Logo

महासंघलाई मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता

महासंघलाई मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता



नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही लक्ष्मी ग्रुपका सञ्चालकमध्येका एक हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा विगत दुई दशकदेखि संलग्न रहेका श्रेष्ठ चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनले आफ्नो टीम बनाएर प्रचारप्रसार गरिरहेका छन् । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि आफ्नो टिम सशक्त र जुझारु रहेको उनको भनाइ छ । महासंघको चुनावी रणनीति, उनको चुनाव जित्ने आधार र चुनावी एजेण्डा लगायतका विषयमा बिजखबरले गरेको कुराकानीको सारसंक्षेप :

laxmi

तपाईंलाई मतदाताले किन भोट दिने ?

व्यवसायमा मेरो ३० वर्षको अनुभव छ । ४८ वर्षअघि पारिवारिक पृष्ठभूमिमा ३ सय रुपैयाँबाट व्यवसाय शुरु गरेको हुँ । त्यहि व्यवसायलाई आजको दिनमा प्रतिष्ठित व्यवसायीक समूहका रुपमा चिनाउन सफल भएको छु । मेरो अभिभावकले सुरु गरेको व्यवसायलाई मैले पनि निरन्तरता दिए । पारिवारिक व्यवसायलाई मैले नेतृत्व गरेर यहाँसम्म ल्याएँ । ३० वर्षअघि अभिभावकलाई सघाएको थिएँ । त्यसपछि मैले आफैँ नेतृत्व गर्दै आएको छु । लक्ष्मी समूह उत्पादनमुलक, कृषिजन्य, निर्माण सामाग्री उद्योग, अटोमोबाइल ट्रेडिङ लगायत अन्य ट्रेडिङमा संगलग्न छ । निकट भविष्यमा पर्यटन र जलस्रोतमा पनि लगानी गर्ने योजना रहेको छ । लक्ष्मी समूहले प्रत्यक्ष रुपमा ३२ सय जनालाई रोजगारी दिएको छ । लक्ष्मी समूहका उत्पादन भएका वस्तुहरु ११ वटा मुलुकमा निर्यात भइरहेका छन् । यो समूहलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको छु ।

२० वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा एउटा समितिको सदस्य भएर प्रवेश गरेको थिएँ । त्यसपछि निरन्तर रुपमा उद्योग वाणिज्य महासंघसँग संलग्न भएर काम गर्दै आएको छु । उद्योग समिति सदस्य, वाणिज्य समिति सदस्य र रोजगारदाता परिषदमा ९ वर्ष सदस्य भएर काम गरेको छु । अघिल्लो कार्यकालमा उद्योग समितिको सभापति पनि थिए । अहिले २ वर्षदेखि उद्योग वाणिज्य महासंघको वस्तुगत संघको निर्वाचित उपाध्यक्ष छु ।

यहाँसम्म आउँदा मैले धेरै अनुभव हाँसिल गरेको छु । मेरो संलग्नताले मलाई निखारेको छ । उपाध्यक्षको हैसियतले मैले गरेका कामहरु, मैले देखाएको नेतृत्व क्षमता, मेरो कार्यशैलीप्रति सबै उद्योगी व्यवसायीहरु सकारात्मक छन् । जिल्ला÷नगर उद्यमी व्यवसायीहरुसँग लामो समयदेखि भेटघाट तथा छलफल गर्दै आएको छु । जिल्ला/नगर, वस्तुगत, एसोसिएट, द्विराष्ट्रिय उद्योगी व्यवसायीहरुले तपाईं अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नु भएको छ । अहिले राम्रो माहोल पनि बनेको छ, चुनाव मैले जित्छु ।

तपाईंले चुनाव जित्ने आधारहरु के–के हुन् ?

मसँग शसक्त टिम छ । मिल्ने र मिलाउन सक्ने युवा टिम छ । समय परिवर्तनशील छ । अहिलेको समयले जोसजाँगर भएका युवा खोजिरहेको छ । हाम्रो टिममा युवा र अनुभवी सदस्यहरु धेरै छन् । वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अरुण सुमार्गी सशक्त हुनुहुन्छ । उहाँको आफ्नै किसिमको व्यवसायीक पृष्ठभूमि छ । अर्का उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधानसँग पनि लामो समयको व्यवसायीक पृष्ठभूमि छ । उहाँ पनि महासंघकै पूर्वअध्यक्ष महेशलाल प्रधानको छोरा हुनुहुन्छ । संस्थागत लगायत व्यक्तिगत रुपमा उहाँको महासंघमा ठूलो योगदान छ ।

मनिषजी निर्यात परिषदको सभापति र अरुण सुमार्गी कृषि उद्यम केन्द्रको सभापति हुनुहुन्छ । मजबुत, सशक्त, उर्जावान टिमलाई देशभरिका उद्यमी व्यवसायीको समर्थन छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्धिराष्ट्रिय संघ, एसोसिएट प्रतिष्ठानका उद्यमी व्यवसायीको समर्थनले अघि बढ्न हौशाला र हुटहुटी पैदा भएको छ ।

एसोसिएट तर्फका उपाध्यक्ष पदका उम्मेदवारले तपाईंको साथ छोड्नु भयो, पछि साझा उम्मेदवार बनाउनुभयो । टीममा पनि आंशिक सदस्यहरु मात्रै छन् । तपाईं एसोसिएटमा कमजोर बन्नुभएको हो ?

चुनाव भनेको सम्भावना र अङ्क गणितको खेल हो । अङ्क गणित र सम्भावनाका केही खेल भएर नयाँ परिस्थिति बन्यो । फेरी पनि हामीले सम्भावना र अङ्कगणितका खेल खेल्यौं । अब हामी बलियो बनेका छौं ।

टीमको सोलो उपाध्यक्ष उम्मेदवार हुँदा तपाईंलाई फाइदा थियो की साझा उम्मेदवार हुँदा फाइदा छ ?

आजको दिनमा सम्भावना र अङ्क गणितको कुरा गर्दा म बलियो छु । यो मामिलामा मैले जितेको पनि छु । मैलेभन्दा विश्वास नलाग्न सक्छ तर, रिजल्टले जितेको देखाउनेछ । यसले भोट हाल्छ उसले भोट हाल्दैन भनेर भन्दिन । जुन नयाँ सम्भावना र अङ्क गणितका खेलहरु भएका छन् ती सबैको आधारमा म बलियो बनेको छु ।

चुनावमा अङ्क गणित, रणनीतिक चाल, चुनावी माहोल विकास, स्थीर रहेका भोट आफ्नो समूहमा ल्याउन तपाईंका कदमहरु के–के हुन् ?

चुनावका सबै रणनीति बाहिर खुलस्त भन्न मिल्दैन । चुनावमा चाल्ने कदमहरु सबै प्रयोग भएपछि देखिन्छन् । मेरा स्टेपहरु पनि सबै देखिरहनु भएको छ । मैले उम्मेदवारी घोषणा गर्दा हतारमा गर्याे भनेका थिए । तर, त्यसको पनि छुट्टै उद्देश्य तथा रणनीति थियो । निर्वाचनमा यी सबै कदमहरुका आ–आफ्नो महत्व हुन्छन् । केही न केही उद्देश्य पुरा गर्न ती कदमहरु चालिएका हुन्छन् । रणनीतिक रुपमा हामी सशक्त भएर अघि बढेका छौं ।

अञ्जन श्रेष्ठले चुनाव जित्ने माहोल कहिले विकास हुन्छ ?

प्रत्येक दिन माहोल बन्दै गएको छ । प्रत्येक स्टेपसँगै माहोल बढिरहेको छ । चुनाव जित्ने माहोल बनिसकेको छ । मैले अवश्य चुनाव जित्छु ।

वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवार हुनुहुन्छ, पहिलो राउण्डमा नतिजा नआउने अनुमान छ । पहिलो राउण्डमै ५१ प्रतिशत ल्याएर जित्नुहुन्छ की दोस्रो राउण्डमा जान्छ ? दोस्रो चरणमा के हुन्छ माहोल ?

मैले चुनाव जित्छु भन्नेमा पूर्ण विश्वास छ । त्यो विश्वास टिम र मतदाताले दिएको छ । पहिलो र दोस्रो राउण्ड प्रक्रिया मात्रै हो । चुनाव दुई पटक भएपनि मैले नै चुनाव जित्ने हो । व्यवसायीहरुले नै आफ्नो हकहितका लागि लागि नेतृत्व चयन गर्दै हुनुहुन्छ त्यो हक हितको ग्यारेन्टी म लिन्छु ।

नेतृत्व तहमा पुग्नका लागि राजनीतिक आशिर्वाद लिँदा राजनीतिक एजेण्डालाई अघि बढाउनु हुन्छ की व्यवसायीक एजेण्डा ?

उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायीक संस्था हो । निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन, व्यवसायीक वातावरण बनाउन, व्यवसायलाई प्रवर्द्धन तथा सम्वर्द्धन गर्न हामीहरु एकजुट भएका हौं । हाम्रो उद्देश्य योभन्दा अरु केही छैन । यी सबै काम गर्न सबै राजनीतिक दलहरुसँग सम्बन्ध बनाउनु पर्ने हुन्छ । साथै, राज्यका तह–तप्कासँग पनि सम्बन्ध कायम राख्नुपर्छ । त्यसैले राजनीतिक दलसँग भेट गरेर सम्बन्ध विकास गर्नु स्वभाविक हो । महासंघमा कुनै पनि राजनीतिक गतिविधि हुँदैनन् । बजारमा हल्ला अनेकन आउँछन् । तर, हल्लाका पछि लागेर हुँदैन । महासंघमा कुनै राजनीति हुँदैन । यहि नै वास्तविकता हो ।

अर्थतन्त्र समस्याग्रस्त छ । उद्योगी व्यवसायीहरु तनावमा छन् । यो समस्या समाधान गर्न तपाईंको भूमिका के रहन्छ ?

लगानी गर्नका लागि पूँजी प्रयाप्त छैन । पूर्वाधारको समस्या छ । नीतिगत व्यवस्था अस्पष्ट छन् । तरलता अभाव र ब्याजदरको समस्या तत्काल समाधान गर्नुपर्नेछ । ब्याजदर घट्नै पर्नेछ । चुनावी प्रचारका लागि देशभरी दौडाह गर्दा पसल–पसलमा गएर व्यवसायीहरुसँग बसेर छलफल तथा कुराकानी गरेको छु । उनीहरुका पीडालाई मैले पनि महशुस गरेको छु । ब्याजदर उच्च हुँदा व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको छ ।

१ सय रुपैयाँको ब्यापार गर्नेको आज २०/३० रुपैयाँमा झरेको छ । व्यवसाय निरन्तर घटिरहेको छ तर लागत बढिरहेको छ । कोरोना महामारी पश्चात् लजिस्टीक लागत बढ्यो । रुस र यूक्रेनको युद्धका कारण मूल्य वृद्धि उच्च भयो । पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढ्यो । लागत बढ्ने तर, व्यापार घट्ने भएपछि ब्याज तथा साँवा तिर्न नसक्ने अवस्था छ । कर तिर्न सक्ने अवस्था छैन । त्यसैले सरकारले ब्याजदर घटाएर तरलता सहज गराउनुपर्छ । जसले गर्दा बजार चलायमान हुन्छ । ब्याजदर घटेपछि व्यवसाय आफै बढ्छ । त्यसपछि ऋण र ब्याज तिर्न सक्ने वातावरण बन्छ ।

हाम्रो देशको अर्थतन्त्रको आकार बढ्न सकेको छैन । २०४८ सालमा खुला बजार अर्थतन्त्र सुरु भएपछि १४ अर्बको बजेट थियो । अहिले १७ खर्बको पुगेको छ । रिफर्म हुन सकेको छैन । लगानीको आकार बढेको छैन । तथ्याङ्क विभागका अनुसार समग्र अर्थतन्त्र समस्या छ । २९ प्रतिशत व्यक्तिहरु अझै सक्रिय अर्थतन्त्रमा सहभागी भएका छैनन् । यो तथ्याङ्कले पनि हाम्रो अर्थतन्त्र सानो भएको देखाउँछ । हामीले तत्काल पूँजीको व्यवस्थापन गरेर अर्थतन्त्रको आकार बढाउनु पर्नेछ । सर्वसाधारणको आम्दानी बढाउनु पर्नेछ । यी सबै काम गर्नका लागि जोड दिन्छौं । सरकार र निजी क्षेत्रले समन्वय गरेर पूँजी ल्याउनु पर्नेछ । बचतबाट मात्रै पूँजी निर्माण हुने सम्भावना छैन ।

भारतमा ६० किलोमिटर प्रतिघण्टा पूर्वाधार निर्माण हुन्छ । तर, नेपालमा २३ किलोमिटर मात्रै प्रतिघण्टा पुर्वाधार निर्माण भएको देखिन्छ । जसले गर्दा लागत बढेको देखिन्छ । भन्सारमा सामान छुटाउन वर्ष दिन कुर्नुपर्छ । हाम्रो बिजुली गुणस्तरीय छैन । आवश्यकता अनुसार पाइँदैन । नीति नियमहरु पनि धेरै पुराना छन् । केही नीति नियम परिवर्तन भएपनि निजी क्षेत्रलाई दोहन गर्ने र कारवाही मात्रै गर्ने काम भएका छन् । सरकारको प्रक्षेपण स्पष्ट छैन । नीति बनाउनेले एउटा सोचले बनाएको हुन्छ भने कार्यान्वयन गर्ने पक्षले अर्कै किसिमले परिभाषित गरेका हुन्छन् ।

२० वर्षदेखि महासंघमा आवद्ध हुनु हुन्छ । महासंघको उपाध्यक्ष भएर काम पनि गर्नु भएको छ । नीतिगत रुपमा महासंघले राम्रोसँग पहल गर्न सकेन । निजी क्षेत्रमैत्री नभएका कानुन संशोधन गर्न महासंघले प्रयाप्त वकालत गर्न सकेन । तपाईं निर्वाचित भएपछि के गर्नुहुन्छ ? महासंघको बलियो भूमिका नभएकोमा तपाईं स्वीकार गर्नुहुन्छ ?

म स्वीकार गर्दिन । हामीले गर्नुपर्ने कसुर कुनै पनि बाँकी राखेको छैनौं । २०४६ सालपछि ३ पटक राजनीतिक परिवर्तन भयो । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि सरकार र हामीसँगै बसेर छलफल गर्यौं । त्यसपछि द्वन्दकाल आएपछि तरल राजनीति भयो । संविधान बनाउन १४ वर्ष लाग्यो । ७ वर्षदेखि आर्थिक पाटोले प्रश्रय पाउँछ भनेर हामी कुरिरहेका छौं । तर, त्यो पनि पुरा हुन सकेको छैन ।

सरकारसँग बहस पैरवी गर्नुपर्ने, कानुन संशोधन गर्नुपर्ने सबै काम गरेका छौं । भिजन डकुमेन्ट कागजमा मात्रै बनाएको होइन । भिजन डकुमेन्टको महत्व कसैले बुझ्न सकेको छैन । प्रत्येक १० वर्षमा कुनै पनि मुलुकको अर्थतन्त्र माथि गएर तल झर्छ भनेर अर्थशास्त्रीहरु भन्नु हुन्छ । एउटै नीतिले सधैंभरि काम गर्न सक्दैन । समय समयमा नीतिगत परिवर्तन भइरहनुपर्छ ।

रिफर्मका लागि भिजन डकुमेन्ट बनाएको हो । हिजोका दिनमा कुनै ऐन संशोधन गर्दा तपाईंहरुको सुझाव दिनुहोस् भनेर चिठी आउँथ्यो । तर, अहिले त्यो वातावरण छैन । उल्टै यो – यो ऐन संशोधन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं । यदि ती व्यवस्था परिवर्तन गरियो भने १ सय खर्बको अर्थतन्त्र बन्छ । २२ लाखलाई रोजगारी दिन सकिन्छ । ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिन्छ । उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर भिजन पेपरमा बनाएको हो ।

तर, सरकारले स्वामित्व लिएन नी । त्यो डकुमेन्टलाई कार्यान्वयनमा लैजाने शिलशिलामा महासंघको भूमिका कमजोर रह्यो नी ?

सरकार चाँडो चाँडो परिवर्तन भइरहेको छ । प्रशासनिक संयन्त्र अन्यौलमा छ । हामीले सरकारसँग एमओयू गर्याै । गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालय नेतृत्वविहीन बन्यो । यसवर्ष २ महिनाजति अर्थमन्त्रालय नेतृत्वविहीन बन्यो । यस्तो परिस्थितिमा कसरी काम हुन्छ ? सरकारले खर्च गर्न सक्दैन । यो ऐनमा यो व्यवस्था गरियो भने खर्च बढ्न सक्छ भनेर सुझाव दिएका छौं । हामी निर्णयकर्ता होइनौं । हामीले दबाव मात्रै दिने हो ।

यदि तपाईं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने जिल्लागत, वस्तुगत र एसोसिएटका व्यवसायीहरुका लागि गर्ने मुख्य कामहरु के–के हुन् ?

नेपाल उद्योग वाणिज्य महासंघको प्रभावकारिता बढाउनु पर्नेछ । महासंघको भूमिका र प्रभाकारीतामा ब्यापकता कायम गर्नु पर्नेछ । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सुन्ने दृष्टिकोणमा एकरुपता कायम गर्नु पर्नेछ । साथै निजी क्षेत्रको मर्यादा र सम्मानका लागि काम गर्छु । हाम्रो सदस्य संस्थाहरुको क्षमता वृद्धि गर्नु पर्नेछ । जिल्ला, वस्तुगत, एसोसिएट, प्रदेश उद्योग वाणिज्य संघको क्षमता वृद्धि गर्नु पर्नेछ । उनीहरुको लागि स्रोतको व्यवस्थापन गर्नु पर्नेछ ।

विधान संशोधनको विषय सबै क्षेत्रबाट उठेको छ । समय सापेक्ष विधान परिवर्तन गर्नु पर्नेछ । प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरी विधान संशोधन गर्नु पर्नेछ । म निर्वाचित भएपछि प्रत्यक्ष रुपमा सम्पूर्ण सदस्यहरुले अध्यक्ष पदमा भोट हाल्न पाउनुहुन्छ । समय सापेक्ष सबै संघ संस्थाहरुलाई संगठनात्मक रुपमा मजबुत बनाउने छु । वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघको संठनलाई बलियो बनाउनु पर्नेछ । ७५३ स्थानीय तहमा गठन भएका उद्योग वाणिज्य संघका इकाइहरुलाई व्यवस्थापन बनाउने छु ।

प्रतिक्रिया दिनुहोस्
MBL