Logo

दैनिक १ अर्वको कालोबजारी, सरकारी संयन्त्रकै संलग्नता

दैनिक १ अर्वको कालोबजारी, सरकारी संयन्त्रकै संलग्नता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तराइमा भइरहेको बन्द हड्तालले देशमा कालोबजारी मौलाएको सरोकारलावाहरुले बताएका छन् । पछिल्लो समय औपचारिकरुपमा भन्दा पनि अनौपचारिकरुपमा बढी कारोवार भइरहेको पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । ‘नेपालमा कालोबजारीको आकार दैनिक १ अर्ब रुपैयाँ बराबर पुगेको छ, आमजनतालाई आश्वस्त पार्नका लागि सरकारले तत्काल कालोबजारी नियन्त्रण गर्नुपर्छ्,’ नेपाल आर्थिक पत्रकार समाज र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित विद्यमान परिस्थितिमा अर्थतन्त्रमा परेको असर वारे छलफल कार्यक्रममा उनले भने, ‘जुन देशको अर्थतन्त्रको लागि एकदमै खतरनाक विषय हो ।’

पूर्व अर्थ सचिव खनालले कानूनी रुपमा व्यापार व्यवसाय गर्नेहरु धराशयी हुने र कालोबजारी गर्ने मौलाउने अवस्था आउनु बिडम्बनापूर्ण भएको बताउँदै उद्यमीहरुलाई पलायन हुनबाट रोक्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे । ‘नाकाबन्दीले अर्थतन्त्रमा भूकम्पले भन्दा ठूलो धक्का दिएको छ,’ उनले भने ‘तर, अझै पनि सरकारले त्यसको उपचारबारे प्रष्ट धारणा ल्याउन सकेको छैन ।’ अहिले कारोबजारीबाट देशमा समानान्तर अर्थतन्त्र अघि बढेको समेत उनले जानकारी दिए ।

देशको अर्थतन्त्र नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको प्रतिवेदनभन्दा पनि एकदमै खतरनाक अवस्थामा रहेको उनको दावी छ । कार्यक्रममा वक्ताहरुले देशको अर्थतन्त्र नाकाबन्दीले भन्दा पनि राजनीतिक कारणले धराशयी भएको बताएका छन् । सरकारले स्वेतपत्र जारी गरेर समस्या समाधान गर्नुभन्दा पनि राजनीतिक समस्या समाधान गरेर निचोड निकाल्न उनीहरुले सुझाव दिएका छन् ।

सभासद् तथा व्यवस्थापिका संसद जलस्रोत ससितिका सभापति गगन थापाले कालोबजारीमा सरकारी संयन्त्र नै संलग्न भएको बताएका छन् । ‘पछिल्लो सयम जुन रुपमा कालोबजारी मौलाएको छ, यसमा सरकारी संयन्त्र संलग्न नभइ हुनैसक्दैन,’ उनले भने, ‘कालोबजारी रोख्न तत्काल सरकारी संयन्त्र परिचालन गरिनुपर्छ ।’ यसैगरी पूर्व मुख्य सचिव डा. विमल कोइरालाले सरकार जनताप्रति उत्तरदायी नहुँदा देशमा कालोबजारी मौलाएको बताएका छन् ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले व्यवसायी, राजनीतिज्ञ, सरकारी कर्मचारीहरुले भ्रष्टाचार गर्न छाड्नुपर्ने बताएका छन् । ‘अहिले आम जनताहरुमा व्यवसायी, सरकार र राजनीतिक दलले ठूलो मात्रामा भ्रष्टाचार गर्छन भन्ने भ्रम छ,’ उनले भने, ‘सवैपक्ष मिलेर तत्काल यसको समाधान गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL