Logo

सरकारी नियमभन्दा माथी निजी कलेज, निर्देशनको अवज्ञा गर्दै धमाधम परीक्षा र कक्षा संचालन गर्दै

सरकारी नियमभन्दा माथी निजी कलेज, निर्देशनको अवज्ञा गर्दै धमाधम परीक्षा र कक्षा संचालन गर्दै



काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि स्कुल कलेज बन्द गर्न निर्देशन दिएपनि निजी कलेजहरुको त्यसको अवज्ञा गर्दै पठनपाठन सुरु गरिरहेका छन् । बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजनकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिल अर्थात बैशाख १८ गतेसम्म सम्पूर्ण स्कुल कलेज बन्द गर्न निर्देशन दिएपनि निजी स्कुलले भने त्यसको अवज्ञा गर्दै पठन पाठन सुचारु गर्दै आएका छन् ।

विशेषगरी विदेशी नामबाट संचालित र विदेशी सम्बधन प्राप्त कलेजहरुले सरकारको निर्देशनको अवज्ञा गर्दै पठनपाठन गर्दै आएका हुन् । विदेशी सम्बन्धन प्राप्त ब्रिटिस कलेजले नियमित रुपमा कक्षा संचालन गर्दै आएको छ भने डियर वल्क कलेजले टेष्ट परीक्षा संचालन गर्दै आएको छ । साथै अन्य निजी कलेजहरुले पनि नियमित रुपमा परीक्षा संचालन गर्दै आएको समाचार स्रोतको दावी रहेको छ ।

सरकारले देशमा कोरोनाको प्रकोपको महामारी फैलन नदिनका लागि पूर्व सावधानी अनुरुप स्कुल कलेज, क्लव, सभा सम्मेलन लगायत सम्पूर्ण कार्य बन्द गर्न निर्देशन दिएको थियो । जस अनुरुप आजदेखि हुने एसईई परीक्षा तथा त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयद्वारा संचालित सबै परीक्षा स्थगित भएको छ । तर, निजी स्तरबाट संचालिन स्कुलले भने आन्तरिक रुपमा लिने परीक्षा समेत नरोकी विद्यार्थीको स्वास्थ्यमाथी खेलबाड गर्दै आएको छन् ।

बुधबार उच्चस्तरीय संयन्त्रले निर्देशन जारी गर्दै उक्त निर्देशन पालना भए नभएको अनुगमन गर्ने जिम्मा गृह र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको थियो । सोही अनुरुप कुनै स्कुल तथा कलेजले उक्त निर्देशनको अवज्ञा गरी परीक्षा तथा कक्षा संचालन गरेको भेटिएमा कडा कारबाही गरिने गृह स्रोतले जानकारी दिएको छ ।

‘उच्चस्तरीय संयन्त्रले दिएको निर्देशन पालना भएनभएको विषयमा हामीले स्थलगत अनुगमन गर्नेछौं,’ गृह स्रोतले भन्यो, ‘यदि कुनै कलेजले उक्त निर्देशनको अवज्ञा गरी परीक्षा तथा कक्षा संचालन गरेमा कारबाही गर्नेछौं ।’

आजसम्म पनि परीक्षा संचालन गर्दै आएको डियर वल्क कलेजका प्रमुख प्रशासकिय अधिकृत हितेश कार्की भने हालसम्म परीक्षा रोक्ने वा नरोक्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताउँछन् । ‘हामीले अझै पनि परीक्षा रोक्ने विषयमा कुनै छलफल गरेका छैनौं,’ उनले भने, ‘यस विषयमा भोली छलफल हुने छ उक्त छलफलले नै परीक्षा रोक्ने वा नियमित रुपमा संचालन गर्ने भन्ने विषयमा टुङ्गो लगाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL