Logo

अर्थमन्त्री र सेयरबजारबीच नेगेटिभ सम्बन्ध ! सिंहदरबारबाट पुँजी बजार बढाउने उपाय निकाल्दा भद्रकालीमा नेप्से क्रयास

अर्थमन्त्री र सेयरबजारबीच नेगेटिभ सम्बन्ध ! सिंहदरबारबाट पुँजी बजार बढाउने उपाय निकाल्दा भद्रकालीमा नेप्से क्रयास



काठमाडौं । सामान्यतया अर्थ मन्त्री तथा सेयर बजारका निमायक निकायले पुँजी बजारका बारेमा सकारात्मक बोलिँदा बजारले गति लिने गर्दछ । अर्थ मन्त्री वा नियामक निकायकै भनाईलाई देखाएका सामाजिक संजालनमा पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसुचक बढाउन बाजारिकरणले हुने गर्दछ । सोही अनुरुप बजारले पनि केही उकालो यात्रा तय गर्ने गरेको छ ।

laxmi

तर अर्थमन्त्री जनार्दन शर्माले बुधबार पुँजी बजार सुधारका लागि दर्जनौं उपाय निकाल्दै सोही अनुरुप धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिँदा नेप्से परिसुचक भने क्रयास नै भएको छ । बजार खुलेदेखि नै सामान्य रुपमा ओरालो लागेको बजार अर्थमन्त्रीको पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारण जनताको लगानी सुरक्षित गर्ने विषयका साथै पुँजी बजारको वर्तमान अवस्थाका बारेमा पत्रकारसँगको छलफल पश्चात अझै उच्च अंकले घट्न पुग्यो ।

पछिल्लो समय नीति निर्माता तथा नेताहरुको बोलाई र काम गराईमा फरक हुने गरेकाले उनीहरुप्रति लगानीकर्ताको सोचाईनै सकारात्मक हुन छाडेको एक ठूला लगानीकर्ताले बताए । ‘पछिल्लो समय सेयर बजार सम्बन्धी भएका नीतिगत परिवर्तनहरु हेर्दा पुँजी बजारमा नेता तथा नियामकको बोली र व्यबहारमा ठूलो फरक छ,’ ती लगानीकर्ताले भने, ‘जसले गर्दा लगानीकर्ताहरु उनीहरुको बोलीको पछि लाग्न छाडे ।’

सोही अनुरुप अर्थमन्त्री शर्माले बजार सुधारका लागि नियामक निकायलाई निर्देशन दिएकै दिन नेप्से परिसुचकमा ६४ अंकको गिरावट आएको छ भने सबै उपसमुहहरुमा साढे १ प्रतिशतभन्दा माथिको गिरावट आएको छ । बुधबार बजारमा समग्र नेप्से परिसुचक २.४५ प्रतिशतले घट्दा विकास बैंक, फाईनान्स, जीवन बीमालगायतका उपसमुहहरुमा ३ प्रतिशतभन्दा माथिले गिरावट आएको छ । यसैगरी बिजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहका पनि १.६१ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो समय लगातार घट्दो बजारमा कारोबार रकमले पनि गति लिन सकेको देखिएन । कतिपय लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको र कतिपय लगानीकर्तालाई आफ्नो पोर्टफोलियो एभ्रेजिङ गर्नका लागि पैसा नभएका कारण बजार अझै घट्ने सम्भावना देखिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बुधबार दिनभर कुल ३ अर्ब ६२ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा २२८ कम्पनीको ७५ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL