Logo

मेगा बैंक १३औँ वर्षमा प्रवेश : १ खर्ब ५६ अर्ब निक्षेप संकलन, १ खर्ब ५० अर्ब कर्जा लगानी

मेगा बैंक १३औँ वर्षमा प्रवेश : १ खर्ब ५६ अर्ब निक्षेप संकलन, १ खर्ब ५० अर्ब कर्जा लगानी



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम् भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

‘आज भन्दा ठिक तेह्र वर्ष अगाडि १२ सय १९ जना संस्थापक सेयर धनीहरूको लगानीमा १४ जना संस्थापकहरू र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । जनताको घरदैलोमा बैंकको सेवा पुर्‍याई आम मानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर परिचालित भएका हामीले तत्कालीन अवस्थामा सबैभन्दा बढी चुक्तापुँजी २ सय ३३ करोड भएको बैंक स्थापना गरेका थियौँ । लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो,’ अध्यक्ष शाहले भने ।

मेगा बैंककी कायममुकायम सिईओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताइन् । ‘संस्थापकहरूको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वासिलो र अग्रणी बैंकको रूपमा स्थापित भएको छ । बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको छ ।

स्थापनाको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरिरहँदा संस्थापकज्यूहरू सँगसँगै यस बैंकका लागि कर्मचारी वर्ग, ग्राहक वर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरूमा यो बैंकको अवस्था उत्साहमूलक देखिएको छ,’उनले भनिन् ।

मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८ औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औँ स्थानमा छ ।

विस २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

मेगा बैंक नेपाल लिमिटेडले १२औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL