Logo

भारतकाे गुजरात पुगेर अर्थमन्त्री महतले गरे लगानी सम्मेलनको प्रचार, विभिन्न देशका लगानीकर्तालाई दिए निम्तो

भारतकाे गुजरात पुगेर अर्थमन्त्री महतले गरे लगानी सम्मेलनको प्रचार, विभिन्न देशका लगानीकर्तालाई दिए निम्तो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् ।
सम्बोधनका क्रममा मन्त्री डा. महतले कार्यक्रमबाटै भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गरिएको बताएका छन् । ‘तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु,’ उनले भने ।

laxmi

उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए

‘दिगो र समावेशी बृद्धिलाई प्रवर्द्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ’ उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन २००३ मा परिकल्पना गरेका भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उनले उक्त मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको बताए ।

‘सन् २०१४ मा नेपालको संसदमा मोदीजी भन्नुभएको कुराको ताजा सम्झना छ, मन्त्री डा. महतले भने, ‘विशेष गरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ।’

उनले हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्ने उनले बताए । यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्ने उनको भनाई छ । उनले दुई विश्व आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित नेपालले ९० को दशकको शुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तर्राष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीहरूको सदस्य छ । नेपालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL