Logo

पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पौने तीन अर्ब बढी लगानी थप्दै दुर्गा प्रसाई, नेपालकै ठूलो क्यान्सर अस्पताल बनाउने

पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पौने तीन अर्ब बढी लगानी थप्दै दुर्गा प्रसाई, नेपालकै ठूलो क्यान्सर अस्पताल बनाउने



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगानी थप्ने भएका छन् । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक रहेका प्रसाईले क्यान्सर अस्पतालमा थप लगानीका लागि प्रक्रिया अघि बढाइसकेका छन् । प्रसाईले २ अर्ब ७९ करोड रुपैयाँ लगानी थपेर करिव ४ बर्ष अघि नै निर्माण भई संचालनमा आईसकेको उक्त अस्पताललाई नेपालकै ठूलो क्यान्सर अस्पताल बनाउने योजना अघि सारेका हुन् ।

laxmi

उद्योग विभागमा उक्त अस्पताल संचालक कम्पनी पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिले लगानी थपको प्रस्ताव गरेको हो । जसमा अब कम्पनीले उक्त अस्पतालको स्तरोन्नितका लागि भन्दै २ अर्ब ७९ करोड रुपैयाँ लगानी थप्न लागेको हो । यसमार्फत कम्पनीले अस्पतालमा थप १ सय शैय्या र अत्याधुनिक प्रविधि थप गर्ने भएको हो । कम्पनीको लगानी थपको प्रस्तावमा उद्योग विभागले यहि असोज १० गते स्वीकृति दिइसकेको छ ।

यसअघि कम्पनीले झापा विर्तामोडस्थित अनारमनीमा संचालित बी एण्ड सी अस्पतालको आडैमा क्यान्सर अस्पताल संचालनमा ल्याउने गरी २०७४ सालमै क्यान्सर अस्पतालको शिलान्यास गरेको थियो । त्यसबेला कम्पनीले करिव साढे २ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल निर्माण गर्ने प्रस्ताव उद्योग विभागमा पठाएको थियो । त्यसपश्चात २०७७ को फागुनमा उक्त अस्पतालको उद्घाटन गरिएको थियो । अस्पतालमार्फत हाल १ हजार ५ सय बढीले रोजगारी प्राप्त गरिरहेका छन् ।

हाल उक्त क्यान्सर अस्पताल संचालन भएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छ । क्यान्सरको रेडियोथेरापी, केमोथेरापी, सर्जरीलगायत पूर्ण उपचार उक्त अस्पतालमा हुने गरेको छ । यस्तै अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको बताइएको छ । अब भने कम्पनीले थप १ सय शैय्या थप्दै थप प्रविधि भित्र्याउने बताएको छ । पुरानै अस्पताललाई स्तरोन्नति गरी प्रसाईँले नेपालकै ठुलो क्यान्सर अस्पताल बनाउन लागेको अस्पताल सुत्रले जानकारी दिएको छ । अस्पताल झापाको विर्तामोडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL