काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हालसम्म पनि कायम रहेको छ । पछिल्लो समय पनि बैंकहरुले रोजगारीको लागि आवेदन खुला गर्दा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको छ । कर्मचारीको बोनसका लागि मात्रै वाणिज्य बैंकहरुले ठूलो रकम छुट्याएका हुन्छन् ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीको लागि साढे १० अर्ब रुपैयाँ छुट्याएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत वर्षमात्रै २० वाणिज्य बैंकले आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ९.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेका थिए ।

अधिकांश बैंकहरुले उनीहरुको साधारण सभाले पारित गरेपछि बोनस वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिन्छन् । यस्तै, केहीले चाडबाड लक्षित (दशैं तिहार) गरी बोनस वित्तरण गर्दै आएका छन् । प्रत्येक बैंकले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि) को बाट १० प्रतिशत कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् ।
गत आर्थिक वर्ष सबैभन्दा धेरै कर्मचारीलाई बोनस रकम छुट्याउनेमा नबिल बैंक रहेको छ । कर्मचारीलाई यस बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेको छ । यो अघिल्लो वर्षकोभन्दा ५.६२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस बैंकले कर्मचारीलाई १ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्मचारीलाई १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेको छ । ग्लोबल आइएमई बैंकले कर्मचारी बोनसको लागि ९७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । यता, कर्मचारी बोनसको लागि सबैभन्दा कम रकम छुट्याउनेमा एनआइसी एसिया बैंक रहेको छ । यसले गत वर्ष कर्मचारी बोनसको लागि २ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्षकोभन्दा ८८.७८ प्रतिशतले कम हो । एक वर्षमा १४ बैंकले कर्मचारी बोनसको लागि रकम बढाएका छन् भने ६ बैंकको घटेको छ ।