Logo

चौधरीको सीजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट, व्यवसायी उत्साही

चौधरीको सीजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट, व्यवसायी उत्साही



काठमाडौं । चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभरको भाडा छुट दिने भएको छ । कम्पनीले चार महिनाको भाडा छुट दिने जनाएको हो । फोर्ब्सले प्रकाशित गर्ने विश्‍वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबलअन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।

laxmi

‘माननीयज्यू आफैं पनि सफल व्यवसायी हुनुभएकाले व्यवसायीका समस्याबारे उहाँलाई कसैले सिकाउनुपर्ने आवश्यकता थिएन,’’ मलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘लकडाउनकै समयमा यहाँ आइपुग्‍नुभएका उहाँले मलका व्यवसायीको मर्का बुझेर स्वस्फूर्त रुपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’

उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बीएमसी) का सञ्‍चालक एवं विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराएका छन् ।

चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साही भएका छन् । मलमा व्यवसाय सञ्‍चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । ‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’

मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । ‘‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ । यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुसरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए त्यसको मार घरधनीलाई पनि पर्छ ।’

मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।

मल व्यवस्थापनले सामाजिक दूरीका लागि मार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङलगायत छोइने वस्तुहरुलाई नियमित निःसंक्रमित गर्ने गरेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL