Logo

९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब बढी बीमाशुल्क, कसको कति ?

९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब बढी बीमाशुल्क, कसको कति ?



काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले ३२ रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैत्र मसान्तसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यो अवधिमा २१ लाख ३५ हजार २ सय ३३ बीमालेख जारी गर्दै ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीहरूले २१ लाख ९३ हजार ५ सय ४७ बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ संकलन गरेका थिए। चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमालेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ।

शिखर इन्स्योरेन्सको अग्रता, सगरमाथा लुम्बिनी दोस्रो

प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी शीर्ष स्थानमा रहेको छ। यो गत वर्षको तुलनामा २.८५ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय गरेको थियो। दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ, जुन गत वर्षको ३ अर्ब ५३ करोड ३० लाखको तुलनामा ५.८४ प्रतिशतले बढी हो। तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको २ अर्ब ४९ करोड ४ लाखको तुलनामा ७.४५ प्रतिशतले बढी हो।

हिमालयन एभरेस्टको उल्लेखनीय वृद्धि, तीन कम्पनीको व्यवसायमा गिरावट

हिमालयन एभरेस्ट इन्स्योरेन्सले चालु आवमा २ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ व्यवसाय गरेको छ, जुन गत वर्षको २ अर्ब ५४ करोड ८९ लाखको तुलनामा ९.२८ प्रतिशतले बढी हो। अन्य कम्पनीहरूमा आईजीआई प्रुडेन्सियलले २ अर्ब ७३ करोड ४९ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख, दि ओरिएन्टलले २ अर्ब १५ करोड ४६ लाख, एनएलजीले २ अर्ब १३ करोड ४५ लाख, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यद्यपि, तीन कम्पनीको व्यवसायमा गिरावट देखिएको छ। राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.३१ प्रतिशतले घटेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो १ अर्ब ३० करोड ६४ लाख थियो। युनाइटेड अजोडको व्यवसाय ६.२४ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ४९ लाख पुगेको छ, जुन गत वर्ष १ अर्ब ९७ करोड ८३ लाख थियो। प्रभु इन्स्योरेन्सको व्यवसाय १.३१ प्रतिशतले घटेर १ अर्ब ३० करोड ९४ लाखमा झरेको छ, जुन गत वर्ष १ अर्ब ३२ करोड ६८ लाख थियो।

प्रतिक्रिया दिनुहोस्