Logo

व्यावसायिक भिसा लिएर अनधिकृत काम, भिसा सिफारिसमा कडाइ गर्दै सरकार

व्यावसायिक भिसा लिएर अनधिकृत काम, भिसा सिफारिसमा कडाइ गर्दै सरकार



काठमाडौं । नेपालमा विनाकारण बसाई लम्ब्याउने विदेशीहरुको संख्या बढ्दो छ । बसाई लम्ब्याउनकै लागि उद्योग विभागबाट विदेशी लगानी स्वीकृत गराउने तर लगानी नभित्र्याउने प्रचलन पछिल्लो समय बढिरहेको उद्योग विभागले जानकारी दिएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै केहि विदेशी नागरिकहरुले विदेशी भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गर्ने र सो पश्चात कम्पनी, उद्योग तथा कर कार्यलयमा दर्ता कार्य नगर्ने र लगानीसमेत नभित्र्याउने प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ ।

यसरी नेपाली भिसा मात्रै लिने र भिसाको उद्धेश्यविपरित क्रियाकलापमा विदेशी नागरिक लाग्न सक्ने अनुमान उद्योग विभागको छ । सोही अनुसार अब अनावश्यक विदेशी लगानीकर्ताका लागि व्यावसायिक भिसा सिफारिस रोक्ने निर्णयसमेत विभागले गरेको छ ।

अब विदेशी लगानीकर्तालाई भिसा सिफारिस गर्दा ३ महिनापछि कम्पनी दर्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखिने भएको छ । विभागको बिहीबार बसेको बैठकले शुक्रबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो ।

यस्तै कम्पनी दर्ताको प्रमाणपत्र पेश भएको खण्डमा थप ३ महिनाका लागि भिसा रिन्युको रिफारिस गरिने विभागले जानकारी दिएको छ । त्यसबेला भने आगामी ३ महिनापछि कर कार्यालयमा दर्ता भएको, बैंक खाता खोलेको र उद्योगसमेत दर्ता गरेको प्रमाण पेश गर्नुपर्ने शर्त राखिनेछ ।

त्यसपश्चात पुनः ६ महिना वा ३ महिनाका लागि वैदेशिक लगानी भित्र्याउने समयसिमाको शर्त राखेर भिसा सिफारिस हुने विभागले जानकारी दिएको छ ।

विभागका अनुसार यसअघि नै वैदेशिक लगानी भित्र्याएर उद्योग संचालन गरिरहेको लगानीकर्तालाई नयाँ भिसा स्वीकृतिमा वाधा पुर्याईनेछैन । उद्योग विभागमा वैदेशिक लगानीको ओईरो आएपनि वास्तविक रुपमा लगानी भने आधाभन्दा कम भित्रिने गरेको यसअघिका तथ्यांकले देखाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL