Logo

काठमाडौंभित्रका सहकारीलाई महानगरको कडाई, जारी गर्याे १२ बुँदे निर्देशन

काठमाडौंभित्रका सहकारीलाई महानगरको कडाई, जारी गर्याे १२ बुँदे निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र संचालित सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याका कारण धेरैजसो बचतकर्ताको बचत समस्यामा परेको छ । सहकारी संस्थाहरु थप ऋण दिन नसक्ने अवस्थामा पुगे र सहकारीका संचालकहरु नै फरार हुन थाले । यसो हुँदा धेरैजसो काठमाडौंबासीले यसका विरुद्ध काठमाडौं महानगरपालिकामै उजुरी हाले । ठूला निक्षेपकर्ताहरू निक्षेप झिक्न थालेको र सहकारीका सञ्चालकहरू सम्पर्कविहीन भएको उजुरी महानगरपालिकामा बढ्दै गएको महानगरपालिकाको सहकारी विभागले जानकारी दिएको छ ।

यसरी सहकारी संस्थाहरुले बचतकर्ताको बचतलाई नै धरापमा पर्नेगरी भाग्न थालेको उजुरी दिनहुँ आएपछि महानगरले १२ बुँदे निर्देशन जारी गरेको छ ।

महानगरले महानगरभित्र संचालित सहकारीहरुलाई तोकिएको कार्यक्षेत्र बाहिर कारोबार र लगानी नगर्ने, बढीभन्दा बढी तरलता कायम राख्ने धेरै ब्याजदरको लोभ नदेखाउनेलगायतका निर्देशन दिएको छ ।
यस्ता छन महानगरका १२ निर्देशन ः

  • १. सहकारी संस्थाहरूले यथाशीघ्र सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउने ।
  • २. तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने ।
  • ३. वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने ।
  • ४. परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्ने ।
  • ५. सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने ।
  • ६. सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र संस्थाको जिम्मेवारी दिने ।
  • ७. कानूनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने ।
  • ८. कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने ।
  • ९. ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने ।
  • १०. जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने ।
  • ११. राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने ।
  • १२. आफ्ना सेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने

प्रतिक्रिया दिनुहोस्
MBL