Logo

३ लघुवित्त सहित एकैपटक पाए ५ कम्पनीले आईपीओ निष्काशन अनुमति, कसको कति कित्ता ?

३ लघुवित्त सहित एकैपटक पाए ५ कम्पनीले आईपीओ निष्काशन अनुमति, कसको कति कित्ता ?



काठमाडौं । धितोपत्र बोर्डले ५ ओटा कम्पनीलाई सर्वसाधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्ड संचालक समितिको हिजो (बुधबार) बसेको बैंठकले विभिन्न ५ ओटा कम्पनीलाई एकैपटक आईपीओ निष्काशन अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

‘लामो समयदेखि आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन आएर बसेको थियो,’ उनले भने, ‘आईपीओ निष्काशन नियमित प्रक्रिया हो सोही अनुरुप हिजो बसेको संचालक समितिको बैठकले अनुमति दिने निर्णय गरेको हो ।’

उनका अनुसार जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको हो ।

कसको कति कित्ता ?

१. जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । उनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते बोर्डमा आवेदन दिएको थियो । उक्त संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

२. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले ८ लाख २८ हजार ७ सय ५० कित्ता प्रतिकित्ता आईपीओ निष्काशनको अनुमति दिएको छ । उक्त संस्थाले १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनका लागि असार ६ गतेनै बोर्डमा आवेदन दिएको थियो । साथै उक्त संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

३. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । आईपीओ निष्कासन गर्न असार २४ गते आवेदन दिएको उक्त संस्थाले हिजो मात्रै अनुमति पाएको हो । राष्ट्र उत्थानले पनि प्रतिकित्ता अंमितमुल्य १०० का दरले आईपीओ निष्काशन गर्ने छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

४. बलेफी हाइड्रोपावर लिमिटेड

बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको छ । बलेफीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति पाएको हो । बलेफीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

५. ग्रीन भेन्चर लिमिटेड

ग्रीन भेन्चर लिमिटेडले कुल ६२ लाख ५० लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको छ । उसले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL