काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वा बीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ ।
भेटवार्तामा कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरतासम्बन्धी विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए ।
छलफलका क्रममा अर्थमन्त्री खनालले तोकिएको समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी रहेको बताए । उनले परिवर्तित समयमा युवाहरुको चाहनाअनुसार सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
अर्थमन्त्री खनालले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एडीबीले महत्वपूर्ण योगदान गरेको भन्दै चालु आयोजनाहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा एडीबीका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेतको उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ ।