Logo

दशैंमा उखु किसानका दुःख, अनुदानबापतको २९ करोड अझै भुक्तानी भएन

दशैंमा उखु किसानका दुःख, अनुदानबापतको २९ करोड अझै भुक्तानी भएन



काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले पाउनुपर्ने २९ करोड रुपैयाँभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।

laxmi

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँका दरले २९ करोड २५ लाख ५२ हजार ७ सय ४९ रुपैयाँ उखु बेचेको ७ महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए ।

जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९÷८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए । त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे ।

अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ ।

सरकारले आव २०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासङ्घका अध्यक्ष मैनालीले बताए । उनका अनुसार राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ ।

आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए । गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL