उपाध्यक्ष वु यानहुइले हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, चिनियाँ बैंक सिचुवान शाखाका अध्यक्ष चेन शेंगरोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआओ बिन समेत उपस्थित थिए ।
यी आयोजनाहरू सफल बनाउन हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा नेपाल भित्र्याउन सानिमा बैंक सफल भएको जनाएको छ । यस कदमले बैंकको क्षमता अझ बढ्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा साख उकासिने र देशको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।