Logo

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर : १ः१ को स्वाप रेसियो, नाम लक्ष्मी सनराइज हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर : १ः१ को स्वाप रेसियो, नाम लक्ष्मी सनराइज हुने



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । सोमबार अपराह्न भएको सम्झौता अनुसार २ बैंक १ः१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेका हुन् ।

सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । प्रारम्भिक सम्झौताअनुसार यी २ वाणिज्य बैंक बराबरी हैसियतमा आपसमा गाभिने छन् ।

मर्जरपछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराइज हुनेछ । सम्झौतापछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ ।

आगामी असारभित्र एकीकृत कारोबार थाल्नेगरी मर्जर सम्झौता सम्पन्न भएको हो । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष लक्ष्मी बैंकले लिने मौखिक सहमति भएको छ ।

मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।

दुबै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिने सहमति भएको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL