Logo

अर्थमन्त्री र आइएमएफ मिशन प्रमुखबीच भर्चुअल बैठक सम्पन्न, आर्थिक सुधार र रोजगार सिर्जनाका विषयमा छलफल

अर्थमन्त्री र आइएमएफ मिशन प्रमुखबीच भर्चुअल बैठक सम्पन्न, आर्थिक सुधार र रोजगार सिर्जनाका विषयमा छलफल



काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिशन प्रमुख जहान सरवतबीच सोमबार भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठकमा मिशन प्रमुख सरवतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरतासम्बन्धी विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले हालै जेनजी युवाहरुको नेतृत्वमा भएको आन्दोलनले उठाएको सुशासन र स्वदेशमै रोजगारी सिर्जनाबारे सरकार कटिबद्ध रहेको जानकारी दिए ।

मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषसहितको सुझावमा कार्यान्वयन भैरहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिने बताए । यस क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा भैरहेको विस्तारित ऋण सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी) को कार्यान्वयन अवस्थामाथि समीक्षा गर्दै यसको छैटौं प्रतिवेदन चाँडै बोर्ड बैठकमा पेश गर्ने विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मिशन प्रमुख सरवतले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उक्त अवसरमा अन्तरराष्ट्रिय मुद्रा कोषका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्