Logo

विवादित तामाकोसी तेस्रोको ड्रिलिङ सुरु, आयोजनाको क्षमताबारेको विवाद कायमै

विवादित तामाकोसी तेस्रोको ड्रिलिङ सुरु, आयोजनाको क्षमताबारेको विवाद कायमै



काठमाडौं । दोलखाको गोपीखोलामा बन्ने तामाकोसी तेस्रो जलविद्युत आयोजनाको काम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी भवन भट्टको कम्पनी बीबी होल्डिङ्स मुख्य लगानी रहने भनिएको उक्त आयोजना ६५० मेगावाटबाट २ सय मेवामा घटाएर निर्माण गर्ने समझदारी भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

विरोधकै वावजुत पनि बीबी होल्डिङ्स र यति समूहले आयोजनाको काम सुरु गरे पनि स्थानीय प्रसाशन भने मौन रहेको छ । निक्कै विबादित बनेको सो आयोजना ६५० मेवाबाट २ सय मेवामा घटाएपछि स्थानीयले भने ६५० मेवाकै बनाउनुपर्ने भन्दै विरोध गरिरहेका छन् । हाल सो क्षेत्रमा आयोजनाले ड्रिलिङ गरेर ड्याम साईट बनाउने तथा सुरुङनिर्माणको काम सुरु गरेको स्थानीयबासीले जानकारी दिए ।

तामाकोशी ३ आयोजनाको क्षमता ६५० मेवा नै कायम हुनुपर्ने स्थानीयको माग छ । तर, आयोजना ओगटेको बीबी होल्डिङ्स र यति समूहले भने विबाद चर्किरहेकै बेला आयोजनाका काम सुरु गरेका छन् । सो आयोजना निर्माण सम्बन्धमा अध्ययन गरेको एसएन पावरले ६५० मेगावाट बनाउन सकिने प्रतिवेदन बुझाएको थियो ।

अहिले निर्माण कम्पनीले नेकपा र नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको आडमा चिनियाँ कामदार ल्याएर निर्माण सुरु गरिसकेको स्थानीयको आरोप छ । ६५० मेवाको प्रतिवेदन बुझाए पनि बिभिन्न कारण देखाउँदै सरकारले गतबर्ष २ सय मेवाको बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावपछि आक्रोसित बनेका स्थानीयसँग सरकारले बिभिन्न चरणको वार्तासमेत गरिसकेको छ । तर, उक्त वार्ता निर्णायक नभई आयोजनाले भने काम सुरु गरेको संघर्ष समितिका संयोजक शिवप्रसाद भण्डारीले जानकारी दिए ।

तामाकोशी ३ मा यत्ति होल्डिङस्कोसमेत सेयर रहेको छ । यतिका मालिक आङकाजी शेर्पाको गत बर्ष हेलिकोप्टर दुर्घटनमा तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै निधन भएपछि आयोजनाको काम गोरे शेर्पाले सम्हाल्दै आएका छन् । शेर्पा दोलखाका सांसद् तथा लामा कन्सट्रक्सनका मालिक जिपछिरिङ लामाका आफन्तसमेत हुन् । शेर्पाले नेपाली काँग्रेसका नेतालाई मिलाएर अहिले तामाकोशी आयोजना अघि बढाउन सफल भएको स्थानीएको आरोप छ ।

जिल्लाको विकासमा सरोकार राख्ने राजनीतिक दल, जनप्रतिनिधि र सरोकार समितिले आयोजनाको क्षमता टुंगो लगाएर कामको थालनी गर्न आग्रह गरेका थिए । तर स्थानीयहरुको आग्रह लत्याउँदै टीबीआई र यति होल्डिङस, तामाकोसी गाउँपालिका र वैतेश्वर गाउँपालिकाको बीचमा पर्ने गोपीखोला आसपासबाट कामको सुरु गरिसकेका छन् ।

गोपीखोलामा आयोजनाको ड्याम बसेको खण्डमा २ सय घरधुरी र सामुदायिक जंगल र खेत गरी ३ हजार रोपनी जमिन डुबानमा पर्ने छ । बैत्यश्वर गाउँपालिका प्रमुख तथा जनसरोकार समितिका संयोजक छबि लामाले भने सो क्षेत्रमा चिनियाँ कामदारहरुमार्फत काम भईरहेको बताए । उनका अनुसार सो क्षेत्रमा चिनियाँ कामदारहरुमार्फत सुरुङ खन्नको लागि ड्रिलिङ गर्ने कार्य भईरहेको छ ।

तर, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रवीणराज अर्यालले भने अहिलेनै ६५० वा २०० मेवा निर्माण गर्ने निर्णय नभएको र अहिले अध्ययनकै क्रममा रहेको बताए । हाल सो क्षेत्रमा भईरहेको ड्रिलिङ गर्ने कार्य पनि भौगर्भिक सर्वेक्षण अध्ययनको लागि मात्रै भएको उनको भनाई छ । सो आयोजना निर्माणको लागि जमिनभित्रको चट्टानको अवस्था के–कस्तो छ, भित्रको चट्टान चिरा परेको छ कि छैन, स्वरुप परिवर्तन भएको छ कि छैन भनेर अध्ययन मात्रै भएको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL