Logo

उद्योगीमाथि आतङ्ककारीजस्तो व्यवहार, स्वार्थ नमिल्दा छापा मारियो

उद्योगीमाथि आतङ्ककारीजस्तो व्यवहार, स्वार्थ नमिल्दा छापा मारियो


रामराजा श्रेष्ठ
54
Shares

स्वच्छ व्यवसाय गर्नु पाप हो, विना कारण समातेर थुनिहाल्ने ? सरकारको यस्ता व्यवहारले व्यवसायीको मानमर्दन हुनुका साथै व्यवसायीक प्रतिष्ठामा समेत आच आएको छ ।

हाम्रो व्यावसायीक शैली परिवर्तन गर्नु जरुरी छ । यसअघि हामी आयातमुखी व्यवसाय गरिरहेका थियौं तर अब भने उत्पादनमुलक उद्योग तर्फ केन्द्रित हुनुको विकल्प छैन । यस्तै, श्रम सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुपर्छ । श्रमिक भनेको कुनै पनि संस्थाको ठूलो सम्पति हो तर राजनीतिक दलले श्रमिकलाई प्रयोग गरेर धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् । भुकम्प तथा नाकाबन्दी पछिको उद्योग कलकारखानाको अवस्था, लगानी बृद्धि तथा नेपालको औद्योगिक विकासमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघका अध्यक्ष तथा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

नेपाल उद्योग परिसङ्घ(सीएनआई)को अध्यक्षमा निर्वाचित हुनुभएकोमा बिजखबरका तर्फबाट यहाँलाई बधाई तथा शुभकामना । अब यो जिम्मेवारीमा तपाईको भुमिका कस्तो रहन्छ ?

परिसंघ (सीएनआई)को लक्ष्य भनेकै देशमा औद्योगिक क्षेत्रको विकास गरी अर्थतन्त्रलाई समृद्ध बनाउने हो । स्वदेशमै रोजगारी सृजना गरी अर्थतन्त्रलाई स्वाधिन बनाउने महत्वपूर्ण लक्ष्य परिसङ्घले लिएको छ । तर, हामीले बुझेका छौं, परिसङ्घ एक्लैले चाहदैंमा यो सबै सम्भव छैन । सरकारसहित सरोकारावाला सबैको साझा प्रयास यसमा आवश्यक पर्छ । सम्वृद्ध अर्थतन्त्रका यीनै लक्ष्यलाई बल पुर्याउने दिशामा मेरो भुमिका रहनेछ ।

त्यसो त समग्र अर्थतन्त्रका सुचक त्यति सकारात्मक देखिदैंनन् । व्यक्तिगत रुपमा तपाई आफैले अबका दिनमा कस्ता चुनौती देख्नुभएको छ ?

संविधान बन्यो तर अहिले नै यसको कार्यान्वयनमा समस्या देखिएको छ । खासमा यसलाई व्यवस्थित तरिकाबाट लागु गर्न सकिएन । मेरो विचारमा अझै ३ बर्ष व्यवसायीका लागि त्यति राम्रो समय छैन । राजनीतिक अस्थिरताकै कारण यो बीचमा विभिन्न किसिमका दवाव निजी क्षेत्रले सामना गर्नुपर्नेछ । निजी क्षेत्रलाई प्रोत्साहन नगरी नेपालको विकास सम्भव छैन । यस विषयमा सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्छ ।

अव हाम्रो व्यावसायीक शैलीपरिवर्तन गर्नु जरुरी छ । यसअघि हामी आयातमुखी व्यवसाय गरिरहेका थियौं तर अब भने उत्पादनमुलक उद्योग तर्फ केन्द्रित हुनुको विकल्प छैन । देशमा दक्ष जनशक्ति र प्रविधिको अभाव छ । उत्पादन लागत पनि त्यतिकै बढी छ । हाम्रो श्रम बजार विश्व बजारमा जोडिएको छ । दक्ष जनशक्ति उत्पादन गरेर मात्र हुँदैन त्यसलाई टिकाउनु अर्को ठूलो चुनौती छ । यसका लागि सरकारले प्रोत्साहन गर्नु पर्छ ।

भुकम्पबाट बढी क्षति भएका घरेलु तथा साना उद्योग उकास्नका लागि ‘विजनेश रिकभरी सेन्टर’ स्थापना गर्न परिसंघले सरकारलाई सुझाव दिएको छ । यसलाई तत्काल लागू गरी साना–साना उद्योगको ‘रिभाइभ’गर्नु पर्छ । यसले ग्रामीण अर्थतन्त्र चलायमान बनाउँछ । सरकारले १ खर्बको पुर्नउद्धार कोष ल्याएको छ । यसलाई व्यवसायीको संलग्नतामा संचालन गर्नु आवश्यक छ ।

haribhakta

परिसङ्घ अध्यक्ष भएकै दिन तपाइकैं देउराली जनता फर्मास्यूटिकल्स र लोमश फर्मास्यूटिकल्स माथि बढी पैसा लिएर औषधि बिक्रि गरेको आरोपमा छापा मारियो । तपाइहरुले किन त्यस्तो काम गरेको ?

औषधि उद्योग माथिको छापा नियोजित हो । देउराली जनतालाई बदमान गराउन निराधार रुपमा छापा मारिएको हो । यो कसैको व्यक्तिगत स्वार्थमा निहित भएर गरिएको हुनुपर्छ । उद्योगीलाई राजपत्रमा प्रकाशित गरिएको मुल्य अनुरुप औषधिको मुल्य समायोजन गरिएन भनेर पक्राउ गरिएको छ । यो विषय अझै पनि सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । अर्को तर्फ नेपालमा देउराली जनता र लोमशले मात्र औषधिको मुल्य समायोजन नगरेको होइन नि ? नेपालको बजारमा ४० प्रतिशत स्वदेशी र ६० प्रतिशत विदेशी कम्पनीका औषधि विक्री भइरहेको छ । ती कुनै पनि कम्पनीको औषधि सरकारले निर्धारण गरेको मुल्य अनुसार छैन । अझ विदेशी औषधिको मुल्य देउराली जनताको भन्दा दोब्बरले बढी छ । सरकारले स्वदेशी कम्पनीलाई धराशायी बनाएर विदेशी कम्पनीलाई प्रोत्साहन गर्दै छ ।

सरकारले कर लिने बेलामा पटक–पटक जानकारी गराउँछ तर मुल्य समायोजनको विषयमा एक पटक पनि जानकारी गराएन । यदि सरकारले फोन अथवा म्यासेज मात्र गरेको भए १ घण्टा भित्र उपस्थित हुन सक्थ्यौ तर आतङककारीको जस्तो व्यवहार गरियो । भारतले नाकाबन्दी गर्दा उद्योगीलाई गुहारेर जसरी भएपनि औषधि उत्पादन गर्न आग्रह गर्ने अनि नाकाबन्दी खुलेको २ हप्ता नबित्दै पक्राउ गर्ने ? यसको क्षतिपूर्ति कसले दिने । असल व्यवसायीको मानमर्दन र व्यवसायीक प्रतिष्ठामै आच आउने गरी कारवाही गर्नु कसरी जायज हुन्छ ?

यो विषयमा सरकारसँग सोध्न चाहन्छु । जुन संस्थाले देशको औद्योगिक विकासको लागि काम गर्न चाहेको छ त्यसैलाई कारवाही गर्ने ? नेपाली औषधि उद्योगको लागि देउराली जनता उदाहरणीय संस्था हो । यस्तो संस्थालाई किन कारवाही गरियो यस विषयमा सरकारले उद्योग र जनतालाई जानकारी दिनुपर्छ ।

परिसङ्घले पटक–पटक विदेशमा लगानी गर्न खुला गरिनुपर्छ भन्ने माग राख्दै आएको छ । तर, केहि व्यक्तिको स्वार्थमा केन्द्रित रहेर यस्तो माग उठेको भन्ने आरोप छ नि ?

यो निराधार हो । संसारका जुनसुकै मुलुकका उद्योगीले नेपालमा लगानी गर्न पाउँछन् भने क्षमता भएका नेपालीले विदेशमा लगानी गर्न नपाउने किन ? सरकारले वैधानिक रुपमा खुला नगरेपनि नेपालबाट लगानी बाहिरिएको छैन र ? वैधानिक बाटो नखुलेकै कारण एनआरएनको नामबाट लगानी गर्नुपर्ने वाध्यता छ । जसबाट सरकारले कर समेत पाएको छैन । अहिले कुनै पनि व्यवसायले विश्व स्तरमा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आएको छ । सक्षम व्यवसायीलाई विदेशमा लगानी गर्न दिनुपर्छ जसबाट राज्यलाई समेत फाइदा पुग्छ ।

विनोद चौधरीले परिसङ्घ अध्यक्षको कार्यकाल पुरा गरेयता संस्था खासै सक्रिय हुन सकेन भनिन्छ नि ?

स्थापित संस्थालाई नेतृत्व परिवर्तनले असर गर्दैन । विनोद चौधरीले संस्थालाई स्थापित गर्नुभयो । त्यतिवेला धेरै दुखका साथ संस्थालाई स्थापति गरियो । अहिले त्यति धेरै दुख गर्नुपर्ने अवस्था छैन । अहिले आएको नेतृत्वमा युवा र व्यावसायीक क्षेत्रमा दख्खल राख्ने व्यक्तिहरु हुनुहुन्छ । जसले सीएनआईको कामलाई अझ सक्रिय रुपमा अघि बढाउने छ ।

सरकार बजेट निर्माणको क्रममा छ । निजी क्षेत्रको तर्फबाट के–कस्ता माग तथा सुझाव दिँदै हुनुहुन्छ ?

सहज रुपमा उद्योग खोल्ने वातावरण बनाउनु पर्छ भनेउद्योग संचालनका लागि विद्युत उत्पादनमा जोड दिनु पर्छ । यस्तै हाम्रो आन्तरिक तथा वाह्य ट्रान्सपोर्टको सुविधा पनि दयनीय छ जसले व्यवसाय गर्न अप्ठ्यारो परेको छ । राजनीति स्थायित्व हुनु जरुरी छ । नेपाली बस्तुको उत्पादन लागत उच्च रुपमा बढ्दै गएको छ जसले गर्दा आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न कठिन छ । यसलाई राज्यले सम्बोधन गर्नुपर्छ ।

सीएनआईको अध्यक्षको हैसियतले सरकार, उद्योगी तथा उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?

हामी एकदमै दयनीय अवस्थामा छौं । यस्तो विषम परिस्थिीतिमा देशमा उद्योग कलकारखाना संचालनका लागि सवै पक्ष एकजुट हुनु जरुरी छ । यस्तै नेपालमा लगानी गरेर कसैले आम्दानी गर्छ भने त्यसलाई सम्मान गरिनुपर्छ भने श्रम सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुपर्छ । श्रमिक भनेको कुनै पनि संस्थाको ठूलो सम्पति हो तर राजनीतिक दलले श्रमिकलाई प्रयोग गरेर धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् । यस्ता कार्य बन्छ गरिनुपर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL