Logo

आईएफसीले माथिल्लो कर्णालीमा सेयर लगानी गर्ने, सम्झौता सोमबार

आईएफसीले माथिल्लो कर्णालीमा सेयर लगानी गर्ने, सम्झौता सोमबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ पुस, काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई आइएफसीले सेयर लगानी गर्ने भएको छ । लगानी जुटाउने सम्वन्धी एक सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी जीएमआर र आईएफसीबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ । विश्व बैंक अन्तर्गतको निजी क्षेत्रमा लगानी गर्ने संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन आईएफसीले १० प्रतिशत सेयर लगानी गर्ने भएको छ ।

अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटी आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले सो कुराको जानकारी दिएका हुन् । सो अवसरमा दिइएको जानकारी अनुसार १० प्रतिशत सेयर लगानीका साथै आईएफसीले उक्त परियोजनालाई आवश्यक पर्ने अन्य स्रोत पनि जुटाइदिने भएको छ ।

यससम्वन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर हुँदैछ । कन्ट्री मेनेजर केलहोफरले माथिल्लो कर्णलीमा अव स्रोतको अभाव नहुने बताए । ‘हामीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर पनि केही स्रोतको व्यवस्था गर्नेछौं,’ उनले भने, ‘आईएफसी लगायत अन्य संस्थाहरुबाट पनि स्रोतको व्यवस्था हुँदैछ ।’ उनले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी दिए ।

सो अवसरमा अर्थमन्त्री डा महतले अन्य आयोजनाहरुमा लगानी गर्नका लागि पनि आईएफसीलाई आगह गरे । केलहोफलरले भने शुरुका यी आयोजनाहरुको सफल कार्यान्वयन भएपछि आईएफसीले माथिल्लो कर्णालीभन्दा ठूला अन्य आयोजनाहरुमा पनि लगानी गर्ने जानकारी दिए । अव आईएफसीले सेयर लगानी गर्ने र बाँकी स्रोतको व्यवस्था पनि गरिदिने भएपछि जीएमआरलाई स्रोत जुटाउन कठिन हुने हो कि भन्ने आशंका पनि अव हटेको छ । अर्थमन्त्री डा महतले नेपालको जलविद्युतका क्षेत्रमा आईएफसीले लगानी गर्न थालेकोमा खुसी व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL