Logo

बोल्दा बोल्दै फोन काटियो ?, नआत्तिनुस अब क्षतीपूर्ती पाइन्छ

बोल्दा बोल्दै फोन काटियो ?, नआत्तिनुस अब क्षतीपूर्ती पाइन्छ


रक्षा रेग्मी
0
Shares

काठमाडौं । मोबाइल बोकेर नेटवर्क देखाउने ठाउँतिर कुद्नु कुनै समय नेपालमा सामान्य थियो । मोबाइलमा ‘रिङ’ बज्यो कि बलियो नेटवर्क भएको तिर जानुपर्ने समय अहिले भने कटिसकेको छ । तर यसो भन्दैमा नेटवर्कको समस्या छैन भन्ने चाही होइन । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रष्ट नबुझिने, नेटवर्क आउने जाने भइरहने जस्ता सेवाग्राहीका गुनासा अझै पनि छन् । मोबाइलको पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्या अझै सुधार हुन सकेको छैन ।

यस्तै समस्यालाई समाधान गर्न सरकारले सेवा प्रदायकलाई त्यसको क्षतीपुर्ती भराउने अन्तिम तयारी गरेको छ । उपभोक्ताको गुनासो सम्वोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

दूरसञ्चार नीति २०६० कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न बनेको उच्चस्तरीय अनुगमन समितिको हालै सम्पन्न बैठकले यस्तो निणर्य गरेको हो । सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभुत गराउने उद्देश्यका साथ क्षतीपूर्तीका सम्वन्धमा नियमावली बनाउने तयारी थालिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले जानकारी दिए ।

कानुनी रुपमा प्राधिकरणले सेवा प्रदायकसँग क्षतीपूर्ती लिने अधिकार नभएकोले हाल भएको विनियमावलीलाई परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तीको व्यवस्था लगायत विषय उल्लेख गरिने छ । प्रदायकले आफ्नो प्रतिज्ञा (कमिटमेन्ट) अनुसार सेवा नदिएको भन्दै नियमावलीको मस्यौदा तयार गर्न लागिएको हो । मस्यौदा तयार भएपछि मन्त्रालयमा पठाउने र मन्त्रीस्तरीय बैठकले सो मस्यौदा पास गरेपछि मात्र लागु हुने छ ।

त्यस्तै यसअघि पनि विकास समितिको बैठकले नियमित विद्यूत आपुर्ति भएको अवस्थामा समेत समयमा नै फोन नलाग्ने, आवाजमा अस्पष्टता, भनिए जस्तो इन्टरनेटको गति नहुनु, रिचार्ज नहुने जस्ता समस्याहरु एक महिना भित्र समाधान गर्न सूचना मन्त्रालय, प्राधिकरण र सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

साथै गुनासो सुन्ने व्यवस्थालाई प्रभावकारी बनाउन, समयमा नै उपभोक्ताको गुनासो सम्बोधन गर्न नसके क्षतिपूर्ति दिने व्यवस्था गर्न समिति नेपाल दुर सञ्चार कम्पनी लिमिटेड तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । भारतमा पनि कल ड्रपको क्षतीपूर्तीलाई कडाइका साथ लागु गर्ने व्यवस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL